
राजस्व छली गर्ने उद्देश्यले धनकुटाकोे छथरजोरपाटी गाउँपालिका– ४ को वडा कार्यालयको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर दुरुपयोग गरी नक्कली सिफारिसपत्र बनाइएको पाइएको छ ।
घरबाटो प्रमाणित सिफारिसमा वडाको नक्कली लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षरसमेत किर्ते गरिएको हो । स्थानीय मेघराज खतिवडाले वडाको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षरसमेत किर्ते गरी दुरुपयोग गरेको पाइएको वडाध्यक्ष टेकबहादुर तामाङले आरोप लगाएका छन् ।
०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रहेका खतिवडाले राजस्व छली गर्ने उद्देश्यले घरबाटो प्रमाणितमा जग्गामा बाटो नभएको र घर नभएको भनी प्रमाणित गरी नक्कली सिफारिसपत्र बनाएको फेला पारिएको वडाध्यक्ष तामाङले बताए ।
साबिक तेलिया गाविस वडा नम्बर १ का शम्भुराम प्रजापतिको नाममा रहेको कित्ता नम्बर १० को १७ रोपनी ३ आना र कित्ता नम्बर ४ को ३१ रोपनी ७ आना २ पैसा क्षेत्रफल रहेको जग्गा धनकुटाको बिहीबारे हटिया–कर्मीटार–बन्चरे–लामिछाने–तेलिया–तेह्रथुम शुक्रबारे पक्की सडक भएको र कच्ची घर भएको साथै सडकको सेट व्याकबाहेक ६ (छ) मिटर चौडा कायम रहेको प्रमाणित गरी वडा कार्यालयले २४ असार ०८२ मा सिफारिस दिएको थियो ।
जग्गा पास गर्दा घरबाटो देखाएपछि बढी राजस्व तिर्नुपर्ने भएपछि खतिवडाले घरबाटो नभएको भनी नक्कली सिफारिस तयार पारेका हुन् । सिफारिससहित जग्गाधनी प्रजापतिलाई लिएर खतिवडा आफैँ ३१ असारमा मालपोत कार्यालय धनकुटा पुगेका थिए ।
मालपोत कार्यालयमा गरिएको कामको अन्तिम चरणमा पुगेपछि घरबाटो प्रमाणितको सिफारिसमा शंका लागेपछि वडा कार्यालयमा फोन गरी कार्यालयले सिफारिसको प्रतिलिपि झिकाएको थियो । प्रतिलिपिसँग सक्कल सिफारिस नमिलेपछि मात्र घरबाटो प्रमाणितको सिफारिस किर्ते गरी बनाएको खुलेको थियो ।