मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
मनीष तिवारी
२o८२ श्रावण १८ आइतबार ११:२२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बिहारको ‘एसआइआर’: जनता छान्ने तन्त्र

Read Time : > 2 मिनेट
मनीष तिवारी
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार ११:२२:oo
  • ‘अवैध आप्रवासी’जस्ता चिन्ता प्राय: साम्प्रदायिक राजनीतिक भाष्य हुन्, जसलाई निर्वाचन आयोगले प्रतिकार गर्नुको साटो वैधानिकता दिइरहेको देखिन्छ

भारतीय निर्वाचन आयोगले बिहारमा सञ्चालन गरेको विशेष तीव्र पुनरावलोकन (एसआइआर) कार्यक्रम लोकतान्त्रिक वैधानिकताको आधारभूत सर्त सार्वभौम मताधिकारको योजनाबद्ध विघटन हो । प्रशासनिक शुद्धताको आवरणमा लुकाइएको नागरिक नाम कटौती वास्तवमै संविधानको गम्भीर उल्लंघन हो । यसप्रति केवल आलोचना होइन, बरु गहिरो कानुनी परीक्षण र विश्लेषण आवश्यक छ । संविधानको धारा ३२६ अनुसार भारतको निर्वाचन लोकतन्त्रको आधार हो । यो धाराको भाषा स्पष्ट र सीमित छ । ‘निर्वाचन... वयस्क मताधिकारको आधारमा हुनेछ’ भन्ने भनाइले प्रत्येक भारतीय नागरिक, जसको उमेर १८ वर्ष पुगेको छ र जसलाई संविधान वा प्रासंगिक कानुनअनुसार गैरभारतीय घोषित गरिएको छैन, उसले मतदाता सूचीमा नाम दर्ताको अधिकार पाउँछ । ‘दर्ता गर्न पाउनेछ’ भन्ने शब्दले यो अधिकारलाई अस्वीकार गर्न नसकिने संवैधानिक अधिकार बनाएको छ, जसमा अपात्रता प्रमाणित गर्ने दायित्व राज्यकै हुन्छ ।

वास्तवमा अपात्रताका आधार निश्चित र सीमित छन् र प्रत्येक अपात्रताका लागि न्यायिक वा अर्ध–न्यायिक निर्णय आवश्यक हुन्छ । अन्य कुनै पनि निकायले नयाँ अपात्रताको मापदण्ड सिर्जना गर्न सक्दैन । तर, एसआइआरले यो संवैधानिक संरचना हटाएर मताधिकारलाई प्रशासकीय अनुमतिमा परिणत गरेको छ, अर्थात् दस्ताबेज खारेजीका नाममा नागरिकलाई दोषी सावित गराउन खोजिँदै छ । जनप्रतिनिधित्व ऐन, १९५० र मतदाता दर्ता नियमावली, १९६० ले संविधानको धारा ३२६ लाई कार्यान्वयन गर्छन् । यी कानुनले मतदाता सूची बनाउने प्रक्रिया तोक्छन्, तर अपात्रताको आधार विस्तार भने गर्न सक्दैनन् । ऐनको धारा १६ मा यिनै सीमित अपात्रता दोहोर्‍याइएको छ । तर, आयोगले एसआइआरमार्फत ‘दस्ताबेज अपूर्णता’ भन्ने नयाँ अपात्रता सिर्जना गरेको छ, जुन कार्यपालिकाको मनलाग्दी निर्णय हो ।

धारा १९ अनुसार मतदाता दर्ता गर्न नागरिकता, उमेर र सामान्य बसोवास मात्र आवश्यक छ । धारा २० ले सामान्य बसोवास भन्नाले बस्नेको मनसाय र निरन्तरता बुझिन्छ, जसमा अस्थायी अनुपस्थितिले असर गर्दैन । यसले कुनै दस्ताबेजीय प्रमाण अनिवार्य बनाउँदैन, न त निर्वाचन अधिकृतलाई कागजात माग्ने अधिकार नै दिन्छ । धारा २१ को उपयोगबाट गरिने पुनरावलोकनले केवल अद्यावधिक गर्ने काम गर्छ, सर्वसाधारणको पुन: प्रमाणीकरण होइन । तर, अहिलेको प्रक्रिया भने जनतालाई दोषी मानेर सुरु हुन्छ र उनीहरूले आफ्नै नागरिकता वा मताधिकार प्रमाणित गर्नुपर्ने बनाइएको छ । यसले कानुनी पूर्वाधारलाई मात्र उल्लंघन गरेको छैन, बरु सम्पूर्ण लोकतान्त्रिक दर्शन र ‘प्रमाण भार आरोप लगाउनेमाथि’ भन्ने सिद्धान्तको अपमान गरेको छ ।

