१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
कमलराज भट्ट काठमाडाैं
२o८२ असार ४ बुधबार o६:४३:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मानव तस्करीविरुद्ध ‘निलो रिबन’सहित सदनमा रास्वपाको प्रतीकात्मक विरोध

Read Time : > 6 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार o६:४३:oo
  • मर्यादाविपरीत पहिरन लगाएर सदनमा आएको भन्दै रास्वपा सांसदहरूलाई कारबाहीस्वरूप बैठकबाट निष्कासन गर्न कांग्रेसको माग, एमाले सांसदहरूले टेबुल ठटाएर गरे समर्थन

भिजिट भिसाको आवरणमा भएको मानव तस्करी छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आएको रास्वपाले मंगलबार फरक शैलीमा प्रतीकात्मक विरोध गर्‍यो । विश्वव्यापी रूपमै मानव तस्करीविरुद्ध अभियानको मर्यादित प्रतीक मानिने ‘निलो रिबन’ पहिरिएर रास्वपा सांसदहरूले ‘वेल’ घेराउ गरे । तर, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले यसलाई ‘अमर्यादित’ भन्दै रास्वपा सांसदहरूलाई संसद् बैठकबाटै बाहिर निकाल्न माग गरे भने एमाले सांसदहरूले समर्थन जनाउँदै टेबुल ठटाए ।

जबकि ‘निलो रिबन’लाई अमर्यादित देख्ने कांग्रेस–एमालेको संसदीय यात्रा कुर्सी–टेबुल तोडफोड र चप्पल प्रहारमा मात्रै होइन, झापडै हान्नेसम्मका उद्दण्ड गतिविधिसँग अभ्यस्त छ । ठुला र पुराना दलका यस्तै हर्कतका कारण संसद्मा हुन सक्ने अप्रिय घटना रोक्न तथा सरकारी सम्पत्ति जोगाउन ०७५ मा हरेक ‘रो’का छुट्टाछुट्टै कुर्सीलाई जोडेर उठाउन नसक्ने गरी एकढिक्का बनाइएको थियो ।

मंगलबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठकअघि नै रास्वपाका सांसदहरू निलो रिबन बाँधेर संसद् भवन पुगेका थिए । रास्वपाको अवरोधबिच मंगलबार पनि सभामुख घिमिरेले सदन चलाउन खोजे । ढिलो गरी २ बजे बैठक चलाए । निलो रिबन लगाएर प्रतीकात्मक विरोध गरेका रास्वपा सांसदले वेल घेराउ गर्दै नाराबाजी सुरु गरे । सभामुख घिमिरेले आठ मिनेटमै बैठक स्थगित गरिदिए । ३० मिनेट बैठक सारेका सभामुखले सत्तापक्षको चाहनाअनुसार त्यसपछि बैठक नै चलाएनन् । मंगलबार प्रतिनिधिसभामा संघीय निजामती विधेयक पारित गर्ने कार्यसूची थियो ।

बैठकको सुरुवातमा सभामुख घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिए । सांसद कार्कीले भिजिट भिसाको आवरणमा देशको साख धूमिल बनाएकाले आफूहरूले यस्ता आपराधिक क्रियाकलापविरुद्ध निरन्तर सदनमा आवाज उठाइरहेको बताइन् । तर, यस्तो मुद्दामा सरकार किन मौन बसेको, सुन्न नहुने के छ भनेर प्रश्न गरिन् ।

‘यो समस्या आजको होइन, ०६४ देखि नै चल्दै आएको गम्भीर विकृति हो । अब यसको जालो च्यात्नुपर्छ । त्यसैले उच्चस्तरीय छानबिन समिति बनाएर दोषीमाथि कारबाही गरी सुशासन स्थापित गर्ने माग गरेका हौँ । तर, यस्तो सत्य बोल्दा पनि सरकार आक्रोशित हुँदै रोस्ट्रमबाट धम्क्याउनुको अर्थ के हो ?’ उनले प्रश्न गरिन् ।

सांसद कार्कीले गृहमन्त्रीलाई अपराधी नभनेको र प्रश्न उठेकाले निष्पक्ष छानबिनका लागि राजीनामा मागेको बताइन् । गृहमन्त्री लेखकमाथि प्रत्यक्ष संरक्षण र परोक्ष संलग्नताको शंका उठिरहेको भन्दै सांसद कार्कीले लेखकले नै गत वर्ष संसद्मा प्रस्तुत गरेको नैतिकताको मानकअनुसार राजीनामा मागिएको बताइन् । ‘भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग आयोग गठन होस्,’ उनले भनिन्, ‘यत्रो दिनदेखि सत्य कुरा उठाउँदा पनि सरकार चुप बस्नु दुईतिहाइको घमन्ड देखाउँदै लोकतन्त्रका मूल्य–मान्यता नै बिर्सिनु कसरी न्यायोचित हुन्छ ?’

