
एसियाली विकास बैंक (एडिबी)ले नेपालका विकास चुनौतीलाई सम्बोधन गर्न २०२५–२०२९ का लागि तयार गरेको राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेको छ । रणनीति सार्वजनिक कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एडिबीसँग ६ दशकको साझेदारीमा नयाँ अध्यायको सुरुवात भएको बताए ।
अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वा र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स म्यानेजर प्रीति अरोराले राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेका थिए । एसियाली विकास बैंकले नेपालमा पहिलोपटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो । विश्व बैंक र एडिबी नेपालका सबैभन्दा ठुला विकास साझेदार हुन् ।
एडिबीले आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपत् उत्थानशीलतामा ऋण लगानी केन्द्रित गर्ने जनाएको छ । त्यस्तै, ऊर्जा, शिक्षा, कृषि, यातायात, सहरी सेवा र सार्वजनिक वित्त व्यवस्थापनसम्मका क्षेत्रलाई प्राथमिकता दिने आगामी पाँच वर्षमा नेपाललाई १.९१ अर्ब डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने एडिबीको राणनीति छ ।
एडिबीले आव ०८०/८१ सम्म चार खर्ब रुपैयाँभन्दा बढी नेपालमा ऋण लगानी गरिसकेको छ । बहुपक्षीय ऋणदातामा एडिबीको हिस्सा ३० प्रशितभन्दा बढी छ ।
रणनीति सार्वजनिक कार्यक्रममा अर्थमन्त्री पौडेलले १६औँ राष्ट्रिय योजनाले लिएका लक्ष्य पूरा गर्ने गरी वैदेशिक ऋण परिचालन गर्ने बताए । ‘१६औँ योजनासँग तादात्म्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्ने विश्वास लिएको छु ।’
नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाले राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने बताए । उनले भने, ‘एडिबीको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्नुका साथै समावेशी, उत्थानशील, हरित र रोजगारी–सघन आर्थिक वृद्धिको बृहत् एजेन्डा तय गर्छ ।’
एडिबीको रणनीति सन् २०३० र यसको मध्यकालीन समीक्षासँग नेपालको १६औँ योजनालाई सामञ्जस्यता कायम गर्दै यो रणनीति तयार पारिएको एडिबीले जनाएको छ । एडिबीले नेपालमा ऋण र अनुदान परियोजनाका लागि ८० प्रतिशतसम्म र प्राविधिक सहायताका लागि ८५ प्रतिशतसम्मको लागत साझेदारी हुने जनाएको छ । परियोजनाअनुसारको लागत साझेदारीको दर आर्थिक तथा वित्तीय मूल्यांकनका आधारमा तोकिने एडिबीले जनाएको छ ।