
एकपटक एक बालक आफ्नी बहिनीसित बजारतिर घुम्दै थिए । त्यहाँ शिरमा अम्बाको टोकरी राखेर बिक्रीका लागि हिँडिरहेकी एक किशोरीसित उनीहरूको जम्काभेट भयो । बालककी बहिनी भूलवश ती किशोरीसित ठोक्किइन् । जसका कारण ती किशोरीको टोकरी भुइँमा खस्यो र सबै अम्बा भुइँमा पोखिए । भुइँमा पोखिँदा कतिपय अम्बामा चोट लाग्यो भने कतिपय हिलोमा पनि परे । यो देखेपछि ती किशोरी रुन थालिन् । उनले रुँदै भनिन्– हे भगवान् ! अब म मेरा गरिब बाआमालाई के खुवाउँला ? अब उहाँहरूले कैयौँ दिन थप भोकै बस्नुपर्ने भयो ।
ती किशोरी रोइरहेको देखेर बहिनीले ती बालकलाई भनिन्– दाजु, अब हामी यहाँबाट भागौँ । आखिर म ठोक्किएको कसैले देखेको छैन । फेरि पछि भिड जम्मा भएपछि हाम्रो पोल खुल्न पनि सक्छ । त्यस्तो भयो भने हामीले क्षतिपूर्ति पनि तिर्नुपर्ने हुन सक्छ ।
बालकले भने– होइन बहिनी, हामीले यस्तो गर्नु हुँदैन । कसैले नदेखे पनि भगवान्ले देखिरहेकै छन् नि ! त्यसैले हामीले यहाँबाट भाग्नु हुँदैन । अब यिनलाई घर लगेर आमासित भनेर क्षतिपूर्ति तिर्नैपर्छ । त्यसपछि उनले आफूसित भएको तीन आना ती किशोरीलाई दिए र भने– दिदी, हामीले जानीजानी तपाईंको अम्बा खसाइदिएका होइनौँ । भूलवश यस्तो दुर्घटना हुन पुग्यो । अब तपाईं हामीसित हाम्रो घरसम्म हिँड्नुहोस्, हामी तपाईंलाई क्षतिपूर्ति तिर्छौं ।
तीनैजना घर पुगे । बालकले आमालाई सबै कुरा सुनाए । आमाले दुवैलाई एक–एक थप्पड लगाएर भनिन्– तिमीहरूलाई घुम्न जान किन परेको थियो ? घर चलाउन खर्च छैन, झन् यो क्षतिपूर्ति कसरी तिर्नु ? बालकले भने– आमा, हजुरले हामीलाई स्कुल जाँदा जुन पकेट खर्च दिनुहुन्छ नि, त्यही कटौती गरेर क्षतिपूर्ति दिनुहोस् । यो रकम नपुगेसम्म हामी दुवैजना स्कुलमा खाजा खाँदैनौँ ।
त्यसपछि बालककी आमाले किशोरीलाई क्षतिपूर्ति तिरिन् । ती बालक र उनकी बहिनीले डेढ महिनासम्म स्कुलमा खाजा खान पाएनन् । ती बालक पछि गएर विश्वविजयी सम्राट् नेपोलियनका रूपमा विख्यात भए ।