सांसद कार्की बोलिसकेपछि कांग्रेस प्रमुख सचेतक घिमिरेले उठेर नियमापत्ति गरे । सभामुखले घिमिरेलाई समय दिए । समय दिनेबित्तिकै रास्वपा सांसद सिटबाट बेलतिर प्रवेश गरेर नाराबाजी सुरु गरे । उता घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम ३० र ३१ अनुसार नियमापत्ति गर्दै रास्वपा सांसदलाई निष्कासन गर्न माग गरे । रास्वपा सांसदले मर्यादित पोसाक नलगाएको भन्दै घिमिरेले रास्वपा सांसदलाई निष्कासन गर्न माग गर्दा कांग्रेस र एमालेका सांसदले ताली बजाएर समर्थन गरेका थिए । लगत्तै सभामुखले बैठक स्थगित गरे ।

‘यो संसद्मा मर्यादित पोसाकमा आउनुपर्छ भन्ने व्यवस्था नियमावलीले गरेको हो । अहिले केही माननीय सदस्यहरूले जुन स्कार्फ लाएर आउनुभएको छ, यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन ?’ उनले भने, ‘यसरी भोलि कोही यहाँ हाफपाइन्ट मात्रै लाएर आउने, कोही यहाँ जथाभावी ड्रेसमा आउने, जे पनि लाएर आउन थाल्यो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?’ उनले यस्तो किसिमको व्यवहार गर्ने सांसदहरूलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्नुपर्ने बताए ।

निलो रिबनको विरोध गर्ने घिमिरेले ३ चैत ०८१ मा प्रतिनिधिसभा बैठकमा पर्यटनलाई अर्थतन्त्रको आधार बनाउन यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिको चर्काे आलोचना भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएर माफी माग्न निर्देश गरेका थिए । अर्को दिन उनले सदनबाटै माफी मागेका थिए ।

प्रतिनिधिसभा नियमावली नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछन् र चेतावनी पाएपछि सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ भन्ने व्यवस्था गरिएको छ । साथै, बैठक कक्षबाट निष्कासनसमेत गर्न सकिने व्यवस्था नियम ३१ मा छ ।

रास्वपा सांसद डा. तोसिमा कार्कीले मानव तस्करीविरुद्धको विश्वव्यापी अभियानमा निलो रिबनलाई प्रतीकका रूपमा प्रयोग गरिने भएकाले आफूहरूले पनि त्यही सन्देश दिन खोजेको बताइन् । तर, सभामुख देवराज घिमिरे र कानुनमन्त्री अजय चौरसियाले समेत रास्वपाको यो कदमप्रति असहमति जनाएका थिए ।

संसद् बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । छलफलमा कांग्रेस प्रमुख सचेतक घिमिरे र एमाले मुख्य सचेतक महेश बर्ताैलाले रास्वपाको निलो रिबन संसदीय मर्यादाभित्र नपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

‘यो सांकेतिक विरोध मात्रै होइन । भोलि कोही नांगै आउला । चुनाव चिह्न बोकेर ल्याउला । यस्तो गर्न पाइँदैन । नियमावलीले यस्तो कुरा गर्न दिँदैन । यो हुँदै भएन,’ बर्ताैलाले भने । सत्तापक्षका सचेतकभन्दा एक कदम अगाडि बढेर कानुनमन्त्री अजय चौरसियाले भनेका थिए, ‘नीति–नियम सबै हेरेर रास्वपा सांसदलाई निष्कासन गर्न सभामुखसँग माग गर्छु ।’

बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले निलो रिबन विशुद्ध सांकेतिक विरोध भएको बताए । ‘यो संसदीय मर्यादाविपरित भयो भन्नु उपयुक्त हुँदैन,’ उनले भने ।

बैठकको अन्तिममा सभामुख घिमिरेले यो नमिल्ने भन्दै यसो नगर्न अनुरोध गरेका थिए । ‘यसो गर्न संसदीय मर्यादाले नै मिल्दैन, माननीयहरूले ख्याल गर्नुहोस्,’ उनले भने । संसदीय मर्यादाभित्र बस्नु स्वयं सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको बताउँदै सभामुख घिमिरेले आफू स्वनियमनको पक्षमा रहेको बताए ।

