
प्रधानमन्त्री केपी ओली १५ असारमा स्पेनको भ्रमणमा जाने भएका छन् । उनी संयुक्त राष्ट्रसंघद्वारा आयोजना हुने विकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन जान लागेका हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको छ । ‘प्रधानमन्त्रीको स्पेन भ्रमणका सम्बन्धमा परराष्ट्रले छिट्टै आवश्यक जानकारी सार्वजनिक गर्नेछ,’ परराष्ट्र प्रवक्ता कृष्णप्रसाद ढकालले भने । सम्मेलन स्पेनको सेभिल सहरमा हुनेछ ।
कूटनीतिक स्रोतका अनुसार यो सम्मेलन अर्थतन्त्रसँग सम्बन्धित भएकाले प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले समन्वय गरेका छन् । प्रधानमन्त्रीसँग अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत उच्च सरकारी अधिकारी सहभागी हुने तयारी छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत कूटनीतिक अधिकारी पनि स्पेन जाने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली २० असारमा फर्किने तय भएको परराष्ट्र स्रोतले बतायो । अतिकम विकसित मुलुकहरूको संगठनका अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलन १६ देखि १९ असारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा करिब तीन दर्जन देशका प्रतिनिधि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री डा. राणाले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई यसबारे आइतबार जानकारी दिएकी थिइन् ।