Skip This
एएफसी यू–२० महिला एसियन कप छनोट : नेपालले घरेलु टोली भुटानको सामना गर्दै 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
थिम्पुस्थित चाङलिमियाङ रंगशालामा प्रशिक्षण गर्दै नेपाली खेलाडी । तस्बिर : एन्फा
Invalid date format o८:१८:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएफसी यू–२० महिला एसियन कप छनोट : नेपालले घरेलु टोली भुटानको सामना गर्दै 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१८:oo
  • तीनपटकको विश्वकप तथा दुईपटक एसिया कप विजेता उत्तर कोरिया र साउदी अरेबियासँग नेपालले प्रतिस्पर्धा गर्ने 

नेपालले एएफसी यू–२० एसियन कप छनोटअन्तर्गत बुधबार घरेलु टोली भुटानको सामना गर्दै छ । यी दुई टोलीबिच खेल थिम्पुस्थित चाङलिमियाङ रंगशालामा साँझ ५:४५ बजे हुनेछ । समूह ‘ए’ को शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष हुने एएफसी यू–२० एसिया कप खेल्नेछ । नेपालले छनोट खेलमा उत्तर कोरिया र साउदी अरेबियासँग खेल्नेछ । उत्तर कोरिया र साउदी अरेबिया नेपालको नयाँ प्रतिद्वन्द्वी हो । 

नेपालले उपाधि दाबेदार उत्तर कोरियासँग खेल्न तयार भएको मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बताएका छन् । ‘हामीले छनोट प्रतियोगिताकै लागि भनेर राम्रो तयारी गरेका छौँ । गत महिना बंगलादेशमा भएको साफ यू–२० च्याम्पियनसिपले धेरै सहयोग गरेको छ,’ मंगलबार भुटानमा आयोजित प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक गुरुङले भने, ‘हाम्रो लक्ष्य नै शीर्ष स्थानमा रहेर एसिया कपमा स्थान पक्का गर्ने हो ।’ एएफसीका अनुसार समूहका उत्कृष्ट उपविजेताले समेत एसिया कप खेल्न पाउनेछ । 

नेपालकी कप्तान बिर्सना चौधरीले पनि आफूहरूको तयारी राम्रो रहेको बताइन् । ‘छनोटमा सहभागी भुटान मात्र नभएर अन्य टोली पनि राम्रा छन्,’ चौधरीले भनिन् । प्रशिक्षक र कप्तानले समूहमा उत्तर कोरिया बलियो रहेको दाबी गरेका छन् । उत्तर कोरियाले तीनपटक फिफा यू–२० विश्वकप तथा यू–२० एसिया कप दुईपटक जितेको छ । 

मुख्य प्रशिक्षक गुरुङले छनोट खेलमा नेपाललाई ‘डार्क हर्स’ टोलीका रूपमा लिएका छन् । ‘उत्तर कोरिया पनि ११ जना, हामी पनि ११ जना । हामी डार्क हर्स नै हौँ,’ उनले भने ‘हामी पनि अँध्यारोमा कुद्ने स्वभावकै हौँ । ‘विपक्षीको क्षमताअनुसार योजना बन्ने गर्छ । उत्तर कोरियासँग पनि यस्तै हुनेछ ।’ नेपालले उत्तर कोरियासँगको खेलमा डिफेन्स लाइन बलियो हुनुपर्ने उनले बताए । 

भुटानलाई घरेलु मैदानको फाइदा 
गत महिना बंगलादेशमा प्रतिस्पर्धा गरेको र अहिलेको भुटानी टोली फरक हुने नेपालका प्रशिक्षक गुरुङले जनाए । ‘साफ यू–२० र एएफसी यू–२० एसियन कप छनोट फरक प्रतियोगिता हो । यसैकारण भुटानको टोली पनि विलकुलै फरक भएको पाएको छु । घरेलु मैदानमा उनीहरूलाई कमजोर रूपमा लिन मिल्दैन,’ उनले भने, ‘साफ र एएफसी छनोट खेल्नु फरक छ । भुटानले दिनप्रतिदिन राम्रो गरिरहेको छ । उसलाई घरेलु मैदान र समर्थकको साथ छ । यसैकारण हामीले भुटानलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा लिएका छैनौँ ।’

