मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २० मंगलबार १३:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १३:४८:oo

बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७.१ मिटर पुगेको छ ।विभागका अनुसार बबई नदीमा ५.५ मिटर चेतावनीको तह र ६.८ मिटर खतराको तह मानिन्छ । तर, हाल सो तह पार गरेसँगै विशेषगरी बर्दिया र दाङमा बाढीको खतरा रहेकाले विभागले उच्च सतर्कताका अपनाउन आग्रह गरेको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले जिल्ला प्रशासन, स्थानीय तह तथा सर्वसाधारणलाई पूर्वसूचना दिएर सचेत रहन सन्देश पठाइएको जानकारी दिए । ‘बबईसँगै महाकाली नदीको जलसतह पनि खतराको तहमा पुग्दै छ,’ उनले भने । 

आज काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीहरूको जलसतह बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ । आज बिहानको मापनअनुसार कर्णाली र महाकाली नदीहरूको जलसतह सतर्कता आसपास छ भने कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ । 

आज संखुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, म्याग्दी, प्युठान, अर्घाखाँची, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, दैलेख, कालीकोट, सुर्खेत, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्लामा बहने स–साना नदीहरूको जलसतह बढ्ने विभागले जनाएको छ ।

साथै इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुँ, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा र आसपासका जिल्लामा बहने स–साना नदीहरूको बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ ।