
इन्टरनेट सेवाप्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक बन्ने भएको छ । दुवै पक्षबिच भएको सम्झौतामा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता कार्यक्रममा बोल्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले कम्पनीले लामो समयदेखि भुइँ तहमा क्रिकेटको समर्थन गर्दै आएको बताए । ‘अब काठमाडौं गोर्खाजमार्फत हामीले त्योसाथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौँ,’ उनले भने, ‘खेलको दीर्घकालीन प्रगतिका लागि यस्ता सहकार्यहरू आवश्यक छन्।’
त्यस्तै, काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले र लिगको सफलता ठुला कम्पनीहरूको सहभागितासँग जोडिने र त्यही क्रममा वर्ल्डलिंकजस्तो प्रतिष्ठित ब्रान्ड आफ्नो टोलीमार्फत एनपिएलमा जोडिन लागेको बताए । ‘यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौँ,’ उनले भने । दुई संस्थाबिचको साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्याउने विश्वास गरिएको छ ।
आगामी सिजनका लागि काठमाडौं गोर्खाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । साथै, टोलीले करण केसी (मार्की खेलाडी)सहित भीम सार्की, साहब आलम, रसिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ ।