मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Wednesday, 16 July, 2025
२o८२ असार ३० सोमबार o७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रुंगा पुलदेखि टिमुरेतर्फको १६ मध्ये साढे नौ किमि सडक खुलाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार o७:o८:oo

गत मंगलबारको बाढीले क्षतिग्रस्त हुँदा अवरुद्ध बनेको रसुवास्थित स्याफ्रुबेँसी–रसुवागढी सडकको १६ किलोमिटरमध्ये रुंगा पुलदेखि टिमुरेतर्फको साढे नौ किलोमिटर सडक मर्मत गरेर खुलाइएको छ । 

बाढी र पहिरोले क्षतविक्षत भएको सडक जेसिबी, एक्स्काभेटर, ब्रेकरलगायतका हेभी इक्युपमेन्ट प्रयोग गरी स्याफ्रुबेँसी (रुंगा पुल)देखि टिमुरेतर्फको सडकखण्डको करिब साढे नौ किलोमिटर र रसुवागढी जलविद्युत् आयोजनाको बालुवाखानीदेखि रसुवागढीतर्फको सडक/बाटो  २७० मिटर मर्मत गरिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका सूचना अधिकारी अमरेन्द्रकुमार यादवले बताए ।

‘साना गाडी गुडाउन मिल्ने गरी साढे नौ किलोमिटर सडक अस्थायी रूपमा खुलेको हो । अझै सात किलोमिटरको ट्रयाक खोल्न बाँकी छ,’ उनले भने, ‘पूरै सडक अस्थायी रूपमा खुलाउन अझै चार–पाँच दिन लाग्न सक्छ ।’ गत मंगलबारको भोटेकोशीको सहायक नदी ल्हेन्देमा आएको बाढीका कारण स्याफ्रुबेँसी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । 

यादवका अनुसार यो सडक खण्डको १५ ठाउँमा ११ सय मिटर सडक क्षतविक्षत छ ।  सडक खुलाउन सडक विभाग, लाङटाङ भोटेकोशी जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ जलविद्युत् आयोजनासमेतका जेसिबी, एक्जाभेटर, ब्रेकरलगायतका हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन् । 

बाढी प्रभावित क्षेत्रको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलनका लागि यसअघि नै समिति गठन भइसकेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका योजना प्रमुख खड्गलाल श्रेष्ठको संयोजकत्वमा गठित १३ सदस्यीय समितिले क्षतिको विवरण संकलन गरिरहेको छ ।