
बागमती प्रदेशका पूर्वयुवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मुख्यमन्त्री बहादुरसिंह लामामाथि पदको मोहमा सिद्धान्त र नैतिकता बिर्सिएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै वर्तमान सरकार व्यक्तिगत लाभ र गुटगत समीकरणको भरमा चलिरहेको दाबी गरेका हुन् ।
महर्जनले मुख्यमन्त्री लामा अझै पनि एमालेको प्रभावमा रहेको र आफ्नै पार्टीको निर्णयलाई बेवास्ता गरेको टिप्पणी गरेका छन् । ‘मुख्यमन्त्री अझै पनि एमालेका केही मन्त्रीहरूसँग नियमित सल्लाह लिइरहनुभएको छ । उहाँमा निर्णय लिने स्वतन्त्रता देखिँदैन,’ महर्जनले उल्लेख गरेका छन् । उनले आफूसहित चारजना मन्त्रीहरूले ९ साउनमा एकसाथ राजीनामा दिएको उल्लेख गर्दै, त्यसको भोलिपल्ट एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा नदिन उक्साएको आरोप पनि लगाएका छन् ।
‘हामीले स्पष्ट असन्तुष्टि जनाउँदै पद छाड्यौँ । तर भोलिपल्ट एमालेका तर्फबाट कृषिमन्त्री प्रकाश श्रेष्ठ, वनमन्त्री कृष्णप्रसाद सिलवाल, स्वास्थ्यमन्त्री किरण थापामगर र श्रममन्त्री प्रेमभक्त महर्जन मुख्यमन्त्रीनिवास पुगेर राजीनामा नदिन अनुरोध गर्दै मुख्यमन्त्रीलाई आफूहरू साथमा भएको आश्वासन दिए,’ महर्जनले बताएका छन् ।
विशेषतः कृषिमन्त्री प्रकाश श्रेष्ठमाथि उनले कडा आरोप लगाउँदै दोहोरो चरित्र देखाएको बताए । ‘जनतासामु मुख्यमन्त्रीको आलोचना गर्ने श्रेष्ठ नै पछि गएर राजीनामा नदिनू भन्नु पदको मोह होइन र?’ उनले प्रश्न गरेका छन् ।
महर्जनका अनुसार मन्त्री श्रेष्ठले विगतमा आफूलाई पटक–पटक इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री भए हामी पेलिन्छौँ, उनी खतरा छन् भन्ने गरेको पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले श्रेष्ठलाई व्यक्तिगत स्वार्थमा आधारित राजनीति नगर्न पनि चेतावनी दिएका छन् ।
साथै, महर्जनले बागमतीको राजनीतिक विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भइसकेको उल्लेख गर्दै, अब व्यक्तिगत दबाब सिर्जना गर्नु अनुपयुक्त हुने उल्लेख गरेका छन् ।