
नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी)का ग्राहक संख्या साढे दुई करोड नाघेको छ । दूरसञ्चार प्राधिकरणका अनुसार सिमकार्ड बिक्रीका आधारमा फोरजीका ग्राहक (प्रयोगकर्ता) दुई करोड ५४ लाख ८२ हजार ६ सय ४७ पुगेका हुन् ।
प्राधिकरणको गत जेठ मसान्तसम्मको प्रतिवेदनअनुसार फोरजी सेवा खरिद गर्ने नेपाल टेलिकमका ग्राहक संख्या एक करोड ३८ लाख ९५ हजार दुई सय २२ पुगेका छन् । त्यसैगरी, एनसेलका फोरजी ग्राहक एक करोड १५ लाख ८७ हजार चार सय २५ पुगेका हुन् । एकै व्यक्तिले एकभन्दा बढी सिम लिने भएकाले नेपालको कुल जनसंख्याभन्दा बढी फोरजीका ग्राहक–प्रयोगकर्ता देखिन्छन् ।
नेपालमा १७ पुस ०७३ देखि फोरजी सेवा सुरु भएको हो । त्यसयता सेवाप्रदायक एनसेल र नेपाल टेलिकमले फोरजीको नेटवर्क विस्तार र ग्राहक वृद्धिलाई तीव्रता दिए । पछिल्लो एक वर्षमै फोरजीका ग्राहक ३० लाखले बढेको प्राधिकरणको तथ्यांक छ । सिम–सेवा बिक्रीका आधारमा गत वर्षको जेठसम्ममा फोरजी प्रयोगकर्ता दुई करोड २४ लाख ७२ हजार थिए ।
चौथो पुस्तको मोबाइल सेवा (फोरजी–एलटिई) तीव्र गतिको वायरलेस प्रविधि हो । यस प्रविधिमा आधारित भएर एलटिई, वाइम्याक्सलगायत सेवा सञ्चालन गर्न सकिन्छ । खासगरी फोरजीको प्रयोगबाट प्रत्यक्ष भिडियो कल गर्न, द्रुत गतिमा इन्टरनेट चलाउन, ठुला–ठुला फाइल डाउनलोड तथा अपलोड गर्न सहज बनाउँछ । विश्व बजारमा फोरजी सन् २००९ देखि नै सुरु भएको हो । नेपालमा भने १७ पुस ०७३ देखि सुरु भएको हो ।
प्राधिकरणका अनुसार गत जेठ मसान्तसम्ममा कुल इन्टरनेट प्रयोगकर्ता तीन करोड ४२ लाख १७ हजार पुगिसकेका छन् । यसमध्ये दुई करोड ६३ लाख ५२ हजारले मोबाइल ब्रोडब्यान्ड चलाउने गरेका छन् । कुल इन्टरनेटमा मोबाइल ब्रोडब्यान्डको हिस्सा ८९.१ प्रतिशत, फिक्स्ड ब्रोडब्यान्डको १०.७५ प्रतिशत र फिक्स्ड वायरलेसको ०.१० प्रतिशत प्रयोगकर्ता रहेका छन् ।
प्राधिकरणका अनुसार समीक्षा अवधिसम्ममा भ्वाइसतर्फ (टेलिफोन तथा मोबाइल)का ग्राहक दुई करोड ९६ लाख ६९ हजार पुगिसकेका छन् । यसमध्ये नेपाल टेलिकमका एक करोड ५६ लाख र एनसेलका एक करोड ४० लाख ग्राहक रहेका छन् ।