
म विश्वविद्यालयमा पढाउँछु । अनुसन्धान गर्छु । त्यसैले पुस्तक पढ्नु मेरा लागि व्यावसायिक आवश्यकता हो । सामान्यतया, पुस्तक पढ्नु भनेको संसार चिन्नु हो । संसारलाई जति चिन्नुहुन्छ, त्यति नै आफूलाई चिन्नुहुन्छ । त्यसैले पुस्तक पढ्नु भनेको संसारलाई चिन्नु र बुझ्नु हो । त्यसको तात्पर्य आफैँलाई चिन्ने र बुझ्ने भन्ने नै हो । मान्छेको जीवनमा कसैले पनि फरक समय, फरक भूगोल, फरक समाज, फरक जीवन बाँच्न सक्दैन । तर, पुस्तक पढेर फरक समय, भूगोल, समाज, जीवनका बारेमा जानकारी पाउनुहुन्छ । पुस्तकले ज्ञानलाई समृद्ध बनाउँछ । जुनसुकै पेसा, व्यवसाय, उद्यम, अभियानमा भए पनि पुस्तकले सहयोग गर्छ । त्यसैले पुस्तक पढ्छु । पढ्नु मेरो रुचि पनि हो ।
गन्स, जर्म्स एन्ड स्टिल : म आलोचनात्मक इतिहासमा बढी रुचि राख्छु । विस्तृत हिसाबले भन्दा मार्क्सवादी आलोचनात्मक सिद्धान्तमा आधारित पुस्तक मेरो रुचिका विषय हो । यो अर्थमा गन्स, जर्म्स एन्ड स्टिल मन पर्ने पुस्तक हो । जेरेड डायमन्डले लेखेको यो पुस्तक सन् १९७७ मा प्रकाशित भएको हो । पुस्तकले मानव र समाज विकासबारे बहस सिर्जना गरेको छ ।
द डन अफ एभ्रिथिङ : अ न्यु हिस्ट्री : अफ ह्युम्यानिटी – मानवशास्त्री डेभिड ग्रेभर र डेभिट विंग्रोले संयुक्त रूपमा लेखेका हुन् । पुस्तक सन् २०२१ मा प्रकाशित भएको हो । पुस्तक मानव विगतका बारेमा परम्परागत भाष्यको आलोचना हो ।
ल्यान्ड टेनर एन्ड : ट्याक्सेसन इन नेपाल : पुस्तक महेशचन्द्र रेग्मीले लेखेका हुन् । पुस्तक सन् १९७७ मा प्रकाशित भएको हो । यो पुस्तक नेपालको आर्थिक इतिहास हो । ऐतिहासिक रूपमा नेपालको अर्थतन्त्रलाई बुझ्ने हो भने यो पुस्तक अनिवार्य हो । पुस्तकमा भूमिको इतिहास मात्र होइन, भूमि व्यवस्था कस्तो थियो ? भूमिको जगमा राणाकालीन, पञ्चायतकालीन र त्योभन्दा अघि कस्तो राजनीति थियो भन्ने विस्तृत रूपबाट बताइएको छ । यो पुस्तक एक खालको आधिकारिक र प्रामाणिक इतिहास हो भन्दा हुन्छ ।
अ पिपुल्स हिस्ट्री अफ द वर्ल्ड : पुस्तक क्रिस हर्मनले लेखेका हुन् । पुस्तकमा जटिल मानव इतिहास, समाजको विकास कसरी भयो ? त्यतिवेला आममानिसको भूमिका कस्तो हुन्थ्यो ? भन्ने उल्लेख गरिएको छ । मानव विगतदेखि यहाँसम्म कसरी आइपुग्यौँ पछिल्लो समय साम्राराज्यवाद, उपनिवेशवाद, पुँजीवादका विकाससम्मका कथालाई आलोचनात्मक हिसाबले चलनचल्तीको भन्दा फरक ढंगबाट व्याख्या गरेकाले यो पुस्तक मलाई मन पर्छ ।
सोह्र साँझ : पुस्तक गोविन्द वर्तमानले लेखेका हुन् । माओवादी र सरकारको सशस्त्र द्वन्द्वले थिलथिलो पारेको द्वन्द्व प्रभावित पश्चिम नेपालका कैलाली, बागलुङ, रोल्पालगायत जिल्लामा गएर द्वन्द्वबाट प्रभावितहरूको जीवन, जिजीविषा, पीडा, यथार्थ र आफू बाँच्नका लागि अन्याय, अत्याचारका बाबजुद पनि गरिरहेको संघर्षबारे लेखिएको यात्रा संस्मरण हो । पुस्तकमा युद्धक्षेत्रमा बाँच्नका लागि प्रयत्न गरिरहेका आममान्छेको कथा पढ्न पाइन्छ ।
प्रेतकल्प : यो पुस्तक नारायण ढकालले लेखेका हुन् । उपन्यासमा राणाकालीन अन्तिम अवस्थाको काँठक्षेत्रमा राणाहरूको अवस्थाका बारे पढ्न सकिन्छ । त्यो वेला बिस्तारै निर्माण हुँदै गरेको प्रतिरोध, चेतनाको कुरा सुन्दर ढंगबाट पुस्तकमा व्यक्त गरिएको छ ।
उरमाल : पछिल्लो समय पढेको पुस्तक उरमाल छुदेन काविमोले लेखेका हुन् । पुस्तक चियाबगानमा काम गर्ने मान्छेहरू, खासगरी महिलाको दु:ख, पीडाको कथा हो । त्यो दु:ख, पीडाहरूलाई राजनीतिले कसरी गिजोल्छ ? विभिन्न राजनीतिक स्वार्थले कसरी दयनीय बनाउँछ ? भन्ने सुन्दर तरिकाले पुस्तकमा उल्लेख गरिएको छ । सैद्धान्तिक र अवधारणागत पाटोबाट भन्ने हो भने हिजो एउटा आदिवासी उत्पादनसँग बाँचेका मानिसलाई चिया कम्पनीले पुँजीवादी उत्पादन व्यवस्थातर्फ कसरी लैजान्छ ?, झन् कमजोर बनाउँछ ?, दयनीय बनाउँछ ? र कसरी उनीहरूलाई आफ्नो भूमिबाट नै चियाको बहानामा विस्थापित गर्छ भन्ने उपन्यासमा देखाइएको छ ।
भुइयाँ : यो पुस्तक यज्ञशले लेखेका हुन् । पुस्तकमा आफ्नो भूमि, बास, जीविकोपार्जनका लागि संघर्षरत विभिन्न ठाउँका १५ महिलाको संघर्ष, पीडा र दु:खको कथा उल्लेख छ । कठिन अवस्थामा पनि आममानिसले कसरी बाँच्ने उपाय निकाल्छन् ?, अधिकारका लागि कसरी संगठित हुन्छन् र लड्छन् भन्ने विषयलाई पुस्तकमा उल्लेख गरिएको छ । अधिकार प्राप्तिमा लाग्ने महिलाका कुरा, उनीहरूको आशावादिता, धोकालगायतका कथा छन् । यसको लेख्ने शैली कुनै खबर पढिरहेजस्तो नभईकन दृश्य नै आँखामा आउँछ ।