१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १२ बिहीबार o९:२५:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

मध्यपूर्वमा द्वन्द्व चर्केपछि सधैँ किन चर्चामा आउँछ स्ट्रेट अफ हर्मुज?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार o९:२५:oo

अमेरिकाले जुन २२ मा तीन इरानी आणविक अनुसन्धान केन्द्रमा बम आक्रमण गरेपछि धेरैको चिन्ता इरानले बदलामा स्ट्रेट (जलडमरु) अफ हर्मुज बन्द गर्ला कि भन्नेमा मोडियो । विश्वको महत्वपूर्ण व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मुज त्यो क्षेत्र हो, जहाँबाट संसारभर ढुवानी हुने २० प्रतिशत तेल आपूर्ति हुन्छ । त्यति नै परिमाणमा तरलीकृत ग्यासको पनि आपूर्ति हुन्छ । इरानले विगतमा द्वन्द्वको अवस्था आए यो जलमार्ग बन्द गर्ने धम्की दिने गथ्र्यो । भलै मंगलबार युद्धविराम घोषणापछि यो सम्भावना अहिलेको लागि टरेको छ । तथापि, पछिल्लो घटनाले पुन यस साँघुरो समुद्री मार्गमाथि विश्वका नजर गयो । हुनु पनि यसमाथि अवरोध पुग्यो भने विश्वव्यापी तेलको मूल्य प्रभावित हुनेछ । 

विश्वको सबैभन्दा महत्वपूर्ण तेल ‘चोकप्वाइन्ट’
विश्वको सबैभन्दा महत्वपूर्ण तेल ‘चोकप्वाइन्ट’ (सहजै अवरोध पुर्‍याउन सकिने साँघुरो समुद्री मार्ग)हरूमध्ये हर्मुजको जलडमरु संयुक्त राज्य अमेरिका र ठुला आर्थिक शक्तिका लागि भूरणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ । किनकि, विश्व अर्थतन्त्र अझै पनि तेलमाथि अत्यधिक निर्भर छ । ओमान र इरानको बिचमा अवस्थित यस जलडमरुको उत्तरमा पर्सिया खाडी छ भने दक्षिणमा ओमानको खाडी । केही पर अरब सागर छ । जलडमरुको सबैभन्दा साँघुरो बिन्दु ३३ किलोमिटर चौडा छ, जसमा दुवै दिशामा जहाज हिँडाउन सकिने ढुवानी लेन झन् साँघुरो, केबल तीन किलोमिटर चौडा मात्र छ ।

विश्वको कुल तेल खपतको पाँच भागको एक भाग निर्यातका लागि यो साँघुरो जलमार्गबाट प्रवेश गर्नैपर्छ । विश्लेषण संस्था भोर्टेक्साको तथ्यांकअनुसार यस मार्गबाट दैनिक एक करोड ७८ लाखदेखि दुई करोड आठ लाख ब्यारेल तेल बाहिरिन्छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) का सदस्यहरू साउदी अरेबिया, इरान, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत र इराकले उत्पादन गर्ने अधिकांश कच्चा तेल यस जलडमरुबाट भित्र पर्छ । तिनले एसियामा निर्यात गर्ने तेल यही भागबाट निकाल्नुपर्छ । अमेरिकाले बहराइनमा आधार बनाएर राखेको पाँचौँ फौज यही क्षेत्रका व्यावसायिक ढुवानीको सुरक्षाका लागि तैनाथ गरिएको हो । 

इरानले चाह्यो भने बन्द हुन सक्छ हर्मुज
यो जलडमरु बन्द गर्ने धम्की हालसम्म इरानले मात्र दिएको छ । यदि उसले बन्द गर्ने दिशामा अघि बढ्यो भने पहिलो दुई–तीन किलोमिटर चौडा ढुवानी लेनमा बारुदी सुरुङ ( माइन) राख्नुपर्ने हुन्छ । यसका लागि ठुलो परिणामा बारुद आवश्यक पर्छ । इरानसँग यस्तो सामाग्री उलेख्य संख्यामा रहेको विश्वास गरिन्छ । तथापि, यसका लागि तेहरानसामु हतियार सफलतापूर्वक राख्नुपर्ने चुनौती खडा हुनेछ । किनकि, पूर्ण हतियार राख्नुपहिले गरिने अभ्यास अपेक्षाकृत छिटो गर्नुपर्नेछ । र, यो पनडुब्बीमाथि निर्भर हुनेछ । इरानसँग तीनवटा ठुला रुसनिर्मित किलो समुह र मध्यम आकारको घदिर वर्गका पनडुब्बीको फ्लिट छ ।

