
वर्तमान सरकारको एक वर्षलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
यो सरकार सफल पनि छैन र असफल पनि छैन । सरकार सुशासन प्रवाहमा पूरै असफल देखियो । मन्त्रीहरूमाथि विभिन्न प्रश्न उठे । संविधान संशोधन गरेर यसप्रति जनताको भरोसा जगाउन सरकार असफल रह्यो । यो सरकार गणतन्त्रविरोधी आन्दोलनलाई मत्थर पार्न सफल भयो । महिनैपिच्छे सरकार ढल्छ भन्ने मानसिकतालाई चिर्न र यो सरकार स्थिर रहन्छ भन्ने मनोविज्ञान स्थापित गर्न पनि यो सरकार सफल भयो ।
अहिलेको गठबन्धन गर्दा गरिएको सातबुँदे सहमति कार्यान्वयनको अवस्था कस्तो देख्नुहुन्छ ?
सरकार बन्दाको सातबुँदे सहमति पूर्णत: ओझेलमा परेको छ । सातबुँदे कार्यान्वयनभन्दा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीका व्यक्तिगत भित्री चाहना र मोलमोलाइ दुवै नेताको प्राथमिकतामा परेका छन् । देउवाका प्रभाव र दबाब छल्न ओलीले कहिले महामन्त्री गगन थापासित तथा कहिले शेखर कोइरालासित नजिक भएर खेलिरहनुभएको छ भने कांग्रेसभित्र सरकारबारे उठ्ने असन्तुष्टिको स्वर देउवाका लागि बलियो हतियार बनेको छ । उनले यसलाई माहुतेको हातमा रहेको अंकुशजस्तै प्रयोग गर्दै आएका छन् ।
भविष्यमा पहिलो र दोस्रो दलको गठबन्धन दोहोरिनु ठिक होला कि नहोला ?
पहिलो दलले सरकार चलाउनु र दोस्रो दल प्रतिपक्षमा रहनु नै गणतन्त्रको सुन्दरता हो । पहिलो र दोस्रो दलले गठबन्धन बनाएर सरकार चलाउनु ‘डेमोक्रेटिक’ भावनामाथि गम्भीर कुठाराघात हो । जेजस्ता तर्क गरेर यो गठबन्धन बनाइएको थियो, त्यसअनुसार काम भएको देखिएन । संसद्भित्र सन्तुलन कायम राख्न पनि पहिलो र दोस्रो दलको सरकार बन्नुहुँदैन । जसरी पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु स्वाभाविक हुँदैन भनिँदै छ, त्यसैगरी पहिलो र दोस्रो दलको सरकार पनि सकभर नबन्नु नै जाती हुन्छ ।