
सरकारले नारायणगढ–बुटवल सडक विस्तारका लागि एक वर्षको म्याद थप गरेको छ । ०८२ साउन ८ गते सकिएको म्याद एक वर्ष थप गरी ०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो ।
सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चूडाराज ढकालका अनुसार ७ साउन ०८३ अर्थात् २३ जुलाई २०२६ सम्म काम सक्ने सर्तमा म्याद थप गरिएको हो । उनका अनुसार ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।
सडक आयोजनाका अनुसार हालको भौतिक प्रगति ७० प्रतिशत रहेको छ । यो अवधिमा योजनाको सम्पूर्ण कार्य सम्पन्न हुने सडक आयोजनाले दाबी गरेको छ ।
सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड ०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने हो । तर, अहिलेसम्म पनि अलपत्र छ । साउन ८ गते तेस्रोपटक थप गरिएको सडक निर्माणको समयसीमा सकिएपछि सरकारले चौथोपटक म्याद थप गरेको हो ।
स्तरोन्नतिअन्तर्गत हुनुपर्ने मुख्य कामअन्तर्गत ११३ किलोमिटर सडकमा ६४ वटा पुल, ४७४ वटा कल्भर्ट, १०६.१७ किलोमिटर नाली निर्माण हुनुपर्नेछ । त्यस्तै, ७० किलोमिटर चार लेन, २९ किलोमिटर चार लेनसहित दायाँबायाँ ६–६ मिटरको सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन स्तरोन्नति हुनुपर्नेछ ।
सरकारले एक वर्षभित्र सबै काम सक्ने गरी म्याद थप गरेको भए पनि चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले भने एक वर्षभित्र सबै काम नसकिने जनाएको छ ।
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन पूर्वी खण्डका इन्जिनियर राकेश झाले एक वर्षमा बढीमा कालोपत्रे र ढलानको काम सकिने बताए । उनले भने, ‘ढलान र कालो पत्रेको काम सकिएला । रेलिङ हाल्ने, रङरोगन गर्ने, फुटपाथ बनाउनेजस्ता कामहरू सकिँदैन । त्यसका लागि अझै कम्तीमा ६ महिना समय चाहिन्छ ।’
अहिले दाउन्नेबाहेकका अधिकांश क्षेत्रमा एकतर्फी वा दुईतर्फी सडक कालोपत्रे भएर यात्रा सहज भए पनि दाउन्ने खण्डमा भने अझै सास्ती छ ।
दाउन्नेको १४ किलोमिटर सडकखण्डमध्ये पश्चिम खण्डमा तीन किलोमिटर सडक कालोपत्र भएको छ भने पूर्व र पश्चिम खण्ड गरेर दुई किलोमिटर सडक एकतर्फी ढलान सकिएको छ । सडक आयोजनाले दसैँसम्म दाउन्नेको सडक खण्ड एकतर्फी कालोपत्रे वा ढलान सकिने दाबी गरे पनि आयोजनाले भने दसैँ आउन धेरै समय नरहेकोले दसैँमा पनि दाउन्ने सडकखण्ड ढलानको काम नसकिने जनाएको छ ।
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन नारायणगढ–बुटवल सडकखण्डका इन्जिनियर राकेश झाले भने, ‘अहिलेसम्म हामीलाई दाउन्नेमा २.२ किलोमिटर मात्र काम गर्न अनुमति पाएका छौँ । काम गर्ने अनुमति नै नपाई कसरी सकिएला र ।’
उनले अनुमति पाएको २.२ किलोमिटर भने दसैँअगाडि एकतर्फी ढलान सकिने बताए ।