सहभागी प्रतिद्वन्द्वीहरूलाई एकै नजरले हेरेको प्रशिक्षक गुरुङले जनाए । ‘हामी सबै टोलीलाई एकै नजरमा हेरेका छौँ । सबैको एउटै लक्ष्य अन्तिम चरणमा स्थान बनाउनु हो,’ उनले भने, ‘यहाँ राम्रो नतिजा निकाल्ने विश्वास छ ।’ गुरुङले यसपटक साफ यू–२० च्याम्पियनसिपमा गरेको गल्ती नदोहोरिने बताए । तर, बंगलादेशमा भएको साफ च्याम्पियनसिपका कारण छनोट खेल्न सहज भएको उनको भनाइ छ । ‘साफ यू–२० च्याम्पियनसिपले हाम्रो तयारी राम्रो भयो । एक किसिमले त्यो च्याम्पियनसिप तयारीजस्तै भयो,’ गुरुङले भने, ‘त्यहाँ भएको कमजोरी सुधार गरेर आएका छौँ । यसकारण हामी पनि छनोट हुने सम्भावना छ ।’ नेपालकी कप्तान चौधरीले सबै प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट खेल खेलेर छनोट हुने लक्ष्य राखेको बताइन् । ‘सबैसँग राम्रो खेलेर शीर्ष स्थानमा रहँदै छनोट हुने लक्ष्य हो,’ चौधरीले भनिन् ।

डिफेन्स र मिडफिल्डमा समस्या
गत महिना बंगलादेशमा भएको यू–२० साफ च्याम्पियनसिपमा नेपाल केवल बंगलादेशसँग मात्र पराजित भएको थियो । राउन्ड रोबिन लिगको पहिलो खेलमा नेपाल ३–२ र निर्णायक खेलमा ४–० ले पराजित भएको थियो । यी दुवै खेलमा नेपालको डिफेन्स र मिडफिल्ड फितलो भएको थियो । अन्य खेलमा यी दुवै पक्ष बलियो देखिए पनि आफूभन्दा माथिल्लो प्रतिद्वन्द्वीसँगको खेलमा नेपाल कमजोर नै देखिएको थियो । बंगलादेशसँग दुवै खेलमा डिफेन्स र मिडफिल्डबिच तालमेल नै देखिएन । अन्य सबै पक्ष बलियो भए पनि नेपालको मुख्य समस्या नै डिफेन्स र मिडफिल्ड देखिन्छ ।

खेलाडी सकारात्मक
आयोजक तथा घरेलु टोली भुटानकी प्रशिक्षक टंकमाया घलेले पनि छनोट प्रतियोगिताका लागि आफूहरू तयार रहेको बताइन् । ‘छनोट प्रतियोगितालाई लिएर सबै खेलाडी सकारात्मक छन्,’ उनले भनिन्, ‘हामीले पनि साफ यू–२० च्याम्पियनसिप खेल्यौँ । त्यहाँको अनुभव यहाँ प्रयोग गछौँ । मैलै गल्तीलाई सच्याउँदै राम्रो नतिजा ल्याउने आशा लिएकी छु ।’ बलियो प्रतिद्वन्द्वी उत्तर कोरियाका प्रशिक्षक रि सोङ होले राम्रो तयारीका साथ छनोट खेल्न आएको बताएका छन् । ‘हामीले यस छनोट खेलका लागि धेरै मिहिनेत गरेका छौँ । हाम्रो मुख्य लक्ष्य भुटानबाट छनोट हुने हो,’ सोङले भने, ‘साथसाथै एसियन कप तथा विश्वकपमा पुग्नु हो । उत्तर कोरियाले छनोट खेलमै आफ्नो क्षमता देखाउनेछ ।’ 

नेपाली टोली

  • गोलरक्षक : लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
  • डिफेन्डर : सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू , सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
  • मिडफिल्डर : कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार
  • स्ट्राइकर : कुसुम खतिवडा, सुक्रिया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर