
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर अखिल क्रान्तिकारीबिच विवाद मात्रै होइन, एक–आपसमा कुटाकुट भएको छ । १४ साउनमा तोकिएको सुदूरपश्चिम विश्विद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगर स्ववियु निर्वाचनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबिच कुटपिट भएको हो। आइतबार महेन्द्रनगर पाटी कार्यालयमा भएको अनौपचारिक छलफलका क्रममा नेताहरूबिच भएको विवाद कुटपिटमा परिणत भएको छ ।
चुनावमा अखिल क्रान्तिकारी कञ्चनपुरका पूर्वअध्यक्ष भुवनसिंह विष्टले संगठनको पक्षमा भूमिका निर्वाह नगरेको विषय उठान भएपछि विष्टले अखिल क्रान्तिकारी प्रदेशका इन्चार्ज रामचन्द्र भट्टमाथि ढुंगा प्रहार गरेर घाइते बनाएका थिए ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दलबहादुर धामी (अविरल)ले स्ववियु निर्वाचनको विषयलाई लिएर भएको अनौचारिक छलफलका क्रममा विष्टले प्रदेश इन्चार्ज भट्टमाथि ढुंगा प्रहार गरेर घाइते बनाएको बताए। धामीले घाइते भट्टको धनगढी मायामेट्रो अस्पतालमा उपचार भइरहेको बताए । घटनालगत्तै विष्ट पनि महाकाली अस्पतालमा उपचार गर्न गएका थिए। लगत्तै प्रहरीले विष्टलाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका विष्टले पनि आफ्नो टाउको चोट लागेको भन्दै उपचारका लागि माग अघि सारेका छन्। टाउकाको सिटी स्क्यान गर्नुपर्ने माग अघि सारेका हुन् ।
सुपविमा स्ववियु निर्वाचन स्थगित भएको विषयमा क्रान्तिकारीले विचारमा बहस गर्नुको साटो भौतिक आक्रमणमा उत्रिने कार्य गैरराजनीतिक भन्दै भट्टमाथि कुटपिट गर्ने विष्टलाई कारबाहीको माग अघि सारिएको छ । घटनालगत्तै नेकपा माओवादी केन्द्र कञ्चनपुरले पार्टी नगर सदस्यसमेत रहेका अखिल क्रान्तिकारी नेता विष्टलाई कारबाही गरेको छ।
माओवादी कञ्चनपुरका संयोजक खेमराज पाण्डेय र जिल्ला इन्चार्ज टेकेन्द्रप्रसाद भट्टले संयुक्त हस्ताक्षरित गरिएको कारबाही पत्रमा पार्टी भीमदत्त नगरका सदस्य भुवन विष्टले पार्टीभित्र र बाहिर अनुशासनहीन कार्य गरेको र पटकपटक मौखिक रूपमा सजग गराएर पनि फेरि ११ साउनमा क्रान्तिकारी प्रदेश इन्चार्ज रामचन्द्रमाथि मरणासन्न हुने गरेर कुटपिट गरेको भन्दै विष्टलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ । अराजक गतिविधि गर्ने विष्टलाई कानुनी कारबाहीको माग अघि सारेकोे छ ।