
गृह मन्त्रालयले कर्मचारी नपठाउँदा नागरिकहरू सास्ती खेप्न बाध्य भएका छन् । इलाका प्रशासन कार्यालयमा जिम्मेवारीसहितको कर्मचारी नपठाउँदा पश्चिम जाजरकोटका नागरिक सस्ती खेप्न बाध्य भएका हुन । पश्चिम जाजरकोटका नागरिकलाई लक्षित गरी चंखेलीमा स्थापना भएको इलाका प्रशासन कार्यालयको सेवा भने बन्द भएको छ ।
दुई वर्षअगाडि त्यस क्षेत्रका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउन इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । तत्कालीन ऊर्जा तथा जलस्राेतमन्त्री शक्तिबहादुर बस्नेतले तामझामका साथ कार्यालय उद्घाटन गरेका थिए । तामझामका साथ सञ्चालन गरिएको कार्यालय यतिवेला बन्द हुने अवस्थामा पुगेको छ । असार २२ देखियता कार्यालयका सम्पूर्ण काम प्रभावित भएका छन् । इलाका प्रशासनबाट सेवा उपलब्ध हुन नसकेपछि त्यस क्षेत्रका नागरिक हिजोआज नागरिकता र अन्य प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम खलंगा धाउन बाध्य भएका हुन् ।
इलाका प्रशासनमा आवश्यक कर्मचारी नहुँदा सेवा नै बन्द भएको हो । अधिकृतस्तरको कार्यालय प्रमुख नहुँदा इलाका प्रशासन कार्यालयबाट हुने दैनिक कामकाज नै प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । ०८० मंसिर चैतदेखि प्रशासनिक सेवा दिँदै आएको कार्यालयमा गत असार २२ गतेदेखि कार्यालय प्रमुखको पद रिक्त रहेको इलाका प्रशासन कार्यालय चंखेलीका नायब सुब्बा देवेन्द्र अधिकारीले बताए । ‘असार २७ गते कामु शाखा अधिकृत सत्यदेव खनाल अनिवार्य अवकाश हुनुभयो । एक हप्ताअगाडि असार २२ गते खनाल जानुभएसँगै इलाका प्रशासन कार्यालय चंखेली प्रमुखविहीन भएको छ । उहाँ कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएको थियो । गृह मन्त्रालयले नयाँ प्रमुख खटाउने प्रक्रिया सुरु गरेको भए पनि अहिलेसम्म कोही नआएको कारण कार्यालयको कामकाज प्रभावित भएको छ,’ उनले भने, ‘अहिले नागरिकता र राष्ट्रिय परिचयपत्रको विवरण भिडाउने काम भइरहेको छ, तर जिम्मेवार अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या आइरहेको छ । बर्खाको यस्तो कठिन समयमा सेवाग्राहीहरूलाई आवश्यक कामका लागि चंखेलीबाट सदरमुकाम जाजरकोट जानुपर्ने बाध्यता छ । कार्यालयमा खटिन कोही कर्मचारी आउन नमान्दा स्थिति अझै अनिश्चित बनेको छ ।’
इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा नागरिकता बनाउने, सिफारिस र आवश्यक अनुगमनलगायतका प्रशासनिक काम बन्द भएका हुन् । स्थानीय सरकार आँगनमा आएको अनुभूति गरिरहेका सर्वसाधारणहरू इलाका प्रशासनबाट सेवा नपाउँदा निराश बनेका छन् । केही समयसम्म आँगनबाटै नागरिकता र प्रशासनिक सेवा लिएका पश्चिम जाजरकोटवासी इलाका प्रशासनको सेवा बन्द भएपछि पहिलेकै सास्ती भोग्न बाध्य भएका छन् ।
विगतमा इलाका प्रशासनबाटै सेवा लिएका सर्वसाधारणहरू नागरिकता बनाउनका लागि एक दिन लगाएर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको जुनीचाँदे– ११ का कमारो नेपालीले बताए । ‘कर्मचारी अभावका कारण इलाका प्रशासनको सेवा बन्द भएको छ, हामीले यसबारेमा जिल्ला प्रशासनमा पनि अवगत गराएको छौँ,’ उनले भने, ‘इलाकामा हुने सामान्य कामका लागि पनि जिल्ला प्रशासन पुग्नुपर्ने बाध्यता हटेन, सरकारले कर्मचारी नखटाउँदा हामीले पाएको सुविधा पनि खोसियो ।’ अधिकृत नहुँदा सेवा नपाएका सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालयले समेत काम नगर्ने गरेको उनले आरोप लगाए । इलाकाबाटै नागरिकतालगायतका आवश्यक तथ्याक सिफारिस हुने भन्दै सेवाग्राही चंखेलीमै फिर्ता पठाउने गरेको उनीहरूको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले इलाका प्रशासन कार्यालयका लागि आवश्यक दरबन्दी पूरा गर्न गृह मन्त्रालयमा जानकारी गराइसकिएको बताए । उनका अनुसार इलाका प्रशासनमा कार्यालय प्रमुख रिक्त रहेसँगै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाउने, सिफारिस गर्नेलगायतका कामहरू गर्दै आएको बताए । सेवाग्राहीको चापअनुसार गुणस्तरीय र सरल सेवा प्रवाह प्रशासनबाट भएको उनको दाबी छ । मग्रातीका अनुसार इलाका प्रशासनले नागरिकता बनाउने, मतदाता नामावली बनाउने, अद्यावधिक गर्ने, सिफारिस गर्ने, अनुगमन गर्नेलगायतका काम गर्दै आएको थियो । तर, हाल कार्यालय प्रमुखसहित पर्याप्त दरबन्दी नहुँदा इलाकाको सम्पूर्ण सेवा बन्द भएको बताए । इलाका प्रशासन कार्यालयका लागि एकजना अधिकृत नहुँदा सेवा भने बन्द नै छ । मन्त्रालयले इलाका प्रशासन कार्यालयमा अख्तियारी प्राप्त कर्मचारीको व्यवस्था नगर्दा नागरिकता, दलित जनजाति प्रमाणीकरणलगायतका कामका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पुगेर लिनुपर्ने बाध्यता रहेको छ ।