
गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । मुक्तिनाथ क्यापिटल र गर्जाङ उपत्यका हाइड्रोबिच साधारण सेयर निष्कासन सेवासम्बन्धी दुईपक्षीय सम्झौता भएको हो ।
गर्जाङ उपत्यका हाइड्रोपावरका अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गार्जाङले आफ्नो जारी पुँजी ५० करोड रकमको २० प्रतिशतले हुन आउने १० करोड रकमबराबरको साधारण सेयर जारी गर्न लागेको हो । कम्पनीले सय रुपैयाँ अंकित दरमा १० लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।
गार्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड २१ पुस ०६० मा प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापति गरिएको थियो । २४ चैत ०७० मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । रामेछाप जिल्लामा रहेको कम्पनीको २.८३ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चके खोला जलविद्युत् आयोजना सञ्चालनमा छ, जुन आयोजनाले २८ मंसिर ०७४ देखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ ।