१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
२o८२ जेठ २६ सोमबार o८:५७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

ब्राजिलियन, साउदी प्रो तथा दक्षिण अमेरिकी क्लबहरूले प्रतियोगितामा सहभागिता जनाउन रोनाल्डोलाई प्रस्ताव राखेका छन् । साउदी प्रो लिगको अल नासर र उनको सम्झौता साढे दुई वर्ष बाँकी छ ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार o८:५७:oo

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् । गत महिना रोनाल्डोले क्लब विश्वकप खेल्ने चाहना राखेका थिए । फिफाका अध्यक्ष जिआनी इन्फाटिनोले पनि उनलाई अन्य क्लबबाट खेल्न बाटो खुला भएको जनाएका थिए । ‘सम्भवतः रोनाल्डोको अर्को योजना क्लब विश्वकप खेल्नु हुनेछ, यसका लागि सबै बाटो खुला गरेका छौँ,’ इन्फाटिनोले भनेका थिए, ‘क्लब लेभलका प्रतिस्पर्धामा विश्वस्तरीय खेलाडीको आगमनले यसको स्तरसमेत बढाउने विश्वास छ ।’

तर, रोनाल्डोले आइतबार आफूलाई अल नासर छाडेर अन्यबाट क्लब विश्वकप खेल्न नैतिकताले नदिएको बताएका छन् । ‘खेलाडी सबै क्लबमा जान सक्छन्, तर हामीले लामो समयको योजना बनाउनुपर्छ,’ उनले भने, ‘मैले व्यावहारिक पक्षबाट क्लब विश्वकपमा सहभागी हुने सोचेको छैन । तर, मलाई थुप्रै क्लबबाट अफर आएको छ ।’ ब्राजिलियन, साउदी प्रो तथा दक्षिण अमेरिकी क्लबहरूले प्रतियोगितामा सहभागिता जनाउन रोनाल्डोलाई प्रस्ताव राखेका छन् । साउदी प्रो लिगको अल नासर र उनको सम्झौता साढे दुई वर्ष बाँकी छ । 

रोनाल्डोले क्लबसँगको सम्झौताविपरीत जान नसकिने जनाउँदै तत्काल विश्वकप नखेल्ने बताएका हुन् । सन् २०२२÷२३ को सिजनमा उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा कीर्तिमानी रकममा सम्झौता गरेका थिए । पाँचपटकको बालोन डि’अर विजेता रोनाल्डोलाई अल हिलाल र ब्राजिलियन क्लब बाटाफोगोले शनिबार क्लब विश्वकप खेल्न प्रस्ताव पठाएका थिए । एसियाबाट अल हिलालले प्रतियोगितामा सहभागिता जनाउँदै छ । 

३२ क्लबबिच प्रतिस्पर्धा
फिफाका अध्यक्ष इन्फाटिनोले प्रतियोगिता प्रतिस्पर्धात्मक बनाउन ३२ क्लब पुर्‍याएका छन् । रोनाल्डोले पछिल्लो समयमा सञ्चारमाध्यममा आएको विषयलाई लिएर आइतबार पत्रकार सम्मेलन गर्दै भने, ‘क्लब विश्वकपमा मेरो उपस्थिति हुनेछैन ।’ रियल म्याड्रिड र युभेन्टसका पूर्वखेलाडी रोनाल्डोले साउदी क्लबसँगको सम्झौताअनुसार आगामी योजना बनाएको बताए । ‘केही क्लबले मसँग नजिक हुन कोसिस गरेका थिए, तर अल नासरविरुद्ध जान सक्दिनँ,’ उनले भने, ‘अहिले क्लब विश्वकपको विषय यहीँ समाप्त भएको छ, यही नै मेरो अन्तिम निर्णय हो ।’ 

चारपटकको विजेता 
रोनाल्डोले आफ्नो करिअरमा चारपटक फिफा क्बल विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेका छन् । सन् २००८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा रहँदा उनी पहिलोपटक विश्व च्याम्पियन बनेका थिए । त्यसपछि स्पेनिस क्लब म्याड्रिडमा आबद्ध हुँदा उनले सन् २०१४, २०१६ र २०१७ मा उपाधि जिते । खेलाडीका रूपमा धेरैपटक क्लब विश्वकप उपाधि जित्ने खेलाडीमा उनी पर्छन् । उनले यस प्रतियोगितामा आठ खेलमा सात गोल गरेका छन् । रियल म्याड्रिडका पूर्वखेलाडी गेराथ बेल र करिम बेन्जिमाले समान ६ गोल गरेका थिए । रोनाल्डोले साउदी प्रो लिगमा लगातार दुई वर्ष गोल्डेन बुट जिते । 

साउदी प्रो लिगमा आबद्ध भएको वर्षमै उनले अल नासरबाट २५ गोल गरेका थिए । यसपटक उनले ३५ गोल गरे । यद्यपि, उनले क्लबलाई साउदी प्रो लिग च्याम्पियन बनाउन सकेनन् । सन् २०२३ को जनवरीमा उनले अल नासरबाट डेब्यु गरेका थिए । उनले ७७ खेलमा ७४ गोल गरेका छन् ।