
पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूलाई राजनीतिक दलमा आबद्ध हुन संविधानले कतैबाट पनि नरोकेको बताएकी छिन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले संविधानले नै आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरेको तर्क गरिन्।
‘नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । यो घामजत्तिकै छर्लंग भएको विषय हो,’ भण्डारीले भनिन्।
दलको सदस्यसमेत हुनबाट रोकेर एमालेले संविधान, कानुन र पार्टीको लोकतान्त्रिक मूल्य–मान्यतालाई नजरअन्दाज गरेर संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी अपरिपक्व निर्णय गरेको भन्दै उनले दुःख व्यक्त गरिन्।
उनले भनिन्, ‘नेपालको संविधान, ऐन, कानुन र पार्टीको लोकतान्त्रिक मूल्य–मान्यतासमेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखी तुल्याएको छ।’