
नेपालबाट प्रतिनिधित्व गरेको हेल्प नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिगमा तेस्रो स्थानमा रहँदै कांस्य पदक जितेको छ । नेपालको राष्ट्रिय लिग च्याम्पियन हेल्प नेपाल प्रतियोगिताकै साबिक उपविजेता हो । माल्दिभ्समा बुधबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा हेल्प नेपालले श्रीलंका पोर्ट अथोरिटीलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान रक्षा गरेको हो ।
प्रतियोगितामा हेल्प नेपालले पाँचमध्ये चार खेल जितेर ११ अंक जोडेको थियो । अंक रेसियोमा पछि रहँदा हेल्प नेपाल फाइनल प्रवेश गर्न असफल भएको हो । उत्सव खड्काको प्रशिक्षणमा रहेको हेल्प नेपालले प्रतियोगिताका लागि उस्मान फर्याद अली, मुराव जेहान र मोहम्मद कासिफ नभिदलाई अनुबन्ध गरेको थियो । यसैगरी, नेपाल पुलिस क्लबबाट सफल विश्वकर्मा, रविन नगरकोटी, रवीन्द्र चन्द र एपिएफका लिबेरो विनोद चन्दलाई हेल्प नेपालले भित्र्याएको थियो ।
फाइनल पुग्न नसकेको हेल्प नेपालले श्रीलंकाली टोलीविरुद्ध तीनवटै सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो सेटमा पोर्ट अथोरिटीले हेल्प नेपाललाई चुनौती प्रस्तुत गरेको थियो । तर, संगठित रूपमा प्रदर्शन गरिरहेको हेल्प नेपालका खेलाडीले सेट २५–२० ले हात पारे । दोस्रो सेटमा पोर्ट अथोरिटीले एकपछि अर्को सहज अंक गुमाउँदा हेल्प नेपाल २५–१५ ले विजयी भयो । पहिलो दुई सेटमा २–० को अग्रता लिएर हेल्प नेपाल बलियो स्थितिमा पुगेको हो ।
लगातार ५ अंक
पोर्ट अथोरिटीलाई खेलमा टिकिरहन त्यसपछिका लगातार दुई सेट जित्नुपर्ने थियो । हेल्प नेपाल भने लगातार सेटमा जित निकाली कांस्य जित्ने योजनामा थियो । हेल्प नेपालले योजनाअनुरूप पोर्ट अथोरिटीलाई तेस्रो सेट २५–२० ले हराउँदै कांस्य जित्यो । तेस्रो सेटमा पनि हेल्प नेपालका खेलाडीले सम्हालिएर खेलेका थिए । यस सेटमा श्रीलंकाली टोलीले अन्तिम अंकसम्म पनि विपक्षीलाई कडा चुनौती दिएको थियो । तर, लगातार अन्तिम ५ अंक हात पारी हेल्प नेपालले बाजी मार्यो ।
६ टोली सहभागी प्रतिस्पर्धामा हेल्प नेपाल लिग चरणमा बिस्केक किर्गिस्तानसँग पराजित भएको थियो । हेल्प नेपालले यसअघि माल्दिभ्सको धिवेही सिफाइन्स र एचडिसीलाई हराएको थियो । पछिल्लो खेलमा हेल्प नेपालले काजकस्तानको जायकलाई हराएको थियो ।
भाग्यले साथ दिएन
लिग चरणमा ११ अंक जोडे पनि फाइनलमा स्थान बनाउन नसक्दा हेल्प नेपाल निराश देखियो । हेल्प नेपाल स्पोर्टस् क्लबले बुधबार सोसल मिडियामा भाग्यले साथ नपाउँदा उपाधि भिडन्तमा प्रवेश गर्न नसकेको जनाएको छ ।
‘कुशल कर्म गरेर मात्र नहुँदो रहेछ । कहिलेकाहीँ भाग्यले पनि साथ दिनुपर्नेरहेछ,’ क्लबले भनेको छ, ‘अंक बराबर हुँदा पनि बढी सेट जित्दा पनि झिनोभन्दा झिनो अन्तरले फाइनल पुग्न सकेनौँ ।’