१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ। बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको छ। बोर्डले प्रवर्द्धन गर्दै आएको उत्तरदायी पर्यटन, सहज पहुँच, स्थानीय गाइड प्रयोग र समुदाय–आधारित पर्यटन प्रवर्द्धनको नीतिले नेपाललाई एकल यात्रुका लागि थप सुरक्षित, भरपर्दो र रमणीय गन्तव्य बनाएको छ।

‘मच बेटर एड्भेन्चर’को सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक गतिविधिका लागि उच्च मूल्यांकन गरिएको छ। यसमा एभरेस्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट र चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ।

पर्यटन बोर्डले एकल यात्रुको अनुभवलाई अझै समृद्ध बनाउने उद्देश्यले गन्तव्यमा आवश्यक सूचना, स्थानीय गाइडमार्फत सुरक्षित यात्रा र संस्कृति, प्रकृति तथा साहसिक क्रियाकलापको सन्तुलित संयोजनमा जोड दिएको छ। बोर्डले प्रवर्द्धन गर्दै आएको उत्तरदायी पर्यटन नीतिअन्तर्गत हिमाली क्षेत्र, निकुञ्ज र ऐतिहासिक सम्पदा स्थलहरूमा स्थानीय समुदायको सहभागिता र संरक्षणलाई प्राथमिकतामा राखेको छ।

 नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्यांकन गरिएको छ। जसमा भनिएको छ, ‘नेपालमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ।’

मच बेटर एड्भेन्चर्सका सहसंस्थापक श्याम ब्रुसका अनुसार, यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो । यसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य, र लोकप्रियताजस्ता पक्षहरू समेटिएका छन्। उनी भन्छन्, ‘नेपालले एकल यात्रुहरूलाई अदभूत प्रकृति, गहिरो आध्यात्मिकता र हार्दिकतापूर्ण सत्कार प्रदान गर्छ, चाहे त्यो काठमाडौंका व्यस्त गल्लीहरू हुन् वा हिमाली क्षेत्रका शान्त र रमणीयस्थलहरु नै किन नहुन्।’

 त्यसैगरी, मच बेटर एड्भेन्चर्सका कन्टेन्ट म्यानेजर किस्र्टी होल्म्सले भर्खरै नेपालको एकल यात्रा गरेका थिए। उनले आफ्नो अनुभव उल्लेख गर्दै भनेका छन्, ‘अन्नपूर्ण संरक्षण क्षेत्रमा हिँड्दा र चितवनमा घुम्दा म आफू घरमा पुगेको अनुभूति भयो ।’ मच बेटर एड्भेन्चर्सको प्रमुख १० गन्तव्यमा इटाली पहिलो नम्बरमा छ भने क्रमशः जापान, नर्वे, स्पेन, अल्बानिया, पोर्चुगल, नेपाल, मोन्टेनेग्रो, जोर्डन र ग्रिस रहेका छन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस्ता अन्तर्राष्ट्रिय सूचीकृत सफलतालाई बोर्डले अवसरका रूपमा प्रयोग गर्दै थप रणनीतिक प्रवर्द्धन र गन्तव्य सुधारका पहलहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।