१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
२o८२ असार ४ बुधबार १o:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

४३ दिनमा नवलपुरमा २३ पटक सडक अवरुद्ध

अवरुद्ध सडक खुल्न दुईदेखि १२ घण्टासम्म समय लाग्दा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार १o:३o:oo

२३ वैशाखयता बुटवल–नारायणगढ सडकखण्डको नवलपुर सडक मंगलबारसहित २३ पटक सडक अवरुद्ध भएको छ । पछिल्लो ४३ दिनमा २३ पटक सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख छ ।

दाउन्नेको १४ किलोमिटर सडकखण्ड, दुम्कीबासको विनयी खोला, चोरमाराको गिरुवारी खोला, गैँडाकोटको बेल्डियामा पुलमा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । यस अवधिमा दाउन्नेको सडक आठपटक अवरुद्ध भएको छ । मध्यविन्दुको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएपछि ६ पटक र दुम्कीबासको विनयी खोलामा पुल भाँचिएपछि पाँचपटक सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुल्न दुईदेखि १२ घण्टासम्म लाग्ने गरेका छन् ।

मंगलबार बिहान आएको भारी वर्षाले पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको दुम्कीबास र दाउन्नेमा सडक अवरुद्ध हुन पुगेको छ । चोरमाराको गिरुवारी खोलाको पुलमाथिबाट सवारीसाधन सञ्चालनमा नआउँदासम्म एकैपटक तीन ठाउँसम्म सडक अवरुद्ध हुने गरेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्ने र दुम्कीबासमा मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको हो । नवलपुरका आसपासको क्षेत्रमा मंगलबार बिहान ४ बजेतिर भारी वर्षा भएको र त्यसपछि सडक अवरुद्ध बनेको हो ।

दाउन्नेमा हिलो केही सुक्न थालेपछि बिस्तारै सवारीसाधन पास गरिएको र दुम्कीबासको विनयी खोलामा सवारी पास गराउन डाइभर्सन निर्माणको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरी नवलपुरको डन्डा, कावासोतीआसपासको क्षेत्रमा भारी वर्षा भएको र अझै वर्षा हुने सम्भावना रहेको भन्दै नदीआसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

गत २९ वैशाखमा अधिक भार बोकेको सिमेन्ट उद्योगको ट्रकका कारण गिरुवारी खोला पुलमा क्षति भएको थियो । उक्त पुल २३ जेठमा सञ्चालनमा आएको थियो । पुल जीर्ण रहेकाले प्रहरीले २४ घण्टे पहरा दिएको छ । यहाँ ४० टनभन्दा बढी सवारीसाधन बोक्न नपाउने गरी प्रहरीले सुरक्षा दिएको छ । 

गत २६ पुसमा भारतीय हेभी ट्रक पास हुने क्रममा दुम्कीबासको विनयी खोलामा पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । दुम्कीबासमा पर्ने विनयी खोलामा नयाँ पुल निर्माणको काम सकिए पनि निर्माण सम्पन्न भएको २८ दिनसम्म पुल सञ्चालनमा नल्याइने भएको छ । २३ जेठमा निर्माण सम्पन्न भएको पुल १४ असारबाट सञ्चालनमा आउने भएको छ ।

दाउन्ने सडकखण्डको अवस्था पनि भद्रगोल छ । यो सडकखण्डमा यसपालि ढलान तथा कालोपत्रे नहुने भएको छ । दाउन्नेको पश्चिम खण्डमा यात्रा सहज भए पनि दाउन्नेको पूर्वी खण्डमा भने यात्रा अझै सकसपूर्ण छ ।

दाउन्नेमा पूर्वी खण्डमा रहेको नौ किलोमिटर सडकमध्ये करिब चार सय मिटर मात्र ढलान भएको छ । चाइना स्टेट कम्पनी बुटवल–नारायणगढ सडक पूर्वी खण्डका इन्जिनियर राकेश झाका अनुसार अब ६ सय मिटर ढलान गर्ने तयारी छ । दाउन्ने खण्डमा त्यसबाहेक अन्य ढलान वा कालोपत्रेको काम वर्षा अगाडि हुन नसक्ने इन्जिनियर झाले बताए । बुटवल–नारायणगढ सडकखण्डको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ ।