
विगत ४५ वर्षदेखि नेपाली बजारमा वर्चस्व कायम राख्दै आएको वाइवाई चाउचाउले हरेक वर्ष उच्च वृद्धिदर हासिल गर्दै आएको छ । वाइवाईले गत आर्थिक वर्ष ०८१/८२ मा १५ प्रतिशत वृद्धिदर हासिल गर्दै नेपाली चाउचाउ बजारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सफल भएको यसको उत्पादक कम्पनी सिजी फुड्सले जनाएको छ । २० रुपैयाँ मूल्य श्रेणीमा मात्र वाइवाईको हिस्सा झन्डै ७० प्रतिशत पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विश्वभर वार्षिक रूपमा करिब चार अर्ब प्याकेट र नेपालमा मात्रै करिब एक अर्ब प्याकेट चाउचाउ उत्पादन गर्दै आएको वाइवाईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रदीप पुडासैनीले बताए । ‘कम्पनीले बजारको विविधतासँगै नयाँ स्वाद र श्रेणीका उत्पादनहरू प्रस्तुत गर्दै आएको छ । नयाँ पुस्ताको स्वाद र प्राथमिकताअनुसार ब्रान्डले लगातार नवीन संस्करण बजारमा ल्याइरहेको छ,’ उनले भने, ‘हालै आएको ‘वाइवाई क्विक हट एन्ड स्पाइसी’ र ‘वाइवाई क्विक स्पाइसी चिज’ले समेत बजारमा युवाको मन जित्न सफल भएको छ ।’
वाइवाई हाल नेपालसँगै भारत, बंगलादेश, सर्बिया, काजकिस्तान, अफ्रिकालगायत देशमा पनि उत्पादन हुँदै आएको छ र ४० भन्दा बढी देशहरूमा उपलब्ध छ । यसले वाइवाईलाई नेपालको पहिलो र एक मात्र विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गराएको छ । पकाएर, सुप बनाएर, चटपटे बनाएर, साँधेर वा काँचै पनि खाजाका रूपमा खान मिल्ने भएकाले वाइवाई ‘सजिलो र सुपथ’ खाजाका रूपमा परिचित छ । वाइवाईले ग्लोबल मार्केटमा वार्षिक पाँच अर्ब प्याकेट चाउचाउ उत्पादन तथा बिक्री गर्ने लक्ष्य लिएको छ ।