१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार १७:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तुर्माखाँदकाे एसइई नतिजामा उल्लेख्य सुधार, जिल्लामै बन्यो उत्कृष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १७:४२:oo

अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका एसइई नतिजामा जिल्लामै उत्कृष्ट बनेको छ । सामुदायिक विद्यालय र उत्कृष्ट विद्यार्थीको नतिजामा तुर्माखाँद गाउँपालिका जिल्लामै उत्कृष्ट बन्न सफल भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ अछामले प्रकाशन गरेको उत्कृष्ट १० विद्यालय र १० विद्यार्थीको तथ्यांकअनुसार तुर्माखाँदका तीन सामुदायिक विद्यालय र एक विद्यार्थी ‘टपटेन’भित्र परेका हुन् । यो गाउँपालिकाका सूर्य मावि भुलु, कालिकेश्वरी मावि नाँडा र विन्धेवासिनी मावि भैरवस्थान तथा रानीवनको मेनका माविकी रेशमकुमारी माझी उत्कृष्ट बनेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । माझीले ३ दशमलव ८२ जिपिए ल्याएकी छिन् भने सूर्य मावि भुलुबाट परीक्षा दिएका जम्मा २१ विद्यार्थीमा २० जना उत्तीर्ण भएका छन् । त्यस्तै, कालिकेश्वरी मावि नाँडाबाट एसइई दिएका २० जनामा १८ र विन्धेवासिनी मावि भैरवस्थानका ३० जनामा २५ जना विद्यार्थी परीक्षामा सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्राविधिक सहायक सुरेन्द्र बजगाइले बताए । उनका अनुसार सामुदायिक विद्यालयकै तुलनामा जिल्लाको साँफेबगर नगरपालिकाका पनि तीनवटा विद्यालय टपटेनमा परे पनि यो पालिकाका कुनै पनि सामुदायिक विद्यालयका विद्यार्थी भने उत्कृष्ट १०मा पर्न सकेनन् । तर, निजी विद्यालयअन्तर्गत साँफेबगरको किन्डर गार्डेन बोर्डिङ स्कुलका दुईजना विद्यार्थी भने टपटेनमा परेका छन् । निजीतर्फका किन्डर गार्डेन र बर्चहिल बोर्डिङ स्कुलसहित भने साँफेबगरका पाँच विद्यालय उत्कृष्ट देखिन्छन् ।

विद्यार्थीतर्फ यो वर्षको एसइईमा जिल्लामै उत्कृष्ट बन्ने विद्यार्थी भने कालिका मावि हात्तीकोटकी भावना साउद र किन्डर गार्डेन बोर्डिङ स्कुलकी एलिसा कुँवर छन् । उनीहरू दुवैजनाले ३ दशमलव ९० जिपिए ल्याएका छन् । सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गर्ने १० विद्यालय र ३ दशमलव ९० देखि ३ दशमलव ७३ जिपिए ल्याउने उत्कृष्ट १० विद्यार्थीको तुलना गर्दा यो नतिजा देखिएको हो । जसअनुसार सामुदायिक विद्यालय र सामुदायिक विद्यालयबाट परीक्षा दिएका विद्यार्थीतर्फ उत्कृष्ट बनेको तुर्माखाँदले यो वर्षको एसइई नतिजामा उल्लेख्य सुधार गरेको देखिन्छ ।

गत वर्ष ३८ दशमलव ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तुर्माखाँदमा यो वर्ष भने ६७ दशमलव ३४ प्रतिशत विद्यार्थी सफल भएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिसीले बताए । उनका अनुसार जम्मा १२ विद्यालयबाट परीक्षामा सामेल ४४३ विद्यार्थीमध्ये २९९ विद्यार्थी सफल भएका छन् । यो नतिजाले उत्साहित बनाएको भन्दै अध्यक्ष बिसीले आगामी वर्ष थप सुधारका काम गरिने बताए । ‘एसइईका लागि मात्र होइन, विद्यालयको समग्र सुधारमा लागेका छौँ,’उनले भने, ‘त्यो कुरा नतिजाले देखाएकै छ ।’ विगतभन्दा विद्यालयहरूको अवस्था सुधारोन्मुख रहेको उनले बताए ।

यो गाउँपालिकाले सार्वजनिक पदधारण गरेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीति लिएको छ भने राइनचिन नामक स्थानीय पाठ्यक्रम पनि लागू गरेको छ । यो वर्ष अछाम जिल्लाबाट १०१ विद्यालयका जम्मा चार हजार ९६७ जनाले एसइई दिएकोमा दुई हजार २४ जना उत्तीर्ण भएका छन् ।