१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:५८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सदनमा ठुला दलका हर्कत : मन्त्रीलाई झापडदेखि तोडफोडसम्म

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५८:oo

तत्कालीन मन्त्री रामचन्द्र पौडेलको गालामा झापड (०४९) : तत्कालीन राष्ट्रिय सभामा एमाले सांसद गोल्छे सार्कीले ०४९ मा स्थानीय विकासमन्त्री रामचन्द्र पौडेल (हाल राष्ट्रपति)लाई संसद्भित्रै झापड हाने । आफू रोस्टममा बोल्दा गिज्याएको, होच्याएकोजस्ता आरोप लगाउँदै सार्कीले रोस्टमबाट ओर्लिएर सिधै पौडेल बसेको ठाउँमा पुगी गालामा झापड हानेका थिए । 

कांग्रेस र एमाले सांसदबिच कुर्सी हानाहान (०५४) : दल त्यागसम्बन्धी विधेयक पारित गर्ने क्रममा ०५४ मा कांग्रेस र एमालेबिच मतभेद देखिएको थियो । मतभेद बढ्दै गएपछि दुई दलका सांसदबिच कुर्सी हानाहान नै भएको थियो । 

एमाले सांसदले प्रहार गरेको जुत्ता सभामुखको आसनमा (०५६) : हालका राष्ट्रपति रामचन्द्र पौडेल त्यतिवेला सभामुख थिए । स्थानीय स्वायत्त शासन ऐन पारितका विषयमा कांग्रेस र एमालेबिच विवाद भएको थियो । पौडेलले कांग्रेस सरकारको दबाबमा रोस्टम घेराउबिच जबर्जस्ती विधेयक पारित भएको घोषणा गरेपछि एमाले सांसदले उग्रता देखाएका थिए । त्यसक्रममा एमालेकी एक सांसदले प्रहार गरेको जुत्ता सभामुख पौडेलको आसनमा पुगेको थियो ।

कांग्रेस सभासद्को गालामा एमाले सभासद्को चप्पल (०६५) : १५ जेठ ०६५ मा पहिलो संविधासभाको पहिलो बैठक सकिएलगत्तै संसद्भित्रै यो घटना भएको थियो । सुर्खेत– १ बाट निर्वाचित एमाले सभासद् कमला शर्माले कांग्रेस सभासद् पूर्णबहादुर खड्काको गालामा चप्पलले हानेकी थिइन् । शर्माले आफ्ना पति ऋषिराम शर्माको हत्यामा खड्काको हात रहेको भन्दै चप्पल हानेको प्रतिक्रिया दिएकी थिइन् ।

माओवादी सांसदले बजेट वक्तव्यको ब्रिफकेस खोसेको त्यो घटना (०६७) : तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे (एमाले)ले ०६७/६८ को बेजट भाषण गर्न संसद्को रोस्टमतर्फ जान लाग्दा माओवादी सांसदहरूले उनको हातबाट बजेट वक्तव्यको ब्रिफकेस खोसेर हातपात गरेका थिए । पछि अध्यादेशबाट बजेट ल्याइएको थियो ।

संविधानसभामा माओवादी सांसदले तोडफोड गरे माइक र कुर्सी (०७१) : माओवादीको सहमतिविना नै संविधानसभामा विवादित विषयको प्रश्नावली बनाउने प्रस्ताव पेस गर्न खोजेको भन्दै ५ माघ ०७१ मा माओवादी सांसदले संविधानसभाका माइक र कुर्सी तोडफोड गरेका थिए । संसद् चलिरहेको मध्यरातमा माओवादी सांसद उमेशकुमार यादवले कुर्सी तोडफोड गरेका थिए । तत्कालीन सभामुख सुवास नेम्वाङमाथि हातपातको प्रयाससमेत भएको थियो ।

‘निम्छरो प्रश्न’ भनेपछि प्रधानमन्त्री ओलीमाथि खनिए कांग्रेस सांसद (०७६) : सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले ‘निम्छरो प्रश्नको जवाफ दिन्नँ’ भनेपछि २४ वैशाख ०७६ को संसद् बैठकमा प्रतिपक्षी कांग्रेसका सांसद आक्रोशित बनेका थिए । प्रधानमन्त्रीले अपमानजनक भाषा बोलेको भन्दै संसद्को रेकर्डबाट हटाउन उनीहरूले माग गरेका थिए । सभामुखले ध्यानाकर्षण भएको भने पनि विरोध गरिरहेका थिए । विरोधबिच प्रधानमन्त्रीले हतार–हतार जवाफ दिएका थिए ।

बोल्न समय नपाएपछि संसदभित्रै अर्धनग्न बने सांसद (०८०) : २५ वैशाख ०८० मा स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न आकस्मिक समय नपाएको भन्दै अर्धनग्न भएका थिए । ‘आकस्मिक र विशेष समय नराखेको’ भन्दै सभामुख देवराज घिमिरेले नियमावलीअनुसार बैठक सञ्चालन गर्न थालेपछि जंगिएका सिंहले कोट, सर्ट खोल्दै अन्ततः गन्जी पनि उतारेका थिए । अर्धनग्न अवस्थामै उनी औंला उठाउँदै माइकबिना नै बोलेका थिए ।

उपसभामुखको सिटभित्रै छिरे कांग्रेस सांसद (०८१) : सहकारी ठगीमा तानिएपछि तत्कालीन गृहमन्त्री रास्वपा सभापति रवि लामिछानेलाई संसदमा बोल्न दिने कि नदिने भन्ने विषयमा त्यतिबेलाको प्रतिपक्षी कांग्रेस र सत्तारुढ एमालेका सांसदले ३ जेठ ०८१ अमर्यादित हर्कत देखाए । सभामुख देवराज घिमिरेले लामिछानेलाई बोल्न आक्रामक बनेका कांग्रेस सांसद धनराज गुरुङ उपसभामुख बस्ने सिटभित्रै प्रवेश गरे । एमाले अध्यक्ष केपी ओलीलगायतले सम्झाउँदा धनराजले ‘मर्यादा सिकाउने’ भन्दै औंला ठड्याएर प्रतिवाद गरे । ओलीको प्रतिरक्षामा उत्रिएका एमाले महिला सांसदहरूले पनि ‘अमर्यादित’ शब्द बोलेका थिए ।

नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन, कुर्सी भाँच्न आउँदैन, माइक फोड्न आउँदैन : सोविता गौतम, सांसद, रास्वपा

विरोधका आयाम अनेकौँ हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ । मानव तस्करीविरुद्धको ऐक्यबद्धतास्वरूप निलो सल लगाएर आउँदा नियमापत्ति हुन्छ भने संसद्बाट निकालियोस् । जतिवेला कांग्रेस प्रतिपक्षी बेन्चमा थियो, त्यतिवेला धक्का–मुक्की भएर अहिलेको प्रधानमन्त्री केपी ओलीलाई हान्नै पुगेकोसम्म उदाहरण छ । अनि धक्का–मुक्की गर्ने, सांसद नै पिट्न जाने दलबाट सल लगाएको मर्यादित भएन भन्ने कुरा त्यति सुहाउँदो भएन । नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन, कुर्सी भाँच्न आउँदैन, माइक फोड्न आउँदैन ।