
मोरङको बुढीगंगा गाउँपालिका १ टंकीचौक पूर्व गाउँमा छ खोटाङे पञ्चेबाजा संरक्षण समाजका अध्यक्षको सानो टिनको टहरोमा टेलर्स । त्यही टेलर्स नै हो, खोटाङे पञ्चेबाजा संरक्षण समाजको कार्यालय पनि । भन्नका लागि अफिस भनिए पनि अध्यक्ष शम्भुबहादुर दर्जीले आफनै टेलर्समा झुन्डाएर सजाएका छन् समुहले बजाउने पुराना पञ्चेबाजाहरू। जुन नबजाएको पनि महिनौँ भइसकेको छ ।
२०८२ सालमा हो, अध्यक्ष शम्भुबहादुरले नेपाली पञ्चेबाजा बजाउनेहरूको समूह बनाएको। त्यो बेला प्राय सबैतिर विवाह र उत्सवहरूमा अंग्रेजी बैन्डबाजा बजाउने चलन थियो। तर, जब शम्भुबहादुरहरूले नेपाली पञ्चेबाजाको समूह बनाएर सेवा दिन थाले तब सबैले खुब प्रंशंसा गरे ।
केही वर्ष त उनीहरूलाई बाजा बजाउन भ्याइनम्याई नै भयो । तर, आजकल भने शम्भुबहादुर र उनको समूह बिजनेस नपाएर फुर्सिदिलो भएको छ । बिहेको सिजन र केही उत्सवहरूमा बाहेक उनीहरूलाई बोलाउन छाडेका छन् मान्छेहरूले। यसैले परम्परागत रूपमा पञ्चेबाजा बाएर संस्कृतिको संरक्षण गर्दै आएका दक्ष दलित समुदायका लोकवाद्यकर्मीहरू आजकल कोही आफ्नो सिपअनुसारको जेनतेन सिलाइ पेसा गरिरहेका छन् भने धेरै त विदेश पनि गइसकेका छन्।
आजकल विवाह र उत्सवहरूमा मात्र नभएर सबै शुभकार्यमा बैन्डबाजाको ठाउँमा नेपाली पञ्चेबाजा बजाउन थालिएको छ । यस्तो देख्दा हर्षित हुन्छन् शम्भु र उनको समूह। तर, दुःखी पनि हुन्छन पञ्जेबाजा बजाउनेहरू चाहिँ परम्परात रूपमा बजाउने लोकवाद्यकर्मीहरूको नभएर नयाँ गैरदलितहरूको समूह हाबी हुने थालेकोमा। यसैले सदियौँदेखि नेपाली पञ्चेबजा बजाउँदा अछुत भनेर कहलाइएका शम्भु दर्जीहरूलाई पहिले भ्याइनभम्याई भए पनि आजकल भने बेवास्ता भएको महसुस भैरहेको छ ।
अध्यक्ष शम्भु दर्जी भन्छन् , ‘पहिले पैसा नआउँदा हामी अछुत भनिएकाहरूले नै नेपाली पञ्चेबाजा बजाएर संस्कृति धानेका थियौँ। तर, आजकल पैसा आउन थालेपछि सुकिलामुकिलाहरूले हाम्रो परम्परागत पेसा अतिक्रमण गरिसकेका छन्। हामीचाहिँ हेपिएको हेपिएै छौँ। अध्यक्ष शम्भु चित्त दुखाउँदै भन्छन्, ‘पहिले अछुत भनेर पन्छ्याइएका थियौँ, अब पेसा नै खोसिएर बेवास्तामा पारिएका छौँ। ’
अध्यक्ष शम्भुका अनुसार पहिले समूह बनाउँदा तत्काल जिविसले ५ वटा र विराटनगर नगरपालिकाले ९ वटा बाजा सहयोग गरेको थियो। तर, गणतन्त्रपछि घरघरमा सिंहदरबार आएपछि त उनीहरूलाई कसैले सहयोग त परै आवोस सोध्नपुछ पनि छाडेका छन्। खोटाङे पञ्जेबाजा संरक्षण समाज वैधानिक रूपमा दर्ता भैसके पनि उनीहरूलाई पालिका र प्रदेश सरकार कसैले पनि संरक्षणका लागि सुको सहयोग गरेका छैनन्।
