मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Wednesday, 16 July, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ असार ३० सोमबार o८:२१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको तयारी : तीन वर्षपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा आदिल

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार o८:२१:oo

अलराउन्डर आदिल अन्सारी आलम तीन वर्षपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आदिलसहित ३२ खेलाडीलाई आसन्न आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटका लागि प्रारम्भिक छनोटमा बोलाएको हो । 

०७९ पुस ९–२७ सम्म भएको नेपाल टी–२० लिगमा स्पट र म्याच फिक्सिङको आरोपमा मुछिएका कारण आदिल तीन वर्ष घरेलु क्रिकेटबाट बाहिर रहेका थिए । टी–२० लिगमा अलराउन्डर आदिलसँगै महबुब आलम, नितेश शाह, नवीन कँडेल र रवि माझीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ५ फागुन ०७९ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । 

क्यानले अनुसन्धान चलिरहेको भन्दै घरेलु तथा अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध लगाएको थियो । त्यसपछि १३ चैत ०८० मा काठमाडौं जिल्ला अदालतले सिआइबीको दाबी नपुगेको भनी पाँच खेलाडीलाई सफाइ दिएको थियो । म्याच फिक्सिङको आरोपबाट मुक्त भएपछि आदिल घरेलु क्रिकेटमा फर्कन सकिरहेका थिएनन् । क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक अनुसन्धान र प्रक्रिया पार गरेपछि आदिललाई २१ वैशाख ०८२ देखि क्रिकेटमा फर्किन अनुमति दिएको थियो । क्यानले अनुमति दिए पनि राष्ट्रियस्तरको प्रतियोगिता नभएका कारण उनले खेल्न पाएका थिएनन् । 

अमेरिकाविरुद्ध डेब्यु
म्याच फिक्सिङका कारण प्रतिबन्धमा पर्नुअघि आदिललाई नेपाली टोलीमा एक उदीयमानी प्रतिभाशाली अलराउन्डर खेलाडीका रूपमा लिइएको थियो । उनले सन् २०२२ मा अमेरिकाविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले ६ एकदिवसीय खेलमा ७० रन जोडेका छन् । यसैगरी, पपुवा न्युगिनीविरुद्ध उनले टी–२० फम्र्याटमा डेब्युको अवसर पाए । उनले टी–२० आईमा आठ खेलबाट ११० रन जोडेका छन् ।

बलिङतर्फ उनले एकदिवसीय खेलमा ६ विकेट तथा टी–२० आईमा पाँच विकेट हात पारेका छन् । एकदिवसीयमा उनले ३१–३ र टी–२० आईमा २१–२ को उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले लिस्ट ‘ए’मा सात खेलमा ७२ रन तथा टी–२० खेलमा ११ खेलबाट १५७ रन जोडेका छन् । उनले टी–२० आईमा अन्तिमपटक केन्याविरुद्ध प्रतिस्पर्धा गरेका थिए । डेब्यु गरेको छोटो समयमै आक्रामक खेल प्रदर्शन गरेका आदिलको टी–२० लिगको घटनापछि करिअर नै धरापमा प¥यो । 

छनोटको समूह ‘बी’मा नेपाल 
नेपालले अक्टोबरमा ओमानमा टी–२० विश्वकपअन्तर्गत एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट खेल्दै छ ।आइसिसीले छनोटको ड्र निकाल्दा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा कुवेत र जापान छन् । कुवेतसँग नेपालले तीन खेल खेल्दा दुईमा जित निकालेको छ । जापान नेपालको नयाँ प्रतिद्वन्द्वीका रूपमा रहनेछ । छनोटको सुपर सिक्सको शीर्ष तीन स्थान बनाउने राष्ट्रले अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपमा स्थान बनाउनेछन् । 

क्यानले विश्वकपमा छनोट हुने लक्ष्यका साथ नेपाली टोलीलाई अस्ट्रेलिया भ्रमण गराउनेछ । नेपाली टोलीले अस्ट्रेलियामा आयोजना हुने टी–२० क्रिकेट प्रतियोगितामा बंगलादेश र पाकिस्तानका ‘ए’ टोलीसँगै बिग बासमा आबद्ध टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० आई सिरिज खेल्नेछ । 

प्रारम्भिक नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुल्सन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी र रिजन ढकाल छन् । प्रतिश जिसी, ललितनारायण राजवंशी, कमलसिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, रूपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकर र अर्जुन घर्ती छन् ।

 कुशल फर्किए, युवराजलाई अवसर
मुख्य प्रशिक्षक स्टुवार्ट लले विश्वकप छनोटका लागि प्रारम्भिक खेलाडी छनोट गर्दा युवा तथा सिनियरहरूले पनि टोलीमा फर्कने मौका पाएका छन् । सिनियर टोलीको मध्यक्रममा आक्रामक खेल प्रस्तुत गर्ने कुशल मल्ल पनि टोलीमा समावेश भएका छन् । यसैगरी, यू–१९ क्रिकेट टोलीबाट खेलेका युवराज खत्रीले पनि स्थान बनाएका छन् । खराब प्रदर्शनका कारण कुशल टोलीमा स्थान बनाउन संघर्षरत थिए । 

उनले टी–२० आईमा अन्तिमपटक १३ अप्रिल २०२५ मा कुवेतविरुद्ध प्रतिस्पर्धा गरेका थिए । एकदिवसीय खेलमा उनले २ नोभेम्बर २०२४ मा अमेरिकाविरुद्ध अन्तिमपटक खेलेका थिए । एकदिवसीय तथा टी–२० आईमा ब्याटिङ र बलिङमा खराब प्रदर्शन गरेका कारण उनी टोलीबाट बाहिर रहे । गत महिना स्कटल्यान्डमा भएको आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजबाट उनी बाहिर नै रहे । कुशलले ३९ टी–२० आईमा एक शतक तथा चार अर्धशतकको सहयोगमा ९२१ रन बटुलेका छन् । उनले ५१ टी–२० आईमा १९ विकेट हात पारेका छन् । 

प्रशिक्षक स्टुवार्टले सिनियर टोलीमा अभिनाश बोहरालाई पनि ३२ सदस्यीय खेलाडीमा समावेश गरेका छन् । बोहराले नेपाली टोलीबाट अन्तिमपटक टी–२० आईमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो । १६ जुन २०२४ पछि उनी टोलीबाट रहे । गत वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको टी–२० विश्वकपमा बोहराले प्रतिस्पर्धा गरेका थिए ।

उनले ६२ टी–२० आई खेलमा ७५ विकेट लिएका छन् । टी–२० फम्र्याटमा उनले ७० खेलमा ७७ विकेट हात पारेका छन् । यसैगरी, स्कटल्यान्डको भ्रमणमा घाइते भएका सोमपाल कामी र गुल्सन झा पनि टोलीमा समेटिएका छन् । आइसिसी विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा यी दुवै प्रशिक्षणका क्रममा खेलाडी घाइते भएका थिए । जसका कारण उनीहरूले लिग २ का बाँकी रहेका खेल गुमाएका थिए ।