१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
२o८२ असार ४ बुधबार o६:२१:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

त्रिकोणात्मक टी–२० आई सिरिज : स्कटल्यान्डमाथि नेपालको कठिन जित

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार o६:२१:oo

नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत मंगलबार आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध कठिन जित निकालेको छ । पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाएर ९७ रनको झिनो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा मध्यम लक्ष्य पछ्याएको नेपालले इनिङ्सको १९.५ ओभरमा आठ विकेटको क्षतिमा जित निकाल्यो ।

अन्तिम ओभरमा नेपाललाई चार रन आवश्यक थियो । क्रिजमा किरण ठगुन्ना र अनुभवी करण केसी थिए । साफयान सारिफको चौथो बलमा ठगुन्नाले आफ्नो विकेट क्याचआउटका रूपमा गुमाए । त्यसपछि स्ट्राइकमा आएका सन्दीप लामिछानेले एक रन लिँदै नेपाललाई सिरिजमा महत्वपूर्ण जित दिलाए । जितसँगै नेपाल अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान दुई खेल पूरा गरेका छन् । तीनवटै राष्ट्रले समान एक जित र हार सामना गरेका छन् ।

सिरिजको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि तेस्रो सुपर ओभरमा रोमाञ्चक जित निकालेको थियो । रनरेटमा स्कटल्यान्ड अगाडि छ । नेपालले स्कटल्यान्डविरुद्ध टी–२० आईमा सन् २०१३ पछि प्रतिस्पर्धा गरेको हो । १८ नोभेम्बर २०१३ मा नेपाल र स्कटल्यान्डबिच आइसिसी टी–२० छनोटमा प्रतिस्पर्धा भएको थियो । जसमा स्कटल्यान्डले नेपालमाथि आठ विकेटको सानदार जित निकाल्यो । दोस्रो भेटमा नेपालले स्कटल्यान्डसँग बदला लियो । 

९८ रनको सामान्य लक्ष्य
नेपालले ९८ रनको सामान्य लक्ष्य पछ्याउँदा उत्कृष्ट ब्याटिङ गर्न सकेनन् । शीर्ष क्रममा प्रमुख तीन ब्याट्सम्यान सस्तै रनमा पेभेलिन फर्कँदा नेपाल दबाबमा परेको थियो । लोकेश बम (९), अनिल शाह (३) र कप्तान रोहित पौडेल (७) रनमा आउट हुँदा नेपाल इनिङ्सको एक समय ७.२ ओभरमा ३८–३ को अवस्थामा रह्यो । 

ओपनर कुशल भुर्तेलले दीपेन्द्रसिंह ऐरीसँग चौथो विकेटका लागि २२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई १२.१ ओभरमा ६०–४ को स्थितिमा राखे । क्रिजमा सेट भएका ओपनर ब्याट्सम्यान कुशल वाटको ओभरमा एलबिडब्लू भए । उनले ३५ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ३० रन जोडे । 

दीपेन्द्रसिंह र बसिर अहमेदबिच पाँचौँ विकेटका लागि १५ रनको साझेदारी भयो । दीपेन्द्रसिंह ठुलो सट लगाउने क्रममा क्याचआउट भए । उनले २१ बलमा १४ रन जोडे । बसिर र किरणले नेपाललाई जिततर्फ लगेका थिए । स्पिनर माइकल लेक्सले बसिरलाई कट एन्ड बोल्ड गरे । किरणले १६ बलमा एक चौकाको सहयोगमा १० रन बनाए । खेलकै म्यान अफ दी म्याच सन्दीप लामिछानेले विजयी रन बटुलेका थिए । 

नेपालको कसिलो बलिङ

स्कटल्यान्डसँगको प्रतिस्पर्धामा नेपाली बलरले कसिलो बलिङ गरेका छन् । इनिङ्सको ०.५ ओभरमै नेपालले पहिलो सफलता प्राप्त गरेको थियो । कप्तान रोहित पौडेलले पहिलो ओभरमै स्पिनर दीपेन्द्रसिंह ऐरीलाई बलिङ गर्न लगाएका थिए । दीपेन्द्रले आफ्नो पाँचौँ बलमै स्कटल्यान्डका ओपनर माक वाटको विकेट लिए । दीपेन्द्रले ३.४ ओभरमा २४ रन खर्चेर दुई विकेट हात पारे । करणले चार ओभरमा दुई विकेट लिन २० रन खर्चे । 

स्पिनर चम्केको पिचमा ललित राजवंशीले विकेट हात पारे । ललितले चार ओभरमा २२ रन खर्चँदै एक विकेट लिए । नेपाली बलरको उत्कृष्ट प्रदर्शनका कारण स्कटल्यान्डले पावर–प्लेमै पाँच महत्वपूर्ण विकेट गुमाएको थियो । ४.५ ओभरमा स्कटल्यान्ड २४–५ को नाजुक स्थितिमा थियो । त्यसपछि स्कटल्यान्डले थप पाँच विकेटका लागि ७३ रन जोडेको थियो । स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमा अलआउट भयो । 

