
कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ। सुदूरमा नियमित वर्षासँगै भारतले धौलीगंगाको बाँध खोलिदिएपछि महाकालीमा पानीको सतह वृद्धि भइरहेको छ । मंगलबार बिहानको तुलनामा अहिले क्रमिक रूपमा वृद्धि भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बिहान ७ बजेतिर एक लाख दुई हजार ७४२ क्युसेक पानी रहेको थियो । चार घण्टापछि बिहान ११ बजेतिर एक लाख सात हजार ९४४ क्युसेक पुगेको छ। प्रवक्ता बोहराका अनुसार महाकाली नदीमा पानीको सतह वृद्धि हुन थालेपछि बनबासा पुलमा समेत ठुला चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । तर, दुईपाङ्ग्रे र पैदल यात्रुलाई आउन–जान दिइरहेको छ । सन् १९२८ मा निर्माण भएको शारदा ब्यारेज सुरक्षाका कारण एक लाखभन्दा बढी क्युसेक पानी पुगेपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको छ।
भारतले महाकाली नदीमा धौलीगंगाको बाँध खोलिदिएपछि पानीकोे सतह वृद्धि हुन लागेकोे जनाएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै २० साउन ०८२ बिहान ६ बजेदेखि २१ साउन बिहान ६ बजेसम्म भारतको एनएचपिसी धौलीगंगा पावर स्टेसनले धार्चुला पिथौरागढले सिल्ड सफाइ गर्ने हुँदा महाकाली नदीको सतह वृद्धि हुने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आह्वान गरेको थियो।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले धौलीगंगाको बाँध खोलिएकाले जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आह्वान गरेका छन् । ०७० सालमा पनि दार्चुलामा भारतीय पक्षले नेपाली पक्षलाई जानकारी नदिई बाँध खोलिदिएपछि दार्चुलादेखि कञ्चनपुरसम्मै महाकाली नदी गाउँ पसेर मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको थियो। भारतीय पक्षले दार्चुलास्थित धौलीगंगा मात्रै होइन, कञ्चनपुरस्थित बनबासा पुलमा समेत हिउँदमा सिंगोे महाकाली आफुतिर थुनेर लग्ने अनि वर्षातमा नेपालतर्फका सबै ढोका खोलिदिने गरेपछि नेपालतर्फ विपत् निम्तिने गरेको स्थानीयको दुःखेसो छ ।