
मोरङमा पुरानो नागरिकताको प्रतिलिपि बनाउनेहरूको संख्या बढ्न थालेको छ । पत्रपत्रिका र छापाखानाको दर्ता संख्या भने शून्यमा झरेको छ । पुरानो नागरिकता हराएको, जलेर, बगेर नष्ट भएकोदेखि पुरानो झुत्रो भएकाले फोटो काम नलाग्ने भएको भन्दै प्रतिलिपि नागरिकता लिनेहरूको संख्या बढ्न थालेको हो ।
पासपोर्टदेखि राज्यका सबै सेवा–सुविधा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि पुरानो नागरिकताको प्रतिलिपि बनाउनेहरूको संख्या बढ्न थालेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताउँछन् । उनका अनुसार नयाँभन्दा पुरानो नागरिकताको प्रतिलिपि लिनेहरूको संख्या बढ्न थालेपछि प्रशासनलाई थप झन्झट भार थपिएको छ ।
अनलाइन प्रविधिमा आएको विकासले जिल्लामा पत्रपत्रिका र छापाखाना दर्ता हुन छाडेको प्रजिअ यादवको भनाइ छ । मोरङमा गत आर्थिक वर्ष ०८१/८२ मा २६ हजार ४२६ जनाले पुरानो नागरिकताको नयाँ प्रतिलिपि लिएका छन् । जबकि वंशजको आधारमा नयाँ नागरिकता लिनेहरूको संख्या २७ हजार १२१, वैवाहिक अंगीकृत नागरिकता लिने एक हजार १२३ जना र गैरआवासीय नागरिकता लिने ११२ जना छन् ।
मोरङमा गत वर्ष ९८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् भने आठजनाको नागरिकता रद्द भएको छ ।यसैगरी मोरङमा गत वर्ष ७८ हजार ६२८ जनाले राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । २६ हजार ९२५ थान परिचयपत्र जिल्लामा वितरण भएको छ । पासपोर्ट बनाउनेहरूको संख्या गत वर्ष मोरङमा २८ हजार ३३ छ । जसमा ३१ हजार १४१ वितरण भएको छ। पासपोर्ट सिफारिसबाट मोरङमा ११ करोड १२ लाख ६३ हजार राजस्व संकलन भएको छ ।
मोरङमा गत वर्ष १५३ वटा हातहतियार नवीकरण भएका छन् भने पाँचजनाले नामसारी गराएका छन् । हातहतियार नवीकरण र नामसारीबाट नौ लाख ३० हजार राजस्व संकलन भएको छ ।