
पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको निर्माण समयमै नबनेपछि सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभामा सोमबार बोल्दै प्रचण्डले केपी ओलीको नेतृत्वमा रहेको सरकारले तीन सय दिनभित्रै फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने गरेको घोषणा पूरा नहुँदा प्रश्न उठाएका हुन् ।
‘जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट ?’ उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुईतिहाइको सरकार बनेपछि उहाँले प्रतिष्ठाकै विषय बनाउँदै पहिलो निर्णय नै तीन सय दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गर्नुभयो । तर, आज एक वर्ष बित्यो ।’
प्रचण्डले प्रतिनिधिसभामा राखेको प्रश्न गरेलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट त्यसको उत्तर फर्काएका छन् । ओलीले प्रचण्डलाई मैदानमा गएर उपलब्धि हेर्न सुझाव दिएका छन् । ‘बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ । तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नुभएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन,’ ओलीको प्रतिप्रश्न रह्यो ।
थप भएको दुई महिनाको समय सकियो
ओलीले आप्mनो पहिलो क्याबिनेटको बैठकबाटै तीन सय दिनभित्रै त्रिवि क्रिकेट मैदानले पूर्णता पाउने निर्णय गरेका थिए । तर, त्रिवि क्रिकेट मैदानको निर्माण कार्य सुस्तगतिमा भइरहेको छ । सरकारले ९० दिनमा पहिलो चरण काम सकिने भनिएको थियो । समयमै काम नसकिएपछि गत वैशाखमा दुई महिनाको समय थप भयो । अहिले थप भएको समय गत साता नै सकिएको थियो । सरकारले अहिले फेरि मिति थप्ने तयारी गरिरहेको छ । हाल मैदानमा प्यारापिट बनाउने र कुर्सी जडान गर्ने काम चलिरहेको छ । तर, मैदानको अर्को महत्वपूर्ण काम फ्लडलाइटको जडान काम निकै सुस्त छ ।
प्रचण्डले आफू सरकारमै हुँदा फ्लडलाइट जडान गर्ने तयारी सुरु गरे पनि सरकारबाट बाहिरिनुपर्दा पूरा गर्न नसकेको बताए । उनको समयमा त्रिवि मैदानमा डिजिटल स्कोरबोर्ड जडान भएको थियो । ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरमा रहेको क्रिकेट रंगशाला निर्माणको काम अघि बढेको थियो । फ्लडलाइट जडान गर्न ठेक्का पनि भयो । तर, त्यही वेला हामी सरकारबाट बाहिरिनुपर्यो,’ प्रचण्डले भने ।
फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६५३ रुपैयाँमा ठेक्का पाएको छ । प्यारापिटका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगालले ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँको ठेक्का पाएको छ ।