
नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुंगा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुंगा खसेर भएका मानवीय क्षति धेरै छन् ।
पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुंगा खस्ने समस्या भने रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुंगा झारिएको छ । सँगै साना ढुंगा झारिएको भए पनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उनको भनाइ छ ।
यस्तै, जोखिम जलवीरेमा छ । झन्डै एक सय मिटर क्षेत्रमा साना ढुंगा खस्ने जोखिम रहेको हो । नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुंगा खस्ने जोखिम छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए ।
तुइन खोलानजिकैको क्षेत्र पनि जोखिममा छ । ६० मिटर हाराहारी क्षेत्रमा ढुंगा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो । केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो । ती क्षेत्रमा रकनेटिङ, बायोइन्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुंगा खस्ने समस्या रोकथाम गरिएको हो ।
कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औँल्याए । विभागसँग परामर्श गरेर काम अघि बढाइने उनको भनाइ छ । वर्षातको समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।
कार्यालयले ढुंगा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै, सेतीदोभानमा लोडर, जेसिभी एक्स्काभेटर, ट्रकटेलर, टिपर तयारी अवस्थामा राखेको छ । उनका अनुसार नाली बन्द हुन नदिन मिनी एक्स्काभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ ।