
प्रतिनिधिसभाबाट पारित निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिबाट निर्णय भएको प्रावधानलाई सभामा प्रस्तुत गर्दा ‘कुलिङ अफ पिरियड’बारे हेरफेर भई निर्णयको ठिक विपरीत प्रावधान रहन गएको विषयले संसद् र संसदीय समितिमा निकै ठुलो विवाद उठेको देखियो । यस विषयमा संसदीय छानबिन समितिले जेजस्तो सत्यतथ्य निक्र्योल गरे पनि यस प्रकरणले संसदीय समिति, सांसद र कर्मचारीतन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ । प्रस्तुत लेखमा कुलिङ अफ पिरियडबारे बहस विमर्श गर्न खोजिएको होइन, जेजस्ता प्रावधान भए पनि छनोट गर्ने पदाधिकारीको स्तर र इमानदारीसापेक्ष नै अमुक पदाधिकारी नियुक्ति हुने भएकाले त्यसतर्फ विश्लेषण गर्नु खासै सान्दर्भिक पनि छैन । लेख केवल यस प्रकारणमा उठाइएको चासोबारेको विश्लेषणमा केन्द्रित छ ।
संसद् सर्वसाधारणको भावना मुखरित हुने थलो हो, राज्यइच्छालाई संस्थागत गर्ने प्रक्रिया हो । नेपालको संसद् यस विषयमा सैद्धान्तिक अपवादमा नदेखिए पनि व्यावहारिक आधारमा विवेचना गर्न सकिने अवस्था केही घटनाक्रमले देखाएका छन् । संसदीय व्यवस्थालाई मर्यादित र आदर्श बनाउने काम जनप्रतिनिधिको हो । सर्वसाधारणले आफ्ना ट्रस्टी (हितरक्षक) का रूपमा प्रतिनिधिलाई विश्वास गरी खास अवधिका लागि सार्वभौम शक्ति हस्तान्तरण गरेका हुन्छन् । सार्वभौम शक्ति वरण गर्ने जनप्रतिनिधिहरू नागरिक आस्थाका धरोहर, ईश्वरजत्तिकै आदरका पात्र हुन् । त्यसैले, बेलायतमा कहावत छ, संसद्ले दिनलाई रात र रातलाई दिन तथा महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने कामबाहेक जे पनि गर्ने सामथ्र्य राख्छ । लोकतन्त्रमा जनप्रतिनिधिको बोली, बहस र व्यवहारमा जतिखेर पनि जनभावना मुखरित भइरहेको हुन्छ । यसकारण प्रतिनिधित्व गर्ने पात्र, प्रतिनिधित्व हुने पक्ष, प्रतिनिधित्व हुने विषय र प्रतिनिधित्व हुने अवस्थाप्रति सधैँ जागरुक संवेदनशीलतामा रहन्छन् ।
राज्यइच्छा निर्धारणको महत्वपूर्ण काम विधि निर्माण हो । जुन औपचारिक होइन, सावधानी र विज्ञता चाहिने संवेदनशील विषय हो । ऐनका अक्षर र भावना उपयुक्त नभए त्यसले समाज व्यवस्थामाथि उत्पात मचाउन सक्छ । यसका तत्कालीन मात्र होइन, दीर्घकालीन प्रभावसमेत हुन्छन् । यही तथ्यलाई हृदयङ्गम गरेर विधि निर्माणको प्रक्रिया व्यवस्थित गरिएको हुन्छ । विधायनपूर्वका चरणमा सरकारले सावधानी अवलम्बन गरेर, असर प्रभाव, लाभहानि विश्लेषण गरेर निष्कर्षमा प्रस्तावलाई विधायनको चरणमा प्रवेश गराउँछ । विधायनको प्रक्रियामा विषयले प्रवेश पाएपछि पनि प्रथम वाचन, दोस्रो वाचन, समिति छलफल, समिति प्रतिवेदन र तृतीय वाचनका लामो प्रक्रिया दुवै सभामा पार गरेपछि मात्र प्रस्ताव विधि बन्छ । विधायन प्रक्रियामा प्रस्तावका एक–एक बुँदाका सबै आयाममा गहन विवेचना गर्न समितिमा छलफल गर्ने, समितिले आवश्यक मानेका सन्दर्भमा विज्ञसँग राय लिने र प्रस्तावले परिपक्वता पाएपछि सभामा प्रतिवेदनसाथ प्रस्तुत गर्ने मान्य प्रचलन छ ।
