
संखुवासभाको सभापोखरी गाउँपालिकामा एक घरमा आगलागी हुँदा सात लाख ५० हजारबराबरको क्षति भएको छ । हिजो बेलुकी करिब साँझ ७ बजेतिर स्थानीय सभापोखरी– ६, तामिङ बस्ने २९ वर्षीय सुवास राईको घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
राईको ढुंगा, माटो र फुसको छानो भएको दुईतले कच्ची घरमा सोलारको तार सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । उक्त आगो नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
घर पूर्ण रूपमा क्षति भएको छ भने घरभित्र रहेको अन्नपात, काठपात, लत्ताकपडा जलेर नष्ट भएको हो । आगलागीबाट मानवीय तथा पशुचौपायाको क्षति भने भएको छैन ।