स्कटल्यान्डको कमजोर ब्याटिङमा माइकल लिसेकले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बलमा चार चौका र एक छक्का प्रहार गरे । यसैगरी, ब्रान्डोन म्यामुलेनले १२ बलमा समान एक चौका र छक्काको सहयोगमा १० रन बटुले । सो इनिङ्समा आठ खेलाडीले दोहोरो रन नै बनाएनन् । 

सन्दीपको घातक बलिङ
स्कटल्यान्डविरुद्ध सन्दीपले घातक बलिङ प्रदर्शन गरेका छन् । उत्कृष्ट फर्ममा रहेका सन्दीपले चार ओभरमा एक मेडन राखी ११ रन मात्र खर्चेर चार विकेट लिए । उनकै कसिलो बलिङ प्रदर्शनका कारण आयोजक स्टकल्यान्डले घरेलु मैदानमा गतिलो ब्याटिङ गर्न नसक्दा सय रन पनि कटाउन सकेन । सन्दीपले आफ्नो स्पेलमा २.७५ औसतमा बलिङ गरेका थिए । उनले केवल १८ रन मात्र दिए । उनले नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक तीनपटकसम्म सुपर ओभरमा पुगेको खेलमा दुई विकेट लिएका थिए । सन्दीपले आफ्नो टी–२० करिअरमा दुईपटक चार विकेटको प्रदर्शन गरेका छन् । उनको टी–२० आईमा उत्कृष्ट प्रदर्शन ५–९ हो । स्कटल्यान्डसँगको खेलमा सन्दीप दुईपटक ह्याट्रिक लिन चुके । पहिलो ब्याटिङ गरेको स्कटल्यान्डको इनिङ्सको १.३ ओभर र १.४ ओभरमा उनले ब्याक टु ब्याक विकेट लिए । त्यसपछि १६.३औँ र १६.४ ओभरमा उनले लगातार बलमा विकेट हात पारे । तर, उनले ह्याट्रिक भने गर्न सकेनन् । १६औँ ओभरमा सन्दीपले मेडनसहित विकेट हात पारेका थिए । 

करणले पूरा गरे टी–२० आईमा सय विकेट
नेपालका फास्ट बलर करण केसीले अन्तर्राष्ट्रिय टी–२० आईमा सय विकेट पूरा गरेका छन् । टी–२० आईमा सय विकेट लिने उनी दोस्रो नेपाली बलर हुन् । यसअघि सन्दीप लामिछानेले पहिलो बलरका रूपमा यो उपलब्धि हात पारेका थिए । त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार स्कटल्यान्डविरुद्धको खेलमा करणले आफ्नो सय विकेट पूरा गरेका हुन् । उनले स्कटल्यान्डका जर्ज मुन्सेलाई आउट गर्दैै सय विकेट संख्या पुर्‍याए । करणले सन् २०१५ को ३० जुनमा नेदरल्यान्ड्सविरुद्ध टी–२० मा डेब्यु गरेका थिए । करणले डेब्यू खेलमै नेदरल्यान्डविरुद्ध चार ओभर बलिङ गरी ३२ रन खर्चेर एक विकेट हात पारे । करणले आफ्नो टी–२० आई करिअरमा ८० खेलमा ८० इनिङ्स बलिङ गरेका छन् । उनले तीनपटक चार विकेट लिएका छन् । उनले एकपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । उनको उत्कृष्ट बलिङ स्पेल २१–५ हो । नेपाली टोलीमा अलराउन्डर भूमिका निर्वाह गर्ने करणले ब्याटिङमा चार सय ६५ रन बनाएका छन् । उनले अहिलेसम्म ३९ छक्का प्रहार गरेका छन् । टी–२० आईमा नेपालका पूर्वकप्तान सन्दीपले सर्वाधिक एक सय १५ विकेट लिएका छन् । करणले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध पाँच विकेटको प्रदर्शन गरेका थिए । करणभन्दा पछाडि सोमपाल कामीको ७५ विकेट र अविनाश बोहराले ७४ विकेट लिएका छन् । आइसिसी विश्वकप लिग २ को अभ्यास क्रममा घाइते हुँदा सोपमालले सबै सिरिज गुमाएका छन् ।

सोचेजस्तो ब्याटिङ भएन : रोहित पौडेल, कप्तान, नेपाल

हामीले पहिलो बलिङको निर्णय सही गर्‍यौँ । सन्दीप र करण दाइले सुरुवाती स्पेलमा बलियो स्कटल्यान्डको ब्याटिङ कमजोर पार्नुभयो । विशेषतः  पावर प्लेमा नेपालको बलिङका कारण स्कटल्यान्ड कमजोर देखियो । बलिङमा अन्यले पनि राम्रो साथ दिए । हामीले सहज लक्ष्य पछ्याएका थियौँ । सहज देखिए पनि स्कटल्यान्डको बलिङ चुस्त रह्यो । पार्टनरसिप बन्न नसक्दा हामीले अन्तिम ओभरसम्म ब्याटिङ गर्‍यौँ । यद्यपि, जितका लागि सबैले उत्तिकै प्रयास गरेका थिए ।