मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
२o८२ श्रावण ५ सोमबार १६:२९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक घटे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार १६:२९:oo

चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको संख्या घटेको छ । गत वर्षको तुलनामा झन्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार आर्थिक वर्ष ०८०/८१ को तुलनामा गत आर्थिक वर्ष ०८१/८२ मा ७५ हजार ५०८ जना निकुञ्ज घुम्ने पर्यटकको संख्यामा कमी आएको छ । आर्थिक वर्ष ०८०/८१ मा चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख ६ हजार ८३७ जना पर्यटकले निकुञ्ज घुमेका थिए । गत आर्थिक वर्ष जम्मा दुई लाख ३१ हजार ३२९ जना पर्यटक निकुञ्ज प्रवेश गरेको सूचना अधिकारी थापामगरले जानकारी दिए। त्यसमध्ये एक लाख १७ हजार २०६ जना स्वदेशी थिए ।

निकुञ्ज प्रवेश गर्नेमा महिलाको संख्याभन्दा पुरुषको संख्या बढी छ । यस्तै, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका २४ हजार आठ सय र सार्कबाहेकका देशबाट ८९ हजार ३२३ जनाले निकुञ्ज घुमको निकुञ्ज कार्यालयको तथ्यांकमा उल्लेख छ । चितवन निकुञ्ज घुम्न कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका छन् ।

यो महिनामा ३२ हजार २५२ जना निकुञ्ज घुम्न आएका थिए । सबैभन्दा कम साउन सात हजार ३०९ जनाले निकुञ्ज घुमेका छन् । सडक पूर्वाधारलगायतका कारणले गत आर्थिक वर्षमा पर्यटकको संख्यामा कमी आएको थापामगरले बताए। उनले यस आर्थिक वर्षमा पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको बताए।

रेस्टुरेन्ट एन्ड बार एसाेसिएसन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीले चितवन निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमी आएको भन्दै यसले सौराहाको पर्यटन व्यवसायमा ठुलो असर पारेको बताए।

उनले अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय भएको रात्रिकालीन उडान बन्द, मुख्य सहरसँग चितवन जोड्ने सडकको अवस्था नराम्रो भएका कारण यहाँ आउने पर्यटकको संख्यामा कमी आएको बताए।

उनले विमानस्थल र मुख्य राजमार्गहरू सुधार गर्न सके मात्र पर्यटकको संख्या बढाउन सकिने धारणा राखे । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुंगी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।