१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
प्रतिकात्मक तस्बिर
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८२ असार ४ बुधबार १६:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तिब्बतमा भारी वर्षाको आकलन, भोटेकोशी तटीय क्षेत्रमा सचेत हुन आग्रह

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार १६:२१:oo

छिमेकी चीन स्वशासित तिब्बतमा आज बुधबारदेखि सात दिनसम्म भारी वर्षा हुने मौसमविद्को चेतावनीपछि सीमामा रहेका चिनियाँ अधिकारीले नेपालतर्फ सचेत रहन सन्देश प्रवाह गरेका छन्।

जाङ्मुपोर्टस्थित अध्यागमन कार्यालयका अधिकारीले नेपालतर्फ सीमा सुरक्षार्थ रहेका सशस्त्र प्रहरी, अध्यागमन कार्यालय कोदारी र भोटेकोशी गाउँपालिकालाई मौखिक जानकारी दिएर बाढीबाट हुने सम्भावित जोखिमबाट बच्न भनेका हुन्।

मौखिक सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै सुरक्षा अंगलाई अलर्टमा रहन निर्देशन दिएका छन्। खासामाथि न्यालम क्षेत्रमा वर्षा सुरु भएको जानकारी प्राप्त भएको बताउँदै प्रजिअ थापाले भोटेकोशी तटीय क्षेत्रको लिपिङदेखि चौतारा साँगाचोकगढीको सिम्लेसम्मका स्थानीयलाई सूचना जारी गरेर सचेत गराएको बताए।

सहायक प्रजिअ गणेश नेपालीले बुधबार सूचना प्रकाशित गरेर लिपिङदेखि सिम्लेसम्मका स्थानीयलाई सचेत गराएका हुन्। भोटेकोशी र बाह्रबिसे क्षेत्रमा पनि आजै वर्षाको सम्भावना छ। ‘मौसम आकलन गर्दा भोटेकोशी र सुनकोशी क्षेत्रमा पनि वर्षा हुने सम्भावना बढी छ,’ थापाले भने।

अहिले भोटेकोशी नदीमा बाढी आइरहेको छ। तर, खतराको अवस्था छैन। तातोपानी, बाह्रबिसे, लामोसाँघु र बलेफी क्षेत्रका स्थानीयलाई सचेत गराइएको छ।