समुद्री बारुदसँगसँगै इरानले आफ्नो तटतर्फबाट जहाजलाई निसाना बनाएर राखिने तोप, साना द्रुत गस्ती डुंगाहरू साथै हवाई तथा समुद्री ड्रोनको संयोजन तैनाथमा राख्नेछ । तर, त्यसरी तैनाथ गरिने संयन्त्रमाथि इजरायल र सम्भवत: अमेरिकाले तुरुन्तै आक्रमण गर्ने सम्भावना छ । तथापि, समुद्रमा राखिएका बारुदी खानी हटाउने कार्य भने निकै जटिल हुनेछ । सन् १९९१ को खाडी युद्धमा इराकी बारुदी सुरुङबाट दुई अमेरिकी युद्धपोत, ‘युएसएस त्रिपोली’ र ‘युएसएस प्रिन्सटन’ क्षतिग्रस्त भएका थिए ।

इन्टरनेसनल इन्स्टिच्युट स्ट्राटेजिक स्टडिजका विश्लेषक निक चाइल्ड्सका अनुसार इरानले जलमार्गमा ‘धेरै ठुलो अवरोध निम्त्याउन सक्छ ।’ साथै ऊसँग यस जलमार्ग खुला राख्न अमेरिकी र अन्य नौसेना एकाइले गर्ने प्रयासलाई पनि प्रभावित बनाउन सक्ने क्षमता छ । तथापि ‘हर्मुजको जलडमरु बन्द गर्ने इरानको प्रयासले व्यापक अमेरिकी सैन्य प्रतिक्रिया सामना गर्नुपर्ने’ निश्चित रहेको उनले बताए । 

यो जलमार्ग बन्द भयो भने के हुन्छ ?
इरानले यो जलडमरु बन्द गर्‍यो भने तेलको मूल्यमा वृद्धि गराउनेछ । अमेरिका र विश्वभर मुद्रास्फीति देखिनेछ । तथापि, यसबाट इरान आफैँलाई पनि हानि हुनेछ । इरानी तेल ढुवानीका लागि पनि यही प्रवेशद्वार प्रयोग हुन्छ । र, हर्मुज बन्द भयो भने यसबाट प्रभावित हुने खाडीका अरबी देश पनि आफ्नो हित रक्षाका लागि युद्धमा तानिने जोखिम हुन्छ ।

विशेषगरी, जलडमरु बन्द गर्नाले चीनलाई उल्लेखनीय रूपमा हानि पुग्नेछ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनले इरानले गर्ने कुल तेल निर्यातको लगभग ९० प्रतिशत हिस्सा खरिद गर्छ (अन्य देशले भने अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण इरानी तेल किन्दैनन्) । पछिल्लो तनावमा अमेरिकी विदेश सचिव मार्को रुबियोले यसअघि नै इरानलाई यो जलमार्ग बन्द गर्नबाट रोक्न चीनसँग सहयोगको आह्वान गरेका थिए । ‘म चिनियाँ अधिकारीलाई यस विषयमा तेहरानलाई फोन गर्न प्रोत्साहित गर्छु । किनभने, तिनीहरू आफ्नो तेलका लागि हर्मुजको जलडमरूमा धेरै निर्भर छन्,’ रुबियोले फस्क न्युजसँगको अन्तर्वार्तामा भनेका थिए । 

तथापि, अमेरिकी मध्यस्थतामा इरान–इजरायलबिच युद्धविराम सहमति भएपछि यो जलमार्ग बन्द हुने चिन्ता अहिलेका लागि टरेको छ । द गार्जियनबाट