रास्वपा सांसद सोविता गौतमले मानव तस्करीविरुद्ध आवाज उठाउँदा संसद्बाट निष्कासन गरे स्वीकार गर्ने जवाफ फर्काइन् । ‘विरोधका आयाम अनेकौँ हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ,’ उनले भनिन्, ‘मानव तस्करीविरुद्धको ऐक्यबद्धतास्वरूप निलो सल लगाएर आउँदा नियमापत्ति हुन्छ भने संसद्बाट निकालियोस् ।’ तर, नयाँ पुस्ताले रचनात्मक आन्दोलन गरिरहने उनको भनाइ छ ।

‘यौन पर्यटन’ माग्ने कांग्रेस प्रमुख सचेतक घिमिरेले देखे ‘निलो रिबन’मा अमर्यादा 

श्याम घिमिरे प्रमुख सचेतक, कांग्रेस

मंगलबार घिमिरेले संसद्मा भने–यो संसद्मा मर्यादित पोसाकमा आउनुपर्छ भन्ने व्यवस्था नियमावलीले गरेको हो । अहिले केही माननीय सदस्यहरूले जुन स्कार्फ लाएर आउनुभएको छ, यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन ? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्ने कारबाही आवश्यक छ ।

घिमिरेले ३ चैत ०८१ मा सदनमै गरेका थिए अमर्यादित सम्बोधन
मैले त बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई व्यवसायीकरण गरौँ । जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउनेछ । खासगरी धार्मिक पर्यटकहरूले खर्च कम गर्छन् । एडभेन्चरको पर्यटक थोरै मात्रामा हुन्छन् । संसारमै सबैभन्दा बढी पर्यटक हुने मनोञ्जनको पर्यटक हो । त्यसलाई हामीले आकर्षण गर्न सकियो भने मुलुकको आर्थिक विकास हुन्छ । मनोरञ्जनका लागि छुट्टै ठाउँ तोक्नुपर्छ ।

सदनमा ठुला दलका हर्कत : मन्त्रीलाई झापडदेखि तोडफोडसम्म

तत्कालीन मन्त्री रामचन्द्र पौडेलको गालामा झापड (०४९) : तत्कालीन राष्ट्रिय सभामा एमाले सांसद गोल्छे सार्कीले ०४९ मा स्थानीय विकासमन्त्री रामचन्द्र पौडेल (हाल राष्ट्रपति)लाई संसद्भित्रै झापड हाने । आफू रोस्टममा बोल्दा गिज्याएको, होच्याएकोजस्ता आरोप लगाउँदै सार्कीले रोस्टमबाट ओर्लिएर सिधै पौडेल बसेको ठाउँमा पुगी गालामा झापड हानेका थिए । 

कांग्रेस र एमाले सांसदबिच कुर्सी हानाहान (०५४) : दल त्यागसम्बन्धी विधेयक पारित गर्ने क्रममा ०५४ मा कांग्रेस र एमालेबिच मतभेद देखिएको थियो । मतभेद बढ्दै गएपछि दुई दलका सांसदबिच कुर्सी हानाहान नै भएको थियो । 

एमाले सांसदले प्रहार गरेको जुत्ता सभामुखको आसनमा (०५६) : हालका राष्ट्रपति रामचन्द्र पौडेल त्यतिवेला सभामुख थिए । स्थानीय स्वायत्त शासन ऐन पारितका विषयमा कांग्रेस र एमालेबिच विवाद भएको थियो । पौडेलले कांग्रेस सरकारको दबाबमा रोस्टम घेराउबिच जबर्जस्ती विधेयक पारित भएको घोषणा गरेपछि एमाले सांसदले उग्रता देखाएका थिए । त्यसक्रममा एमालेकी एक सांसदले प्रहार गरेको जुत्ता सभामुख पौडेलको आसनमा पुगेको थियो ।

कांग्रेस सभासद्को गालामा एमाले सभासद्को चप्पल (०६५) : १५ जेठ ०६५ मा पहिलो संविधासभाको पहिलो बैठक सकिएलगत्तै संसद्भित्रै यो घटना भएको थियो । सुर्खेत– १ बाट निर्वाचित एमाले सभासद् कमला शर्माले कांग्रेस सभासद् पूर्णबहादुर खड्काको गालामा चप्पलले हानेकी थिइन् । शर्माले आफ्ना पति ऋषिराम शर्माको हत्यामा खड्काको हात रहेको भन्दै चप्पल हानेको प्रतिक्रिया दिएकी थिइन् ।