सभाको ठुलो संरचनाका कारण विधि–निर्माताबाट छलफलमा गाम्भीर्य प्रदर्शन नहोला कि भनी समितिको व्यवस्था र त्यहा ‘ननपार्टिसन बेसिस’मा साझा निष्कर्ष निकाल्ने गरिन्छ । नेपाललगायत संसदीय लोकतन्त्र भएका मुलुकमा विधायन प्रक्रियामा भावावेग र उत्तेजना (इमोसन एन्ड एक्साइटमेन्ट) नरहोस् र एक सभालाई अर्काले परिपक्वताको परिपूरण गरोस् भनी दोस्रो सभाको व्यवस्था गरिएको छ । राष्ट्रिय सभालाई राष्ट्रिय स्वरूप दिन विशिष्ट क्षमता, क्षेत्र र सम्प्रदायका व्यक्तित्वको प्रतिनिधित्व गराइने प्रचलन छ । दुई सभाको व्यवस्थाको आशय विधि र राज्यइच्छा निर्माणका प्रक्रियालाई निष्पक्ष, आग्रहरहित र परिपक्व बनाउनु हो । समितिको व्यवस्था विषयको बहसलाई गहन र मिहीन बनाउनु हो । समितिमा सहयोगीका रूपमा रहने कर्मचारीतन्त्रले मागिएको विशेषज्ञ सेवा दिई निर्णयलाई सहज बनाउने गर्छन् ।
विषयको गाम्भीर्य र लाभग्राहीको चाखका कारण विषयहरूले अतिरिक्त सावधानीको माग गर्छन् । निजामती सेवा, विद्यालय शिक्षा र गुठी ऐनका विधेयक संसदीय प्रक्रियामा प्रवेश गरेर पनि परिपक्वता नपुगेका (वा प्रभाव) का कारण फर्केका विधेयक हुन्, जसले विषयको गाम्भीर्यलाई पुष्टि गर्छ । विधेयकहरू संसदीय प्रक्रियामा प्रवेश गर्दै फर्कंदै गर्ने प्रवृत्तिले लाभग्राही/स्वार्थ समूहले खेल्ने, चाख राख्ने अवसर पाउने गर्छ । यी विधेयक ऐन बन्न संविधान बन्नभन्दा बढी समय लागेकाले पनि स्वार्थ समूहको प्रभाव (र लबिङ) विधि निर्मातामा पर्न सक्छ भन्ने स्पष्ट छ । प्रक्रिया जति ‘लिंगरिङ’ भयो, झनै अन्योल हुन्छ र उभयपक्षको प्रभाव पर्न सक्छ । जस्तो कि संविधानको धारा २९० अनुसार संविधान जारी हुनासाथ बनिसक्नुपर्ने गुठी ऐन संसदीय प्रक्रियामा प्रवेश भएर बाहिरियो, प्रक्रियाले पुन: प्रवेश कहिले पाउँछ, यसै भन्न सकिने अवस्था छैन । संविधानको धारा २८५ अनुसार सात–आठ वर्षअघि बन्नुपर्ने निजामती सेवा र विद्यालय शिक्षा ऐन पनि यही अवस्थामा छ । एकात्मक शासन पद्धतिका समयका कानुन संघीयतामा लागू हुन्छन् भन्न संविधानत: सकिने अवस्था छैन । यसले संघीयता कार्यान्वयन र सेवा व्यवस्थापनमा पनि प्रभाव पारेको छ ।
अहिलेको विषयतर्फ जाऊँ । कुलिङ अफ पिरियडबारे एकै दफाका दुई उपदफा परस्पर प्रतिस्पर्धी देखिएका छन् । समितिमा छलफलमा एक प्रकारको निष्कर्षमा पुग्नु र सभामा प्रस्तुत हुँदा अर्कै रूपमा पुग्नुु सन्देहको विषय हो । यसले एकै समय एकसाथ दुईतिर तीर हानेको छ । पहिलो तीर प्रशासनिक संयन्त्र (जो संसदीय समितिको सहयोगी हो) तर्फ र अर्को सर्वोच्च शक्तिमान संसदीय समितितर्फ सोझिएको छ । राज्य व्यवस्थामा यी दुवै संयन्त्र विशिष्ट र अपरिहार्य महत्वमा छन् । कतिपयका बुझाइमा विधायन प्रक्रियालाई स्वार्थ सौदाले प्रभाव पारेको हो, कतिपयको बुझाइमा सतहीपनले यसो भएको हो भन्ने छ । संस्थाप्रति आरोप लाग्ने स्थिति