
पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी प्रवेशलाई लिएर एमालेभित्र देखिएको विवादलाई कसरी हेर्नुभएको छ ?
यो कुनै विवाद भइरहनुपर्ने विषय हो जस्तो मलाई चाहिँ लाग्दैन । पार्टी राजनीतिको यति ठुलो महत्वाकांक्षा थियो भने विद्या भण्डारीजीले हिजो पार्टीको सदस्यता त्यागेर राष्ट्रपति बन्न जानै हुन्नथ्यो । फेरि पार्टी सदस्यता परित्याग गरी राष्ट्रपति पद सम्हालेर आफ्नो कार्यकाल पूरा गरिसकेको कुनै पनि सम्मानित व्यक्ति यसरी पार्टी राजनीतिमा फर्किनु ठिक होइन । अहिले एमालेले उहाँको पार्टी सदस्यताबारे जेजस्तो निर्णय गरेको छ, मेरो विचारमा त्यो बिल्कुलै ठिक छ ।
आफ्नो पार्टी सदस्यता खारेजीविरुद्ध राजनीतिक लडाइँ लड्ने भण्डारीको उद्घोषले के संकेत गर्छ ?
भण्डारीजीको पछाडि कसैको ‘ब्याक सपोर्ट’ नभई उहाँ यसरी अगाडि आउनुभएको पक्कै होइन । कसको, कति ‘ब्याकिङ’ छ, त्यसबारे समयक्रममा खुल्दै जाने नै छ । तर, अहिले एमालेले उहाँको पार्टी सदस्यता खारेज गरिसकेको अवस्थामा भने अब उहाँले बाहिरै बसेर पार्टीभित्र समूह, उपसमूह बनाउनुहोला । ‘एन्टीओली’ भावनाका नेता, कार्यकर्ताले उहाँलाई पछ्याउलान् पनि । तर, एमालेभित्र उहाँको त्यस्तो प्रयास प्रभावशाली होला र त्यसको कुनै राजनीतिक अर्थ होला जस्तो चाहिँ लाग्दैन ।
यसले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्न सक्छ ?
यसले राष्ट्रिय राजनीति या एमालेको आन्तरिक राजनीति कुनैमा पनि खासै प्रभाव पार्दैन । एमालेभित्र नेतृत्वसित मनमुटाव भएर पार्टी छाडेर जाने र पछि फेरि जोडिने नेताहरू धेरै देखिएका छन् । माधवजीदेखि झलनाथजी, वामदेवजी, सिपीजी, राजधाकृष्णजीलगायत धेरै नेता बाहिरिनुभयो । तर, बाहिरिनेले पनि राष्ट्रिय राजनीतिमा आफ्नो खासै प्रभावकारी उपस्थिति देखाउन सक्नुभएन र एमालेमा पनि त्यसको सारै ठुलो प्रभाव परेजस्तो देखिएन । अहिले विद्याजी जोडिएको विवादको पनि अवस्था त्यही हो ।