मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका लुम्बिनी
२o८२ श्रावण १२ सोमबार २o:५७:oo
Read Time : > 1 मिनेट
समाचार

लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा

१५ बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सकियो लुम्बिनीमा जारी अन्तर्राष्ट्रिय गोष्ठी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार २o:५७:oo

लुम्बिनीमा जारी दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय राजदुतावासको सहकार्यमा भएको दीगो विकासका लागि बौद्ध शिक्षा र कुटनीति विषयक गोष्ठीमा नेपाल र भारतका कुटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारी तथा बौद्ध विद्वानहरुको सहभागिता थियो ।

गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति कुटनीति विस्तारमा जोड दिएको छ । लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रुपमा विकास गर्ने घोषणा गोष्ठीमार्फत गरिएको छ । विश्वका सङ्घर्षग्रस्त संवेदनशील क्षेत्रहरूमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्रहरू स्थापना गर्नुपर्ने गोष्ठीको निष्कर्ष छ ।

प्रकृतिप्रति करुणा र अन्तरनिर्भरतासम्बन्धी बुद्धका शिक्षामा आधारित पर्यावरणीय शान्तिको प्रवद्र्धन गर्ने,  कूटनीतिज्ञहरूका लागि माइन्डफुलनेस आधारित तालिम कार्यक्रम सुरु गर्नुपर्ने घोषणा गोष्ठीले गरेको छ । जसको माध्यमबाट द्वन्द्व समाधान र ध्यान अभ्यासमा केन्द्रित हुन सकिने विज्ञहरूको धारणा छ ।

यस्तै, बौद्ध मूल्य र नैतिक सिद्धान्तहरूसँग मेल खाने कूटनीतिक आचरणको मापदण्ड तय गर्ने विश्वव्यापी मान्यता प्राप्त बौद्ध नैतिक सम्बन्ध विकास गर्ने, नेपाल तथा भारतका बौद्ध तीर्थस्थलहरूमा एकीकृत शान्ति पर्यटनलाई प्रवर्द्धन गरी आपसी समझदारी र सांस्कृतिक सौहार्दता बढाउनुपर्ने निष्कर्ष विज्ञहरूले निकालेका छन् ।

बौद्ध दर्शन, शान्ति शिक्षा र दिगो विकासका लागि युवा सहभागितामा अन्तर्राष्ट्रिय बौद्ध शान्ति संस्थाहरु निर्माण, बौद्ध चिन्तनबाट प्रेरित भएर द्वन्द्वको पूर्वानुमान, गलत सूचना पहिचान, तथा ध्यान निर्देशित गर्ने उपकरणहरूसहित नैतिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकासलाई प्रवर्द्धन गर्नुपर्ने जोड गोष्ठीबाट दिइएको छ।

ग्लोबल पिस इन्डेक्सको नमुनामा आधारित ‘लुम्बिनी शान्ति सूचकांक’ स्थापना गरी बौद्ध मूल्यहरूमा आधारित शान्ति सूचकहरूको मूल्यांकन गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

विश्वविद्यालयहरू र सरकारी निकायहरूसँग सहकार्यमा बौद्ध भिक्षु थिंकट्यांकहरू गठन गरी वैश्विक संकटमा दार्शनिक तथा नैतिक मार्गदर्शन प्रदान गर्ने घोषणा गोष्ठीले गरेको छ । ‘लुम्बिनी अन्तर्राष्ट्रिय डिप्लोम्याटिक रिट्रिट’ हरेक वर्ष गर्ने, अन्तर्राष्ट्रिय कानुन र द्वन्द्व समाधानका लागि बौद्ध कानुनी दर्शनको अध्ययन र प्रयोग प्रवर्द्धन गर्ने घोषणा गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई र दक्षिण एसियाली शान्ति अनुसन्धान तथा दिगो विकास केन्द्रको सहकार्यमा लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रको रूपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कूटनीति, शान्ति स्थापना, र दिगो विकासको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक, शैक्षिक संस्थाहरूसँग सहकार्य गरी एक उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने घोषणा गरिएको छ ।

गोष्ठीमा कूटनीतिक एवं पूर्वराजदूत प्राडा लोकराज बराल, भारतका पूर्वराजदूत डा. अमरेन्द्र खटुवा, पूर्वराजदूत रुचि घनश्याम, पूर्वराजदूत टंक कार्कीलगायतले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा ५८ जना विद्वानले एजेन्डामा रहेर छलफल गरेका थिए । दुई दिनसम्म चलेको गोष्ठीमा पूर्वराजदूत, विश्वविद्यालयका उपकुलपतिहरू, बौद्ध विद्वान तथा अनुसन्धानकर्ताहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले आगामी वर्षहरूमा पनि गोष्ठीलाई निरन्तरता दिने जनाए । लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन डा. माणिकरत्न शाक्यले घोषणापत्र सुनाएका थिए ।