मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुकुटे रिसोर्टले जबर्जस्ती जग्गा प्रयोग गरेको भन्दै खाली गरिदिन जग्गाधनीको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीनजिकै रहेको व्यक्तिको जग्गा सुकुटे रिसोर्टले जबर्जस्ती प्रयोग गर्दै आइरहेको भन्दै पीडित परिवारले खाली गरिदिन माग गरेका छन्। रिसोर्टले आफ्नो जग्गा जबर्जस्ती प्रयोग गर्दै आएको र छाड्न अटेरी गरिरहेकोले खाली गरिदिन माग गरेका हुन्।

०५४ सालदेखि सुकुटे बीच रिसोर्टले प्रविन श्रेष्ठ र उनका बुबाको नाममा रहेको जग्गा प्रयोग गर्दै आइरहेको पीडितले बताउँदै आइरहेका छन्। पीडित श्रेष्ठका अनुसार सुरुमा सो रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले मौखिक सहमतिमा २० हजार रुपैयाँ दिएर केही वर्षका लागि सो जग्गा प्रयोग गर्न सुरु गरेका थिए । त्यतिवेला सो जग्गा खेतका रूपमा थियो । तर, रिसोर्टले सो जग्गा बिस्तारै आफ्नो जस्तै ठानेर प्रयोग गरिरहेको र फिर्ता गर्न आलटाल गरिरहेको श्रेष्ठले बताए ।

‘सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका– ९ को अरनिको राजमार्गखण्डको बालुवा भन्ने स्थानमा सिन्धु पर्यटन व्यवसायी संघका उपाध्यक्ष महेन्द्र श्रेष्ठका हजुरबुबा विष्णुलाल श्रेष्ठको एकल रूपमा रहेको खेत उनका चार भाइ छोराहरूमध्ये साहिँला छोरा सत्यलाल श्रेष्ठको भागमा पर्ने कित्ता नं. ५०७ को क्षेत्रफल ३-६-०-३ मात्र यसै क्षेत्रमा सञ्चालित सुकुटे बीच रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापालाई बिक्री गरे,’ श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बाँकी कित्ताहरू ४३० को २-३-०-२ र ५०६ को १-१३-३-२ क्षेत्रफलका जग्गा ०५४ सालमा मौखिक सहमतिमा एकमुस्ट २० हजार लिई केही समयका लागि मात्र उपभोग गर्न दिइएकोमा केही समयपछि विष्णुलाल श्रेष्ठको मृत्यु भएपछि उक्त जग्गा खाली गर्न बारम्बार अनुरोध गर्दा खाली पनि नगरिदिएको र भाडा पनि नदिएको र उल्टै शक्तिकेन्द्रहरूको आडमा प्रहरी प्रशासन लगाई पक्राउ गरी मानसिक र शारीरिक यातनासमेत दिने काम गर्दै आएको अवस्था छ।’

हाल जग्गा खाली गराइदिनेबारे जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, नगरपालिका, प्रहरीलगायतले बेवास्ता गरेको जग्गाधनी तथ पीडित परिवारको गुनासो छ । सुरुमा २० हजार रुपैयाँमा दुई–तीन वर्षका लागि भनेर लिएको जग्गा रिसोर्ट सञ्चालकले फिर्तै गर्न नखोजेको जग्गाधनी श्रेष्ठले बताए । उनका अनुसार बारम्बार ताकेता गर्दासमेत कुनै सुनुवाइ नहुँदा पुनः ०७८ सालमा वडा कार्यालय, जिल्ला प्रशासन, नगरपालिका र यस क्षेत्रमा क्रियाशील पर्यटन गतिविधिमा संलग्न संस्था सिन्धु पर्यटन व्यवसायी संघमा समेत निवेदन दिइएको थियो । पछिल्लोपटक ९ असार ०८२ मा  वडा कार्यालयमा निवेदन दर्ता गरी छलफलका लागि बोलाए पनि जग्गा हड्प्न खोज्ने होटेलका सञ्चालक उपस्थित नभएपछि निकास निस्किन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले व्यक्तिको जग्गा रिसोर्टले प्रयोग गर्दा फिर्ता गर्ने सम्बन्धमा प्रशासनले समेत बेवास्ता गरेको बताए । ‘उक्त जग्गा व्यक्तिको हो भन्ने सबै प्रमाण छ, नक्सा, लालपुर्जा, तिरो तिरेको प्रमाण सबै छ, तर त्यति हुँदा पनि व्यक्तिको जग्गा रिसोर्टले फिर्ता नगर्नु लाजमर्दो विषय हो,’ उनले भने, ‘कागजमै प्रस्ट रूपमा जग्गा व्यक्तिको नाममा छ, तर फिर्ता भएन, हामी जसरी भए पनि जग्गा खाली गराउने र फिर्ता ल्याएरै छाड्छौँ ।’