मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
आइतबार भएको झडपमा घाइते भएका कैदी
२o८२ श्रावण ५ सोमबार o६:१९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिराहामा कैदीबन्दीबिच फेरि झडप

नाइके छनोटको विवादमा भएको झडपमा घाइते १३ जना काठमाडौं रेफर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार o६:१९:oo

शनिबार कारागारमा सुरक्षा निकायको सर्च अपरेसन, आइतबार भयो झडप : १५ महिला र १३५ पुरुष गरी १५० क्षमताको कारागारमा ४५८ कैदीबन्दी राखिएका छन्

सिराहा कारागारमा आइतबार फेरि कैदीबन्दीबिच दोहोरो झडप हुँदा १३ जना घाइते भएका छन् । घाइतेलाई प्रादेशिक अस्पताल सिराहाबाट थप उपचारका लागि एम्बुलेन्समा काठमाडौं पठाइएको छ । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिरहेका निमित्त चौकीदार विजय महतोको समूहसँग अन्य कैदीबन्दीको समूहको झडप भएको हो । ‘कारागारको आन्तरिक प्रशासन चलाउन नाइके छनोटको विषयमा केही विवाद रहेको भन्ने थाहा पाएको छु । तर, झडपको ठोस कारण खुल्न सकेको छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भने । उनी नेतृत्वको टोलीले शनिबार कैदीबन्दीका हरेक कोठाको सर्च गरेको थियो । 

कारागारमा कानुनद्वारा प्रतिबन्धित सरसामान हुन सक्ने आशंकामा चेकजाँच भए पनि केही नभेटिएको सहायक सिडिओ बरालले बताए । ‘कोठाबाहिर इँटाका टुक्रा, दाउरा र फलामका डन्डी देखिएपछि चौकीदार नाइकेलाई बाहिर निकाल्न भनेर फर्किएका थियौँ, त्यही सामान बाहिर निकाल्ने कि ननिकाल्ने भन्ने विवाद चर्किएर दोहोरो झडप भएको प्रारम्भिक अनुसन्धानमा पाइएको छ,’ उनले बताए । घटनाबारे छानबिन हुने प्रशासनले जनाएको छ । 

झडपमा विजयकुमार महतो, मकेश्वर महतो, दीपक ठाकुर, अञ्जाली कुशवाह, रिपेन्द्र झा, जयप्रकाश चौधरी, शिवकुमार राय, दीपेन्द्रकुमार यादव, सन्तोषकुमार सिंह, सत्यनारायण कारक, जितन साह, विश्वमित्र महतो र बैजु दास घाइते भएका छन् । झडपको खबर पाएलगत्तै कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक सोधपुछ गरेको थियो ।

१५ महिला र १३५ पुरुष गरी १५० जनाको क्षमताको कारागारमा थुनुवा र कैदी गरी ४५८ जना छन् । कैदीबन्दीको चाप धेरै रहेको र गर्मीमा सुत्न अप्ठ्यारो भएको भन्दै कैदीबन्दीले पंखा, कुलरलगायत थप जडान गर्न शनिबार सर्च गर्न पुगेको टोलीसँग माग गरेका थिए । ०२८ मा निर्माण भएको कारागारका भवन र सुरक्षा पर्खाल पनि जीर्ण छन् । कैदीबन्दीहरूले पटक–पटक कारागारको क्षमता बढाउन माग गर्दै आएका छन् ।

कार्यान्वयन भएन प्रतिवेदन
गत २४ कात्तिकमा कारागारभित्र आन्तरिक प्रशासनको मिलेमतोमा प्रतिबन्धित वस्तुको आपूर्तिसहित कारागारको पसलमा बढी रकम असुल्ने गरेको सार्वजनिक भएपछि स्थानीय प्रशासनले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले १० माघमा जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाएको थियो । कारागारभित्र कारागार प्रशासनले अनुमति नदिएका वस्तुहरूसमेत कार्यालयको जिम्मेवारीमा रहेका व्यक्ति तथा निकायको कमजोरीविना पनि चेकजाँचको प्रभावकारी व्यवस्था नभएको, अनुगमन, परीक्षण गर्ने प्रविधि नभएबाट कारागारभित्र प्रवेश गर्ने सम्भावना रहेकाले चेकजाँचलाई कडाइ गर्न कारागार प्रशासन र सुरक्षा युनिटलाई निर्देशन गरिएको थियो । 

असोजको अन्तिम साता कारागारमा प्रतिबन्धित वस्तुहरू आन्तरिक प्रशासनको सेटिङमा कैदीबन्दीहरूसम्म सहजै पुग्ने र त्यसबापत कैदीबन्दीहरूबाट मोटो रकम उठाइने गरेको सार्वजनिक भएपछि जिल्ला सुरक्षा समितिको बैठकले प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

 कारागारमा पटकपटक झडप
सिराहा कारागारमा पटकपटक झडप हुने गरेको छ । यसअघि चौकीदारले सुविधाको दुरुपयोग गर्दै कैदीबन्दीसँग रकम उठाउने, महिला कैदीबन्दीलाई गलत नजरले हेर्ने गरेको आरोप लागेपछि १२ चैत ०७९ मा नाराबाजी भएको थियो । कारागारका तत्कालीन चौकीदार यादव गिरीमाथि कैदीबन्दीले सांघातिक हमलाको प्रयास गरेपछि कारागार प्रशासनले उनलाई कारागार व्यवस्थापन विभागसँग समन्वय गरी सिन्धुली कारागार पठाएको थियो ।

त्यसअघि, ०७८ माघमा तीन कैदीलाई सरुवाका लागि रमानासहित निकाल्न खोज्दा कैदीबन्दीहरूबिच झडप भएको थियो । चारजना घाइते भएका थिए । विभागको पत्रअनुसार दुईजना कर्तव्य ज्यान र एकजना लागुऔषध मुद्दाका कैदीलाई सरुवा गराउन रमानापत्र बनाएर कारागारबाट निकाल्ने वेलामा झडप भएको थियो । झडपमा अन्य चार कैदीबन्दी घाइते भएसँगै भोलिपल्ट मध्याह्नससम्म कारागारमा नाराबाजी चलेको थियो । 

चेतराज बराल
सहायक प्रजिअ, सिराहा

कारागारको आन्तरिक प्रशासन चलाउन नाइके छनोटको विषयमा केही विवाद रहेको भन्ने थाहा पाएको छु । तर, झडपको ठोस कारण खुल्न सकेको छैन ।