मतदाता सूचीबाट नाम हटाउने प्रक्रिया नियम २१ए अन्तर्गत गरिनुपर्छ, जसमा निर्वाचन अधिकृत स्वयं सन्तुष्ट हुनुपर्छ । त्यसका लागि सूचना, छानबिन र सुनुवाइ आवश्यक हुन्छ । तर, एसआइआरले यो प्रक्रिया उल्ट्याएर मतदाताले नै आफ्नो नाम टिकाइराख्न प्रमाण दिनुपर्ने बनाइएको छ । अधिकृतहरूको ‘सन्तुष्टि’ कानुनी प्रमाण र सुनुवाइमार्फत होइन, कागजात नपुगेका आधारमा हुने भएको छ । बिहारमा मतदान अधिकृतले ११ कागजात मागिरहेका छन्, मानौँ सामन्ती शासकले कर उठाइरहेका छन् । यसरी कानुनी सुरक्षा उपायलाई जनतालाई अधिकारबाट वञ्चित गराउने हतियार बनाइएको छ ।

विशेषत: आधारसम्बन्धी निर्णयमा देखिएको दोहोरो मापदण्ड आपत्तिजनक छ । जनप्रतिनिधित्व ऐनको धारा २३(४) अनुसार नयाँ आवेदनकर्ता वा पहिल्यै दर्ता भएकाको प्रमाणीकरण तथा दोहोरो दर्ता पत्ता लगाउन आधार माग्न सकिन्छ । तर, एसआइआरअन्तर्गत आयोगले आधारलाई नागरिकताको प्रमाणका रूपमा अस्वीकार गरिरहेको छ । सरकारले वर्षौंदेखि आधार लिंकेजलाई अनिवार्यजस्तै बनाएको थियो र सन् २०२१मा यसलाई निर्वाचन प्रमाणीकरणको वैध माध्यम मानेर कानुनमै समेटिएको थियो । तर, अहिले आयोगले यसलाई अपूरो प्रमाण भन्दै पन्छाएको छ ।

यो नागरिकप्रति गम्भीर धोखाधडी हो । राज्यको आग्रहमा आधार जोडेका नागरिकका लागि त्यो लिंकेज अब मताधिकार जोगाउन काम नलाग्ने भयो । नागरिकताको अन्य प्रमाण माग गर्नु कानुनको दायराबाहिरको विषय हो । यो प्रशासनिक अतिक्रमण वा राजनीतिक दबाबबाट जन्मिएको अवैध अभ्यास हो, जुन कानुनी रूपमा सुरुदेखि नै अमान्य ठहरिन्छ ।

वर्तमान मतदाता सूची विधिसम्मत प्रक्रिया र अघिल्लो सारांश पुनरावलोकनपछि बनेको हो, जसले दर्ता गरिएकाहरूको कानुनी योग्यता पुष्टि गरिसकेको थियो । तर, एसआइआरले पुन: परीक्षण गर्दा यो निश्चितता तोड्न खोजेको छ, जसले आयोगका अघिल्ला प्रक्रिया अपूरा वा अवैध थिए भन्ने जनाउँछ । यदि पहिले प्रमाणीकरण भएको थियो भने अहिले दोहोर्‍याउनु आवश्यक छैन, नभएको हो भने विगतका निर्वाचनको वैधतामाथि प्रश्न उठ्छ । यसले मतदाता सूचीलाई स्थायी अस्थिरता र अविश्वासको चक्रमा पुर्‍याउनेछ । कागजात खोजीको यो अभ्यासले लोकतन्त्रका सबैभन्दा संवेदनशील तर महŒवपूर्ण आवाज रहेका गरिब, आप्रवासी, अशिक्षित, विस्थापित, महिला र अल्पसंख्यकलाई असमान ढंगले असर पार्छ ।

‘शंकास्पद मतदाता’ र ‘अवैध आप्रवासी’ भन्ने चिन्ता प्राय: साम्प्रदायिक राजनीतिक भाष्य हुन्, जसलाई निर्वाचन आयोगले प्रतिकार गर्नुको साटो वैधानिकता दिइरहेको देखिन्छ । निर्वाचन शुद्धीकरणका नाममा एसआइआर अभियान जनसंख्यात्मक हेरफेरको औजार बन्दै छ । यसले आयोगलाई मनलाग्दी रूपमा मतदाता सूची मेट्ने अधिकार दिन सक्छ, जहाँ जनताले सरकार बनाउने होइन, सरकारले जनता छान्ने प्रणाली स्थापित हुनेछ । मौन बस्नु भनेको सार्वभौम वयस्क मताधिकारको क्रमिक हत्यामा सहमति जनाउनु हो । मताधिकार लोकतन्त्रको आत्मा हो, कागजातको आधारमा खोसिने प्रशासनिक सुविधा होइन । 

(तिवारी भारतीय राष्ट्रिय कंग्रेसका नेता एवं अधिवक्ता हुन्) 
द न्यु इन्डियन एक्सप्रेसबाट