माओवादी सांसदले बजेट वक्तव्यको ब्रिफकेस खोसेको त्यो घटना (०६७) : तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे (एमाले)ले ०६७/६८ को बेजट भाषण गर्न संसद्को रोस्टमतर्फ जान लाग्दा माओवादी सांसदहरूले उनको हातबाट बजेट वक्तव्यको ब्रिफकेस खोसेर हातपात गरेका थिए । पछि अध्यादेशबाट बजेट ल्याइएको थियो ।

संविधानसभामा माओवादी सांसदले तोडफोड गरे माइक र कुर्सी (०७१) : माओवादीको सहमतिविना नै संविधानसभामा विवादित विषयको प्रश्नावली बनाउने प्रस्ताव पेस गर्न खोजेको भन्दै ५ माघ ०७१ मा माओवादी सांसदले संविधानसभाका माइक र कुर्सी तोडफोड गरेका थिए । संसद् चलिरहेको मध्यरातमा माओवादी सांसद उमेशकुमार यादवले कुर्सी तोडफोड गरेका थिए । तत्कालीन सभामुख सुवास नेम्वाङमाथि हातपातको प्रयाससमेत भएको थियो ।

‘निम्छरो प्रश्न’ भनेपछि प्रधानमन्त्री ओलीमाथि खनिए कांग्रेस सांसद (०७६) : सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले ‘निम्छरो प्रश्नको जवाफ दिन्नँ’ भनेपछि २४ वैशाख ०७६ को संसद् बैठकमा प्रतिपक्षी कांग्रेसका सांसद आक्रोशित बनेका थिए । प्रधानमन्त्रीले अपमानजनक भाषा बोलेको भन्दै संसद्को रेकर्डबाट हटाउन उनीहरूले माग गरेका थिए । सभामुखले ध्यानाकर्षण भएको भने पनि विरोध गरिरहेका थिए । विरोधबिच प्रधानमन्त्रीले हतार–हतार जवाफ दिएका थिए ।

बोल्न समय नपाएपछि संसदभित्रै अर्धनग्न बने सांसद (०८०) : २५ वैशाख ०८० मा स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न आकस्मिक समय नपाएको भन्दै अर्धनग्न भएका थिए । ‘आकस्मिक र विशेष समय नराखेको’ भन्दै सभामुख देवराज घिमिरेले नियमावलीअनुसार बैठक सञ्चालन गर्न थालेपछि जंगिएका सिंहले कोट, सर्ट खोल्दै अन्ततः गन्जी पनि उतारेका थिए । अर्धनग्न अवस्थामै उनी औंला उठाउँदै माइकबिना नै बोलेका थिए ।

उपसभामुखको सिटभित्रै छिरे कांग्रेस सांसद (०८१) : सहकारी ठगीमा तानिएपछि तत्कालीन गृहमन्त्री रास्वपा सभापति रवि लामिछानेलाई संसदमा बोल्न दिने कि नदिने भन्ने विषयमा त्यतिबेलाको प्रतिपक्षी कांग्रेस र सत्तारुढ एमालेका सांसदले ३ जेठ ०८१ अमर्यादित हर्कत देखाए । सभामुख देवराज घिमिरेले लामिछानेलाई बोल्न आक्रामक बनेका कांग्रेस सांसद धनराज गुरुङ उपसभामुख बस्ने सिटभित्रै प्रवेश गरे । एमाले अध्यक्ष केपी ओलीलगायतले सम्झाउँदा धनराजले ‘मर्यादा सिकाउने’ भन्दै औंला ठड्याएर प्रतिवाद गरे । ओलीको प्रतिरक्षामा उत्रिएका एमाले महिला सांसदहरूले पनि ‘अमर्यादित’ शब्द बोलेका थिए ।

नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन, कुर्सी भाँच्न आउँदैन, माइक फोड्न आउँदैन : सोविता गौतम, सांसद, रास्वपा

विरोधका आयाम अनेकौँ हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ । मानव तस्करीविरुद्धको ऐक्यबद्धतास्वरूप निलो सल लगाएर आउँदा नियमापत्ति हुन्छ भने संसद्बाट निकालियोस् । जतिवेला कांग्रेस प्रतिपक्षी बेन्चमा थियो, त्यतिवेला धक्का–मुक्की भएर अहिलेको प्रधानमन्त्री केपी ओलीलाई हान्नै पुगेकोसम्म उदाहरण छ । अनि धक्का–मुक्की गर्ने, सांसद नै पिट्न जाने दलबाट सल लगाएको मर्यादित भएन भन्ने कुरा त्यति सुहाउँदो भएन । नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन, कुर्सी भाँच्न आउँदैन, माइक फोड्न आउँदैन ।