
हिमाली जिल्ला ताप्लेजुङमा लाखे जात्रा (नाच) सुरु भएको छ । नेवार समुदायको प्रतिनिधिमूलक संस्था नेपाल भाषा तथा सांस्कृतिक समाजले सदरमुकाम फुङलिङको भिन्तुनाडाँडा मन्दिरबाट बुधबार साँझ विधिपूर्वक लाखे नाच सुरु गरेको समाजका अध्यक्ष शंखर श्रेष्ठले बताए।
उनले गठेमंगल पर्वबाट सुरु गरिने लाखेजात्रा एक महिनासम्म मनाइने गरेको बताए । नगरपालिका उपप्रमुख भीमादेवी ओझाले गठेमंगल नाम गरेको राक्षसलाई आगो लगाएपछि लाखे निकालिएको अध्यक्ष श्रेष्ठले बताए ।
पराल र गहुँको छ्वाली मिसाएर बनाइएको तीनखुट्टे राक्षसको स्वरूपलाई आगो लगाई जलाएपछि लाखे नाच सुरु गरिने र श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्ण र कंसको लीला प्रस्तुत गरेर सकिन्छ । रातको १२ बजे कृष्णले कंशको वध गरेर एक वर्षका लागि लाखेजात्रा अन्त्य हुने अध्यक्ष श्रेष्ठले बताए ।
लाखे जात्रा प्रारम्भसँगै यसलाई कसरी व्यवस्थित, सुरक्षित र विवादरहित बनाउने भन्ने विषयमा छलफल हुने गरेको छ । सदरमुकाम क्षेत्रमा अब एक महिनासम्म हरेक दिन लाखे नाच प्रस्तुत गरिन्छ । यसले बजारलाई चलायमान गराउने गर्छ । बजारमा लाखे जात्रा सबै क्षेत्र चलायमान भई व्यावपार व्यावसायमा पनि सहयोग पुग्ने व्यापारी व्यावसायीको भनाइ छ ।