
सिराहाको कल्याणपुरमा रहेको ग्लोबल आइएमई बैंक शाखा कार्यालयको रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। उदयपुरको त्रियुगा नगरपालिका– १२ का ३० वर्षीय सुजन भन्ने सुजेन्द्र लोहनी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
घटनापश्चात् भारतमा लुकेर बस्दै आएका लोहनीलाई आज सिराहा नगरपालिका– १७ खैरटोकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानले बताए। प्रहरीको विशेष टोलीले लोहनीलाई सीमावर्ती खैरटोकाबाट पक्राउ गरेको डिएसपी पासवानले बताए।
०७९ फागुन १० मा मिर्चैया नगरपालिका– ३ बतहा पुलमा ग्लोबल आइएमई बैंकको नाै लाख रुपैयाँ मिर्चैया शाखाबाट लिएर आउँदै गरेका बैंकका कर्मचारी र सुरक्षार्थ खटिएका प्रहरीलाई लोहनीसहित चारजनाको समूहले पेस्तोल देखाएर लुटपाट गरेको थियो। नम्बर नखुलेको यामाहा र अपाचे मोटरसाइकलमा सवार लोहनीसहितको चारैजनाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवासलाई हतियार देखाएर कुटपिट गर्दै बैंकको कर्मचारीसँग रकम लुटेर फरार भएका थिए।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र लोहनीलाई पक्राउ गर्न सफल भएको भन्दै डिएसपी पासवानले जिल्ला अदालत सिराहामा बुझाएर आवश्यक प्रक्रिया अघि बढाइएको बताए।