आउँदा यिनीहरूप्रतिको सामाजिक विश्वासमा ह्रास आउँछ । वैधताको आधार विश्वास हो । जनादेशले सज्जित सांसद र योग्यतामा प्रवीण सार्वजनिक प्रशासनको एक–अर्काप्रतिको सहयोगले संस्थाहरू मर्यादित क्रियाशीलतामा पुग्छन् । एकले अर्कोको कमजोरीप्रति खेल्ने गरेमा दुवैको मर्यादामा आँच आउन सक्छ । मर्यादित लोकतन्त्रमा अमर्यादित शब्दबाट कसैप्रति आरोप लगाउनु उचित होइन, तर संस्थाहरू मर्यादित बन्न पात्रहरूकै क्रियाकलाप व्यावसायिक मर्यादामा रहनुको विकल्प छैन ।
समितिबाट पारित भएका विषयमा पारित भएका विषयबाहेक अन्य कुरा थपघट, र वा, यदि, तर, वा, अन्य यस्तै शब्द कसैले राख्न सक्दैन । कसैलाई मन पर्नु नपर्नु अलग हो, तर भूमिकाको मर्यादामा रहनु सबैको कर्तव्य हो । सार्वजनिक प्रशासन त सधैँ तटस्थ दक्षताको लक्ष्मणरेखामा रहन्छ । यो विधिको मात्र विषय होइन, सामान्य नैतिकताको कुरा पनि हो । झन् कर्मचारीले त यस्ता विषयमा प्रवेश गर्नु भनेको सार्वजनिक प्रशासनको मूल्य र व्यावसायिक सदाचारिताका दृष्टिले सोच्नसमेत नसकिने विषय हो । यस वर्षको बजेट वक्तव्यमा ‘टेक अर पे’ वा ‘टेक एन्ड पे’ले पनि यस्तै प्रकारको विवाद उठायो । संविधानको धारा ७० मा राष्ट्रपति वा उपराष्ट्रपति फरक–फरक लिंग वा समुदायको हुने प्रावधान संविधान निर्माणको आधार सन्दर्भले ‘वा’ को सट्टा ‘र’ हुनुुपर्ने हो कि भन्ने प्रश्न पनि यदाकदा उठ्ने गरेको छ । भलै यसले त्यति ठुलो विवाद ल्याएको छैन, न संविधान निर्माणका प्रमुख दलले यसलाई प्रस्ट पार्न नै उचित ठानेका छन् । अहिलेको प्रकरणले यसअघि बनेका कानुनमा समेत यस्ता कार्य भए कि भन्ने पनि सन्देह उठाउन सक्छ । यस्ता विषय संसदीय विशेषाधिकार र सार्वजनिक जीवनका सिद्धान्तसँग पनि जोडिने गर्छन् ।
संस्थाको गरिमा स्थापित गर्न समय लाग्छ । आफ्ना आशय र मूल्यमा नै संस्था स्थापित हुन्छन् । तर, त्यसका पात्रका क्रियाकलापले निर्मित छवि केही घटनामै स्खलित हुन बेर लाग्दैन । निजामती प्रशासन र संसदीय समिति दुवैको इतिहास लामो छ । यी दुईको एक–अर्काप्रति विश्वास टुट्दा दुवैलाई समाजले गर्ने विश्वास झनै घट्न पुग्छ ।
संस्थाहरू सावधान, गहन र स्वार्थभन्दा माथि रहँदा मात्र पवित्र रन्छन् । संसदीय समितिको यो घटनाले दिएको अर्को सन्देश राज्यसंस्थामा जहिले पनि इमानदार र उच्च व्यावसायिक नैतिकता भएका पात्रको दरकार पर्छ भन्ने पनि हो । सार्वजनिक प्रशासन र राजनीति दुवै क्षेत्रमा ख्याति हासिल गरेका अमेरिकी तत्कालीन राष्ट्रपति उड्रो विल्सनले भनेका थिए– सार्वजनिक जिम्मेवारीका पदमा सबैको अधिकार रहे पनि खास योग्यता र चरित्र रहेका व्यक्ति मात्र त्यस पदका वास्तविक हकदार हुन्छन् । संस्था बिग्रिएमा तत्काल त्यो संस्था मात्र बिग्रिएको देखिए पनि अन्तत: त्यसले सभ्यतामाथि नै तीर चलाउँछ । कुलिङ अफ पिरियड प्रकरणले दिएको निष्कर्ष पनि यही हो ।
(मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्)