१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
उदयपुरमा रहेको मौसमी राडार केन्द्र
Invalid date format o८:२६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सञ्चालनमा रहेका तीनमध्ये दुई मौसमी राडार बन्द

उदयपुरको चित्रेथाम र सुर्खेतको रातानाङ्लामा जडान भएका राडार बन्द, पाल्पाको रिब्दीकोटको राडार मात्र सञ्चालनमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२६:oo

मौसमको पूर्वानुमानलाई थप प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले जडान गरेका तीनमध्ये दुई राडार बन्द छन् । उदयपुरको चित्रेथाम र सुर्खेतको रातानाङ्लामा जडान गरिएका राडार बन्द छन् भने पाल्पाको रिब्दीकोटको राडार पनि मर्मतपछि १५ दिनअघि मात्र सञ्चालनमा आएको छ । 

उदयपुरको रौतामाई गाउँपालिका– १ को चित्रेथामको राडार एक र सुर्खेतको रातानाङ्लामा रहेको राडार दुई वर्षदेखि बन्द रहेको मौसम विज्ञान विभाग सूचना अधिकारी तथा सिनियर डिभिजनल हाइड्रोलोजिस्ट दीनकर कायस्थले बताए । ‘अहिले पाल्पाको रिब्दीकोटको मौसमी राडार मात्र सञ्चालनमा छ,’ उनले भने ।

विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलोपटक सुर्खेतको रातानाङ्लामा राडार स्थापना गरेको थियो । त्यसपछि पाल्पाको रिब्दीकोट र उदयपुरको चित्रेथाममा स्थापना गरेको हो । विभागकै उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन शाखाकी सिनियर डिभिजनल मेट्रोलोजिस्ट डा. इन्दिरा कँडेलले उदयपुरको चित्रेथामको २९ चैत ०८० देखि बन्द भएको र पाल्पाको १५ दिनअघि मात्र सञ्चालनमा रहेको जानकारी दिइन् । ‘अहिले सुर्खेत र उदयपुरको मौसमी राडार बन्द छ,’ उनले भनिन् ।

कँडेलका अनुसार उदयपुर र पाल्पाको मौमसी राडार इन्टरप्राइज इलेक्ट्रोनिक कर्पाेरेसन (इइसी) नामक अमेरिकन कम्पनीले भ्याटबाहेक २५ लाख ४९ हजार ८६४ अमेरिकन डलर (नौ करोड ९७ लाख ९० हजार ३०४ रुपैयाँ) मा निर्माण गरेको थियो । त्यसपछि ६ असोजमा इइसीले २३ असार ०७८ मा सम्पन्न गर्नुपर्ने थियो । तर, विभिन्न कारणले मौसमी राडार जडानमा ढिलाइ भई १७ वैशाख ०८० मा सञ्चालनमा ल्याएको उनको भनाइ छ । ‘पाल्पाको रिब्दीकोटको मौसमी राडार ४ असार ०८१ मा बन्द भई १५ दिनअघि मात्र सञ्चालनमा आएको हो,’ उनले भनिन् ।

बन्द रहेका दुवै राडारको उपकरणमा समस्या भएको विभागको भनाइ छ । महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले उदयपुर र पाल्पाको मौसमी राडार बन्द रहेको उल्लेख गर्दै निर्माण कम्पनीले सर्तअनुसार मौसमी राडारको उपकरण डाउन टाइमको प्रतिदिन तीन सय डलरका दरले क्षतिपूर्ति असुल्न सुझाव दिएको छ ।

सुर्खेतको रातानाङ्लामा मौसमी राडार दुई वर्षअघिदेखि नै बन्द छ । विभागकै हवाई उड्डयन मौसम शाखामा कार्यरत सिनियर डिभिजनल मेटेरियोलोजिस्ट नीराजन सापकोटाले बन्द रहेको मौसमी राडार सञ्चालनका लागि सरकारले हाल एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएको र अब अर्को वर्ष आउने जेठबाट मात्र मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने बताए । ‘अमेरिकाबाट सामान ल्याउनुपर्ने हुन्छ, तर खरिद प्रक्रिया लामो छ । तत्काल सम्भव छैन । एक वर्षपछि मात्र सञ्चालनमा ल्याउन सकिनेछ । भर्खर बजेट विनियोजना भएको छ,’ उनले भने ।

मौसमी राडार सञ्चालनका लागि नेपालमा प्रविधिअनुसारको जनशक्ति नपाउँदा समस्या हुने गरेको कँडेलको भनाइ छ । ‘मौसमी राडार राखिएको स्थानमा चौकीदार मात्र राख्नुपरेको छ । विद्युत् सेवा भरपर्दो छैन । मौसमी राडार बिग्रेको समयमा प्राविधिक पनि समयमै पुग्ने भरपर्दो सडक पनि छैन । मौसमी राडार राख्ने अग्ला डाँडैमा हो । विद्युत् कटौती, नपुग्नु अनि मौसमी राडारका लागि प्रविधिअनुसारको जनशक्ति नराख्नु समस्या छ,’ उनले भनिन् ।

 मौसमी राडारले के गर्छ ?
राडार वायुमण्डल वरिपरि घुमेर तस्बिर खिच्छ । त्यसआधारमा वायुमण्डलमा रहेको बादलको विश्लेषण गरेर मौसम पूर्वानुमान गर्न सहज हुन्छ । वर्षा, हिमपात हुने खालको बादल हो कि होइन वा बादल कति समयदेखि लागेको छ भनेर थाहा हुन्छ । 

विभागको हवाई उड्डयन मौसम शाखामा कार्यरत सिनियर डिभिजनल मेटेरियोलोजिस्ट नीराजन सापकोटाका अनुसार राडारले नेपालको आकाशमा वायुमण्डलको अवस्थाबारे जानकारी दिन्छ । पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भू–भागमा वास्तविक समयमा पानी, असिना, हिमपात पार्ने बादलको पूर्वजानकारी दिन्छ । ‘मौसमको तत्कालको अवस्थाको जानकारी पाइन्छ । मौसमी राडार बन्द रहेका वेला अन्य विधि अपनाउने गरेका छौँ,’ उनले भने, ‘तत्कालको मौसमी पूर्वानुमान गर्न मौसमी राडार प्रणालीले सहयोग गर्नेछ । मनसुनको समयमा अति आवश्यक पर्छ । दुईवटा बन्द भए पनि एउटाबाट सहयोग लिइरहेका छौँ ।’