
पत्रकार दिलभूषण पाठकले समाचार सामग्री प्रसारण गरेकै आधारमा सरकारले जबर्जस्ती गर्न खोजेको बताएका छन्।
प्रेस काउन्सिल र पत्रकार महासंघलाई पत्र लेख्दै पाठकले उजुरी र आरोपका बारेमा कुनै जानकारी नै नदिई एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनु शंकास्पद रहेको बताएका छन्।
पक्राउ पुर्जी जारी भएको विषय सार्वजनिक मिडियाबाट जानकारी पाएको उल्लेख गर्दै उनले भनेका छन्, ‘सम्बन्धित अधिकारीहरूले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ।’
प्रसारित सामग्रीका विषयमा असहमति, गुनासो वा फरक मत भए सबैभन्दा पहिले आफूसँग र चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने उनले उल्लेख गरेका छन्। ‘प्रेस काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा-रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो र फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ,’ पत्रमा उल्लेख छ।