मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ११ आइतबार १३:३४:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

पलेँटीमा गुञ्जिए न्ह्यु बज्राचार्यका धुन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार १३:३४:oo

यही शुक्रबार र शनिबार नेपालयको ‘आर’शालामा संगीतकार न्ह्यु बज्राचार्यको पलेँटी सम्पन्न भएको छ । झन्डै दुई घण्टासम्म चलेको पलेँटीमा बज्राचार्यले संगीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो ।

गिटार बजाउँदै स्टेजमा बसेका न्ह्युकै गायनबाट कार्यक्रमको थालनी भएको थियो । उनले आफ्नो सांगीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिले गीत सुनाउदा उनले केही वर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गरेका थिए । लासमितको स्वरमा रेकर्ड भएको ‘नआऊ सपनाभरि’ संगीतकारको आवाजमा सुन्दा दर्शकहरूमा भिन्दै रौनकता फैलिएको थियो ।

त्यसपछि उनले गीतकार दिनेश अधिकारीसँगको पहिलो भेटको सम्झना सुनाउदै ‘अघिअघि जिन्दगी’ सुनाएका थिए । तेस्रो प्रस्तुतिमा गीतकार विप्लव प्रतीकको काव्यात्मक गीत ‘एउटी सानी परी’ रहेको थियो । यसपालिको कार्यक्रमलाई कवि विप्लवले नै सञ्चालन गरेका थिए । सोलो गीटार बजाउँदै प्रस्तुत भएका न्ह्युले जब रमण घिमिरेको शब्द ‘आधीबाटो हिँडेपछि’ सम्पन्न गरे त्यसपछि कार्यक्रमले दोस्रो चरण प्रवेश गर्‍यो ।

कार्यक्रमको दोस्रो चरणमा बानिका प्रधानको स्वर गुञ्जेको थियो । उनले अरुणा लामाको स्वरमा रेकर्ड भएको ‘यो मन त तलाउ हो’लाई कुशलतापूर्वक प्रस्तुत गरेकी थिइन् । राजेन्द्र थापाको यस गीतपछि बानिकाले विभिन्न चरणमा ‘तिमीबाहेक’, ‘खाटा बसेछ’, ‘ए ऐना’, र ‘छाएछ वसन्त’ बोलका गीतहरू प्रस्तुत गेरकी थिइन् । न्ह्युका धुनमा दुर्गालाल श्रेष्ठ, वसन्त चौधरी, मञ्जु लामा, भूषण खरेल, गोपाल प्याकुरेल, मदनकृष्ण श्रेष्ठ, क्षेत्रप्रताप अधिकारी र सुरेश स्थापितका शब्दहरू समेटिएका थिए । कार्यक्रममा न्ह्यु आफैँले लेखेका गीतहरू पनि प्रस्तुत भएका थिए । 

बानिका प्रधानको गायनलाई संगीतकार न्ह्यु बज्राचार्यका साथै पलेँटीका दर्शकहरूले मुग्ध कण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रमको अर्को चरणमा न्ह्युले पूर्ण वाद्यवादनका साथ केही गीतहरू सुनाएका थिए । जसमा ‘मेरो प्यारो,’ ‘पागल’, ‘अरबौं मान्छेहरूमा’, ‘जय होस्’ बोलका गीतहरू रहेका थिए । आनी छोइङको स्वरमा लोकप्रिय बनेको ‘फूलको आँखामा’ गीतलाई न्ह्यूले नेपाली र नेवारी भाषामा मिस्रित गरेर गाएका थिए ।

यसपालिको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा शम्भु बानियाँ, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारशमणि सुवेदी, गिटारमा लुमन स्थापित र बेस गिटारमा सुदीप खत्रीको साथ रहेको थियो ।

शुक्रबारको पलेँटी हेरेर बाहिरिँदै गरेका गायक शेषनारायणको प्रतिक्रिया सुनिन्थ्यो- ‘न्ह्यूका गीतहरूलाई पलेँटीमा कसरी प्याकेजिङ गरिन्छ होला भन्ने जिज्ञासा थियो; त्यो मेटियो मात्र होइन; गज्जबको प्रस्तुति भयो । दामी कार्यक्रम ।’

‘आजको साँझ अविष्मरणी साँझ रह्‍यो । न्ह्युको संगीत त सुन्दर छँदै छ; उसको सेन्स अफ  ह्युमरले कार्यक्रमलाई झन् रोचक बनायो ।’ यसपालिको पलेँटी सञ्चालन गरिरहेका कवि तथा गीतकार विप्लव प्रतीकको प्रतिक्रिया थियो ।

आगामी अगस्ट महिनाको पलेँटीमा संगीतकार तथा गायक रामकृष्ण दुवाललाई निम्त्याइएको जानकारी पलेँटी संयोजक आभासले गराएका थिए । रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषा र नेपाली भाषाका गीत, सङ्गीतमा क्रियाशील कलाकार हुन् ।

अगस्ट महिनाको अन्तिम शुक्रबार र शनिबार दुवालका सिर्जनाहरू समेटिएको पलेँटी हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np  मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।