
एक वर्षमा डडेल्धुरामा ३५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आत्महत्या गर्नेहरूमा १८ पुरुष र १७ महिला छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख सुगन्ध श्रेष्ठले आत्महत्याका घटना रोकथाम गर्न प्रहरीले निरन्तर सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँगाउँसम्म अभियान सञ्चालन गरिरहेको बताए ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबार महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका र अभिभावकसँगको अन्तत्र्रिmया कार्यक्रममा उनले आत्महत्याका घटनामध्ये चारजनामा आत्महत्या दुरुत्साहनको मुद्दा चलिरहेको बताए । सो अवसरमा उनले पछिल्लो समय नेपालमा बढ्दै गएको लागुऔषध, आत्महत्या तथा साइबर अपराधसम्बन्धी भिडियो सामग्री प्रस्तुत गरेका थिए । डडेल्धुरा अस्पताल डडेलधुराका निमित्त नर्सिङ प्रमुख टीका राउतले बालबालिकाका अगाडि अभिभावकले गर्ने व्यवहार र त्यसको प्रभावका विषयमा जानकारी दिए ।
महेन्द्र माध्यमिक विद्यालय डडेल्धुराका प्रधानाध्यापक सुरेन्द्र ऐरले असल संस्कारसहितको गुणस्तरीय शिक्षा प्रमुख लक्ष्य रहेको बताए । ‘बालबालिकाहरूका लागि पढ्ने उपयुक्त वातावरण सिर्जना गर्ने अभिभावकको दायित्व हो । बालबालिकाहरूलाई अनुशासित बनाउन अभिभावक पनि अनुशासित मर्यादित र आदर्श व्यक्ति बन्न जरुरी छ ।
सामाजिक परिवेशमा मेरो बच्चा कस्तो अवस्थामा छ, कुनै लागुऔषधको कुलतमा फसेको छैन भन्ने विषयमा पनि चनाखो बन्नुपर्छ,’ उनले भने । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले एसइई परीक्षाको नतिजा चिन्ताको विषय भएको बताए ।