संरक्षण अभावकै कारण आफूहरूको परम्परागत बजा बजाउने समूह बेरोजगार बनेको गुनासो समाजका सचिव सादेन्द्र हिङमाङ बताउँछन्। उनका अनुसार संरक्षणका लागि सहयोग माग्दै उनीहरूले पटक-पटक पालिकामा निवेदन पनि दिए, तर खोक्रो आश्वासनबाहेक केही पाएनन्।
अहिले २० वर्षअगाडि पाएका बाजाहरू पुराना भैसकेका छन्। बजाउने सिपमा दक्ष जनशक्त्तिहरू पनि कोही बितेर गए कोही विदेश पलायन भैरहेका छन्। युवाहरूले बाजा बजाउने पेसालाई निरन्तरता दिन चाहे पनि आवश्यक तालिम पाइरहेका छैनन्।
बाजा संरक्षण समाजको चाहना हरेक गाउँ टोलमा नेपाली पञ्जेबाजा बजाउने पुरुष र महिला युवाहरूको समूह स्थापना होस र उनीहरूले व्यावसायिक रूपले बाजा बजाएर अंग्रेजी ब्यान्ड बाजालाई विस्थापित गरुन् भन्ने हो। यस्तो भए नेपाली लोकबाजा र धुनहरूको पनि संरक्षण हुने र संस्कृतिको पनि जर्गेना हुने थियो। तर, सबैले नेपाली संस्कृतिको संरक्षण गर्ने नारा फलाके पनि व्यवहारमा भने सदियौँदेखिका लोकवाद्यकर्मी दाबेदारहरुले अझै अग्राधिकार पाउने सकेका छैनन् बरु झन पूरै बेवास्तामा परेका छन्।
सरकार र दाताहरूले सहयोग गरेमा आफ्नै मौलिक तालिम केन्द्र सञ्चालन गर्नै र बैन्डबाजा जस्तै व्यावसायिक रूपले सेवा दिन अध्यक्ष शम्भु दर्जी र उनको समुह तम्तयार छ। ‘पैसा आउन थालेपछि एकातिर हामी हाम्रो पेसा अतिक्रमणको चपेटामा परेकाे छ भने अर्कोतिर आर्थिक अभावले आफैँ पूर्ण व्यावसायिक पनि बन्न सकिरहेका छैनौँ।
'हामीलाई अहिले एक सेट नयाँ बाजा र समूहलाई नेपाली पोसाक दौरा सुरुवालको टड्कारो खाँचो छ,’ अध्यक्ष शम्भुले आफ्नो आर्थिक अभावको विवशता सुनाए। ‘कतैबाट एक दुईवटा तालिम र यति सानो सहयोग पाए, हामी नयाँ ऊर्जा लिएर पञ्जेबाजाको संरक्षणमा जुटने थियाैँ,' अध्यक्ष शम्भुले भने। उनका अनुसार पहिले अछुतले मात्र बजाउने पञ्जेबाजाहरू नरसिंह, ट्याम्के, झ्याली, सहनाई, दमाहा, ढोलक अहिले गैरदलितहरूले पनि बजाउन थालेकोमा उनीहरूलाई गर्व नै लाग्छ। तर, पेसाको प्रथम दाबेदारहरूलाई बेवस्ता गरेर अरूहरूलाई मात्र सरकारहरूले सहयोग गरेको देख्दा उनीहरूको मन अमिलो हुन्छ।
टंकीचोकका अगुवा युवा कपिल सुनारका अनुसार लोकवाद्यकर्मी अध्यक्ष शम्भु र उनको समाजले सरकारसँग नारा होइन, व्यवहार खोजिरहेको छ। कुनै अनुदानको माग गरिरहेको छैन, मात्र इतिहासमा गरेको योगदानको पहिचान र सम्मान खोजिरहेका छन्। ‘नेपाली बाजा सबैले बजाउनुपर्छ। बजाउन लगाउनुपर्छ, तर हामीलाई बेवास्ता गरेर पेसा अतिक्रमण गराउनु भनेको हामीमाथिको विभेद हो। कि हामीलाई संरक्षणमा अग्राधिकार देऊ कि हाम्रो पेसा अतिक्रमण गरेको क्षतिपूर्ति ,’ अध्यक्ष शम्भु दर्जीले भने।