
उदयपुरमा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित एक वृद्धाले ८१ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्। चौदण्डीगढी नगरपालिका– ४ बस्ने कालमाया राईले शुक्रबार जिल्ला प्रशासन कार्यालय उदयपुरबाट ८१ वर्षको उमेरमा नागरिकता पाएकी हुन्।
सुरुमा नागरिकता नबनाएको र पछि श्रीमानको पनि मृत्यु भएपछि नागरिकता नबनाई बसेकी कालमायालाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए। उनले भने, ‘नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तासमेत नपाएको अवस्था रहेछ। त्यसपछि वडाका जनप्रतिनिधिहरूमार्फत जानकारी पाएपछि प्रक्रिया पुर्याएर आज नागरिकता प्रदान गरेका छौँ।’
कालमायाका पाँच छोरा र दुई छोरी छन्। लुइँटेलले छोराछोरीको नागरिकता बाबुबाट बने पनि आमाको छुटेको पाइएको बताए। लुइँटेलले भने, ‘वंशजको नागरिकता दिएका छौँ। आजै राष्ट्रिय परिचयपत्र बनाई यसै साउन महिनाबाट सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउन मिल्छ।’