
निजगढ नगरपालिका–७ बाट चोरी भएको मोटरसाइकल प्रहरीले रौतहटमा फेला पारेको छ। मोटरसाइकल चोरीमा संलग्न आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।
निजगढ नगरपालिका–७ का प्रशान्त लामाले घरको आँगनमा राखेको यामाहा एफजेडएस नाप्र ०३ प ७५१० नम्बरको मोटरसाइकल गत २४ असार राति चोरी भएको थियो। मोटरसाइकल हराएपछि लामाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए।
प्रहरीको अनुसन्धानका क्रममा ३१ असारमा निजगढ–७ स्थित योजना टोलमा २५ वर्षीय चमन मगरलाई शंकास्पद अवस्थामा हिँडिरहेकै वेला नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए। प्रारम्भिक बयानमा चमनले मोटरसाइकल आफैँले चोरी गरेर रौतहटको गुजरा नगरपालिका–२ का २३ वर्षीय रोशन मगरलाई बेचेको स्वीकार गरेका छन्।
पक्राउ परेका रोशन मगरले उक्त मोटरसाइकल रौतहटको गरुडा नगरपालिका–२ स्थित झाझपुल चोकमा रहेको न्यू राजन वर्कसप सञ्चालन गर्दै आएका ३० वर्षीय रामप्रवेश महरालाई ३१ हजार रुपैयाँमा बिक्री गरेको बताएका थिए।
इलाका प्रहरी कार्यालय गरुडासँगको समन्वयमा राम प्रवेशको घरमा पुग्दा आँगनमै नम्बर प्लेट नभएको यामाहा एफजेड मोटरसाइकल फेला परेको प्रहरी निरीक्षक लामिछानेले बताए। प्रहरीले मोटरसाइकलको इन्जिन नम्बर र च्यासिस नम्बर हेर्दा चोरी भएको मोटरसाइकल रहेको पुष्टि भएको थियो।
बरामद मोटरसाइकलसहित तीनैजनालाई नियन्त्रणमा लिई चोरीसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।